बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओली सरकार को एक वर्ष – ‘कुरामा नम्बर वान, काममा जिरो’

शुक्रबार, ०३ फागुन २०७५, १३ : ३८
शुक्रबार, ०३ फागुन २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्ष पूरै असफल भएको आरोप लगाएका छन् ।

शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता महतले यो एक वर्षमा सरकारले जनतालाई पुरै निराश तुल्याएको आरोप लगाएका हुन् ।

उनले भने,‘सरकारले सुखी नेपाली र समृद्ध नेपाल भनेर अत्यन्तै राम्रो नारा ल्यायो । तर, यो एक वर्षमा जनता पुरै निराश भए । देश समृद्ध भयो त ? भएन ।’

उनले मुल्यवृद्धि आकाशिएको, व्यापार घाटा बढेको र लगानी घटेको दृष्टान्त पेश गरे । उनले भने,‘अहिले ५० प्रतिशत लगानी घट्यो । कर बढिरहेको छ । बैंकको व्याजदर बढिरहेको छ ।’

त्यस्तै उनले संस्थागत भ्रष्टाचार बढिरहेको पनि आरोप लगाए । महतले ‘ईज अफ डुईङ बिजनेश’ पनि राम्रो नभएको टिप्पणी गरे । महतले भने, ‘सुशासनको त कुरै नगरौं । सुनकाण्ड त्यो अब पृष्ठभूमिमा गैसक्यो । चिनी काण्ड त्यस्तै । वाइडबडी काण्ड अब अख्तियारले हेर्ने भनिएको छ, हामी सुक्ष्म रुपमा हेरिरहेका छौँ ।’

मेलम्ची खानेपानी आयोजना अनिश्चित् बनेको पनि उनको आरोप छ । उनले थपे, ‘उता बुढीगण्डकीको कथापनि त्यस्तै छ । एनसेलको कर छलीमा अदालतले कर उठाउन भनेको छ, हामी हेरिरहेका छौँ ।’

महतले सरकारले सुशासन कायम गर्न नसकेको गम्भिर आरोप लगाए । संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई कार्यान्वयन र संस्थागत गर्नतर्फ लाग्नुपर्ने उनको सुझाव छ । सरकारले संसदीय मर्यादालाई नै कुल्चिएको उनले आरोप लगाए । ‘सभामुख र उपसभामुख एउटै पार्टीको मान्छे हुनुहुन्छ । पार्टी एकता भएपछि पनि अहिलेसम्म त्यतातर्फ सोच्नुभएको छैन्’–महतले भने ।

सरकारले कर्मचारीतन्त्रलाई पुरै पार्टीकरण गरेको पनि महतले आरोप लगाए । उनले भने, ‘संवैधानिक निकायलाई सरकारले छायाँमा राखेको छ । दुई तिहाईको तरबार झुण्डाइएको छ ।’ महतले सरकारले लोकतान्त्रिक संस्थाको स्वतन्त्र रुपमा काम गर्ने ‘स्पेश’ लाई नै समाप्त पारेको आरोप लगाए ।

परराष्ट्र नीतिमा पनि वर्तमान सरकार पुरै असफल भएको उनको आरोप छ । उनले भने,‘काठमाडौंमा विम्स्टेक शिखर सम्मेलन हुँदा भारतसँग संयुक्त सैन्य अभ्यास गर्ने र हामी भाग लिन्छौं भनेर सरकारले भन्यो, तर पछि भाग लिनबाट पछाडि हट्यो । हाम्रो परराष्ट्र नीतिको त्यस्तो हालत छ ।’

एशिया प्यासिफिक समिटमा पनि सरकार नै संरक्षक बनेको र प्रधानमन्त्री केपी शर्मा ओली तीन दिनसम्म होटेलमै बसेको भन्दै महतले आलोचना गरे ।

भेनेजुयला प्रकरणमा सरकारले जारी गरेको विज्ञप्तीबारे टिप्पणी गर्दै उनले भने,‘भेनेजुयलालाई यो सरकारले रोलमोडल बनाउन खोजेको हो ?, भेनेजुयलामा लाखौं गुणा मुल्यवृद्धि छ । लाखौं मान्छेहरु देश छोडेर भागेका छन् । अब त्यो देशलाई हाम्रो रोलमोडल बनाउन खोजेको हो ?’

उनले नेपाललाई लगातार सहयोग गर्ने अमेरिकाजस्तो देशलाई अनेकौं विशेषण हालेर गाली गर्ने काम भएको भन्दै आपत्ति जनाए ।

महतले अहिले नेपालको आर्थिक नीति पनि पुरै असफल भएको दाबी गरे । उनले भने,‘नेप्से हेर्नुहुन्छ भने लगानी घटेको छ । मुद्राको तरलता कम भएको छ । ब्याज बढेको छ । कुनै पनि मोर्चामा यो सरकार सफल भएको छैन् ।’ उनले सरकारको एक वर्षलाई आफूहरुले समिक्षा गर्दा ‘कुरामा नम्बर वान, काममा जिरो’ को रुपमा समिक्षा गरेको सुनाए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप