शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ : लेखा समितिको अध्यक्ष बन्न नेकपाभित्रै लफडा

शुक्रबार, ०३ फागुन २०७५, १९ : ४४
शुक्रबार, ०३ फागुन २०७५

धनुषा– प्रदेश २ को संसदीय समिति अन्तर्गत लेखा समितिको अध्यक्ष मनोनयनको विषयमा विवाद उत्पन्न भएको छ ।  सातवटा संसदीय समितिमध्ये ६ वटा समितिहरुमा सर्वसम्मतिले अध्यक्ष चुनिएपनि लेखा समितिको अध्यक्ष को बन्ने भन्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै विवाद उत्पन्न भएको छ । 

विवादकै कारण नेकपाको भागवण्डामा परेको सार्वजनिक लेखा समितिको नेतृत्वबारे आज पनि टुङ्गो लाग्न सकेन । समितिको अध्यक्षका लागि एकै दलका  दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् । 
समितिको अध्यक्षका लागि प्रदेशसभा सांसद शत्रुधन महतो र सांसद भरत साहले उम्मेदवारी दर्ता गराएपछि प्रदेशसभा सचिवालयले आज बिहान १० बजे मतदानबाट अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो ।

तर उम्मेदवारी दर्ता गराएका सांसद महतो र सांसद साहको उम्मेदवारी रद्द भएपछि मतदान हुन सकेन । 

मनोनयन पत्रमा समर्थकको रुपमा हस्ताक्षरमा आफ्नो फर्जी हस्ताक्षर गरिएको भन्दै सांसद रामकुमार यादवलेसंसद सचिवालयमा बिहानै निवेदन दर्ता गराएका थिए । 
त्यसपछि दुवै जनाको उम्मेदवारी रद्द भएको संसद सचिवालयले जनाएको थियो ।

उम्मेदवारको उम्मेदवारी नै रद्द भएपछि लेखा समितिका अध्यक्ष चयनबारे अब शनिबार बस्ने प्रदेशसभा बैठकले मिति निश्चित गर्ने संसद सचिवालयले जनाएको छ । 

स्रोत भन्छ, ‘सांसद महतोलाई आन्तरिकरुपमा सत्तारुढ दल फोरमले उचालेपछि नेकपामा विवाद देखिएको हो ।’ नेकपामा एक नेताको आरोप छ– ‘फोरमले नेकपाभित्रको आन्तरिक विवादलाई उचालेर राजनीतिक लाभ लिन खोजिरहेको छ । महतोलाई सत्तारुढ संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल र विपक्षी नेपाली काँग्रेसको पनि साथ रहेको छ । 

नेकपाको आधिकारिक उम्मेदवार भरत साह हुँदाहँुदै पनि शत्रुधन महतोले पनि उम्मेदवारी दर्ता गराएपछि विवाद टुंग्याउन शीर्ष नेतृत्वको बैठक बसेको थियो । 

संसदीय दलको निर्णय विपरित गएको भन्दै अध्यक्षका लागि मनोनयन दर्ता गराएका महतो उपर कारबाही हुने सांसद किशोरी साहले बताए ।

यता, आधा दर्जन समितिका अध्यक्ष भने निर्विरोध निर्वाचित भएका छन् । प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपाका रामचन्द्र मण्डल, प्रदेश मामिला समितिमा फोरमका अशोक यादव, विकास समितिमा फोरमको शेख अबुल कलाम, कृषि तथा भूमि व्यवस्थापन समितिमा नेपाली कांग्रेसको वीरेन्द्र सिंह र महिला बालबालिका तथा समाजिक न्याय समितिमा जयनुल राइन निर्विरोध निर्वाचित भएका छन् ।

यद्यपि, यी सबै समितिमा महिला सांसदलाई विभिन्न दलबाट सिफारिस नगरिएको भन्दै अधिकांश महिला सांसदहरुले आक्रोश प्रकट गरेका छन् ।

यसरी भएको थियो विवाद

नेकपा केन्द्रीय कमिटीले सार्वजनिक लेखा समितिको अध्यक्षमा भरत साहलाई उम्मेदवार बनाउने निर्णय गरेपनि नेकपाबाटै अन्तिम समयमा शत्रुधन महतोले उम्मेदवारी दर्ता गराएका थिए । समितिका सभापतिमा मनोनयन दर्ताका लागि समितिकै सदस्यहरु मध्ये एकजना प्रस्तावक र एकजना समर्थक चाहिन्छ ।

सार्वजनिक लेखा समितिमा नेकपाका उम्मेदवार साहसहित चारजना सांसद सदस्य छन् ।  तर समितिमा नेकपाका दुईजना सांसद अनुपस्थित भएपछि नेकपाले लेखासाहको प्रस्तावक नेकपा सांसद लगनलाल चौधरी बनेका थिए । 

यद्यपि, मनोनयन दर्ताको समय सकिन आधा घण्टामात्र बाँकी छँदा नेकपा सांसद लगनलाल चौधरीलाई प्रस्तावक र नेकपाकै सांसद रामकुमार यादवलाई समर्थक बनाउँदै अध्यक्ष पदका उम्मेदवार साहले उपसचिव शान्तिराज प्रसाईंसमक्ष मनोनयन दर्ता गराए ।

उपसचिव प्रसाईंले समर्थक बनेका यादव अनुपस्थित रहेको प्रश्न गर्दा अध्यक्ष पदका उम्मेदवार साहले उनी हस्ताक्षर गरेर गइसकेको जवाफ फर्काएका थिए ।

सभामुखमाथि दुव्र्यवहार

पछि मनोनयन दर्ताको करिब १० मिनेट समय मात्र छँदा महतोको अनुपस्थितिमा नेपाली काँग्रेसका सांसद नरेश यादवले उनको मनोनयनपत्र दर्ता गराउन संसद सचिवालय पुगेका थिए । तर साहले उपसचिव प्रसाईँकै अगाडी उनको मनोनयपत्र नै च्यातेका थिए ।

‘महतो अनुपस्थित हुँदाहुँदै उनको मनोनयनपत्र किन दर्ता गरेको ?,’ भन्दै नेकपा सांसद साहले प्रश्न गर्दै मनोनय पत्र दर्ता गर्नबाट रोकेका थिए ।  विवादले उग्र रुप लिएपछि सभामुख सरोज यादवसँग नेकपा सांसदहरु छलफलका लागि पुगेका थिए । छलफलकै क्रममा सभामुखको कार्यकक्षभित्र सभामुखमाथि हातपात हुने स्थिति सिर्जना भएको थियो । 

पार्टीभित्र साहलाई अध्यक्ष बनाउने निर्णय भइसकेपनि सभामुख यादवले राजनीतिकरण गर्न खोजेको भन्दै भरत साह पक्षधर नेकपा सांसदहरु आक्रोशित हुँदै सभामुख यादवलाई दुव्र्यवहार गरेका थिए ।

छलफलका लागि पुगेका नेकपाका सांसदहरुले सभामुखको कार्यकक्षभित्रै दुव्र्यवहार गरेको सभामुख यादवले समेत स्वीकार गरेका छन् । तर उनीहरु कुरै नबुझेर आवेसमा आएर होहल्ला गरेकाले सभामुख यादवले आफुले उनीहरुलाई क्षमा गरेको बताए । 

कुनै सांसदलाई मनोनयन दर्ता गर्नबाट रोक्ने अधिकार आफूसँग नरहेको सञ्चारकमीहरुसँगको कुराकानीमा उनले बताए । नेकपाकै अर्का सांसदले मनोनयन दर्ता गराएको भन्दै आफ्नो पार्टीभित्रको विवाद उनीहरु आफैले मिलाउनुपर्ने उल्लेख गरे । 

यता, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले सभामुख यादवलाई नालायकको संज्ञा दिएका छन् । उनले काँग्रेस, राजपा र फोरम मिलेर षडयन्त्रपूर्वक लेखा समितिको अध्यक्ष बन्नबाट साहलाई रोक्न खोजेको आरोप लगाए ।

चुनाव भएको अवस्थामा शत्रुधन महतो अध्यक्ष पदमा निर्वाचित हुने करिब करिब पक्का देखिएको थियो । समितिमा १३ जना सदस्य रहेका छन् । नेकपाको ४, काँग्रेसको ३, राजपा ३ र संघीय समाजवादी फोरमका ३ जना सदस्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप