शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाइल्सबाट बच्न यसो गर्नुस् , कस्ता व्यक्तिलाई हुन्छ पाइल्स ?

शनिबार, ०४ फागुन २०७५, १४ : ५४
शनिबार, ०४ फागुन २०७५

काठमाडौँ ।  पाइल्ससम्बन्धी समस्या हुने व्यक्तिहरुको सङ्ख्या बढ्दो क्रममा छ । हाम्रो शरीरमा लाग्ने धेरै रोगको कारण अस्वस्थ्य खाना र निष्क्रिय जीवनशैली हो । यही कारणमध्ये एक हो पाइल्स पनि ।
पाइल्स गोप्य अङ्गमा हुने हुँदा धेरै व्यक्तिहरु रोग लागे पनि समयमा चिकित्सकलाई देखाउँन जाँदैनन् । जसले गर्दा पाइल्स बढ्दै जाने र पछि स्वास्थ्यमा अन्य समस्याहरु पनि देखिन सक्छ ।

 नेपाल सरकारसँग यतिनै पाइल्सको बिरामी छ भन्ने तथ्याङक छैन तर डब्लूएचओको भनाई अनुसार १० प्रतिशत जनसंख्यामा पाइल्सको समस्या हुनसक्छ । मल त्याग गर्दा (दिसा गर्दा ) असह्य पीडा हुने, मलद्वारबाट रगत बग्ने, मलद्वारा वरिपरि गाँठो वा मासुको डल्लो महसुश हुने, चिलाउनु, रातो हुने तथा पोल्ने लगायतका लक्षण देखापर्यो भने पाइल्स हो भनेर बुझन् सकिन्छ । धेरैमा देखिने पाइल्स कस्तो रोग हो ? कस्ता व्यक्तिलाई लाग्छ ? यो रोग लाग्नुको कारण ? उपचार र समाधानको बारेमा वीर अस्पतालका वरिष्ठ कन्सलटेण्ड सर्जन डा. इन्द्र कुमार झाले जानकारी गराएका छन्ः 

 पाइल्स के हो ? 

पाइल्स मानिसमा मात्रै देखिने रोग हो । पाइल्सलाई टेक्निकल भाषामा हेमोरोइड भनिन्छ । हिमको अर्थ ब्लड र सर भनेको रगतको फ्लो हो । यो दुबै टर्मबाट हेमोरोईड बनेको हो र अर्काे सामान्य नागरिले बुझने भाषामा पाइल्स पनि भनिन्छ । नेपालमा हर्ष भनेर पनि बुझ्न सकिन्छ । पाइल्स भनेको नशाको बल भनेर बुझ्न सकिन्छ । मलद्वारको नशाहरुलाई पृथ्वीको गुरुत्वकेन्द्रले तानिरहेको हुन्छ, जसले गर्दा पाइल्स हुन्छ ।  
ठूलो आन्द्राको अन्तिम भागमा मलद्वार हुन्छ । लगभग चार सेमी इन्ज लामो मलद्वार सुन्निएमा पाइल्स हुने गर्छ । पाइल्स भएमा मलद्वारको आन्तरिक (भित्री) भाग तथा बाह्य भागमा मासुको डल्लो जस्तो गाँठो पर्ने गर्छ । जहाँबाट बेलाबेलामा रगत निस्कने गर्दछ । दिसा बस्दा थप दवाव सिर्जना भएमा त्यहाँबाट मासुको डल्लो समेत निस्कने गर्छ । 

पाइल्स वंशाणुगत पनि हुने रोग हो । तपार्इँको परिवारको कुनै सदस्यलाई भएको छ भने आफूलाई पनि हुने सम्भावना हुन्छ । दिसा पास हुने ठाउँमा रगतनलीहरु हुन्छन् । कुनै कारणले सोही रगतनली फुल्लेर आउनु र सोही नशा बाहिर निस्कनु अर्थात तल झर्नुलाई नै पाइल्स भनिन्छ । कहिलेकाहिँ नशा बाहिर ननिस्कनेर रगत झर्ने समस्या भने हुन्छ । 

नियमित सन्तुलित भोजन नभएका, धेरै प्याकेटको खाना अर्थात जङ फुडहरु  खाने, मासुजन्य पदार्थ धेरै खाने व्यक्तिहरुमा र  दिसा गर्दा धेरै बल प्रयोग गर्दा मलद्धारको नसाहरु तलझर्ने र पाइल्स हुने सम्भावना हुन्छ । 
कस्ता व्यक्तिलाई हुन्छ पाइल्स ? 

 गर्भावस्थाको क्रममा पाचन समस्या हुने हुँने गर्भवती महिलालाई पाइल्सको समस्या हुने सम्भावना हुन्छ । गर्भावस्थामा धेरैलाई पाइल्स हुने सम्भावना हुन्छ । पाइल्स रोग यस्ता व्यक्तिलाई हुन्छ भन्ने नेपालमा अनुसन्धान नभए पनि अनुभवको आधारमा भन्नु पर्दा २० वर्ष भन्दा माथि उमेरको नागरिकहरुमा बढी देखिएको छ । तर २० वर्ष भन्दा मुनिको व्यक्तिलाई हुँदैन भन्न खोजिएको होइन तर कम हुन्छ । ३५ वर्ष कटेका व्यक्तिहरुमा यस्ता समस्या अलि धेरै देखिन्छ । नेपाली सेना, ट्राफिक प्रहरी, सुरक्षा गार्ड जो एकै ठाँउमा धेरै बेरसम्म बसिराख्नु पर्ने अर्थात उभिराख्नु पर्ने हुन्छ, यस्ता व्यक्तिमा पाइल्सको समस्या हुने सम्भावना धेरै हुन्छ । 

पाइल्सका चरणहरु 

पाइल्समा ४ चरणका हुन्छन् । जसमा मलद्वारबाट रगत मात्रै बग्ने समस्या हुन्छ त्यसलाई पहिलो चरणको पाइल्स भनेर चिन्न सकिन्छ । तर पहिलो चरणको पाइल्समा नशाहरु बाहिर आउँदैन । दोस्रो चरणको पाइल्स भनेको धेरै जोडसँग दिसा गर्दा अथवा बढी एक्सरसाईज गर्दा नशाहरु बाहिर झर्छ तर दिसागरीसके पछि फेरि आफै भित्र जान्छ ।  तेस्रो चरणको पाइल्स भनेको दिसा गर्दा तल झर्छ त्यो आफैँ भित्र जादैन । हातले भित्र पठाउनुपर्ने हुन्छ । यस्तै चौथौँ चरणको पाइल्स भनेको मलद्धारबाट बाहिर निस्कन्छ र जति कोसिश गरे पनि भित्र जाँदैन । 

पाइल्सको समयमा उपचार भएन र धेरै लामो समय सम्म रगत बग्यो भने बिरामीमा एनिमिया अर्थात रक्तअल्पता हुने सक्ने सम्भावना हुन्छ । त्यसैले बेवास्ता नगरी पाइल्सको समयमानै उपचार गर्न जरुरी  छ । 
लक्षणहरु 

 दिशा गर्ने ठाउँ अर्थात मलद्वार वरिपरि चिलाउनु ,मलद्वारबाट सिँगान जस्तो बग्नु जस्ता समस्याहरु पाइल्सको सुरुवाती लक्षण हुन् । पाइल्स हुने समयमा मलद्वारमा रियाक्सन गर्ने भएको हुँदा यस्ता लक्षण देखिन्छन् । 

तर, मलद्वारमा देखिन पाइल्स जस्ता रोगहरु सबै पाइल्स भने हुँदैनन् । कतिपय बिरामीले पाइल्सको उपचार गर्दागर्दै पनि पछि क्यान्सर भएको थाहा हुन्छ । त्यसैले हामीले दिशाबाट रगत बग्ने सबै समस्या पाइल्सनै हो भनेर बस्न हुन्न, क्यान्सर पनि हुन सक्छ । छोटो समयमा यस्तो रोग देखिएको खण्डमा क्यान्सर पनि हुन सक्छ । क्यान्सर थोरै दिनमा फैलिसकेको हुन्छ । त्यसैले दिशामा रगत आउँनसाथ चिकित्सक कहाँ जान पर्छ । 

कसरी गर्ने उपचारमा विश्वास 

पाइल्सको उपचार गर्ने भन्दै बजारमा हल्ला फिँजाएर बस्ने धेरै छन । उनीहरुको पाइल्सको उपचारको लागि आधिकारी व्यक्ति होकी होइनन् भन्ने जान्न जरुरी हुन्छ । 

आयूर्वेदिक, होमियोप्याथी, एलोप्याथी सर्जन सबैलाई उपचारको लागि सरकारले वैधानिकता दिएको छ । तर आयूर्वेदमा उपचार हुन्न भन्न मिल्दैन र पनि सबै उपचार सम्भव छैन । पाइल्सको उपचार भए पनि सर्जिकल उपचार नहोला । क्यान्सरको उपचार सम्भव नहुन सक्छ ।  त्यसैले आयूर्वेद या होमियोप्याथीमा उपचार गर्न गएका बिरामीहरुलाई निको हुन्छ भन्दै राख्नु भन्दा पनि बिरामीको अवस्था हेरी सर्जन कहाँ समयमै पठाउने गर्नुपर्छ ।  

जुन उपचार बिधि अपनाए पनि बिरामी उपचारमा जान जरुरी हुन्छ  । पाइल्स जस्तो मानिने क्यान्सर पनि सुरुमा दुख्ने र रगत बग्नेनै हुन्छ । तर धेरैले क्यान्सलाई पनि पाइल्स भन्दै बस्छन् । बिरामीको तौल घट्ने ,शरीरमा रक्तअल्पता हुने ,शरीर कमजोर हुने ,खाना मन नलाग्ने जस्ता क्यान्सरको लक्षण हुन् । पाइल्स जस्तो रोग देखिए पनि यस्ता लक्षण भएको खण्डमा क्यान्सर होकी  भनेर पनि स्वास्थ्य परिक्षण गर्न जरुरी हुन्छ । तर सबै पाइल्स क्यान्सर हुँदैन । पाइल्स हुदा क्यान्सर होकी भनेर डराउँनु पर्दैन । तर यस्तो लक्षण देखा परेको खण्डमा भने क्यान्सर हुन सक्छ र क्यान्सरको चिकित्सक कहाँ जान अपरिहार्य छ । सुरुको अवस्थामा पाइल्सनै भए पनि पाइल्सको उपचार चल्दै जाने र पछि क्यान्सर हुन सक्छ । 
 

रोग नलाग्न के गर्ने ?

– फलफूल नियमित खाने ।

– फाइबर भएको खाना खाने । 

–  नियमित व्यायम गर्ने ।

– एकै ठाउँमा धेरै नबस्ने ।

–  धुम्रपान, मध्यपान नगर्ने  ।

–  मासुजन्य पदार्थ या खशीको मासु कम खाने । 

–  दिसा गर्दा धेरै बल लगाएर घन्टौँ शौचालयमा नबस्ने । 

– कब्जीयत हुन नदिने खालको खानेकुराहरु खाने । जस्तै– दैनिक फलफूल ,सागसब्जी अर्थात साकाहारी खाना खाने । 
 

के नखाने ?
–पाइल्सबाट बच्नको लागि मात्रै होइन स्वास्थ रहनको लागि पनि रेष्टुरेण्डको खाना नखाने खाए पनि एकदमै कम खाने । वर्गर, पिज्जा नखाने र घरमा पकाएको खाना  खाने व्यक्तिलाई पाइल्स धेरै देखिन्छ । त्यसैले पाइल्स नहुनको लागि आफ्नो दैनिक जीवनलाई परिवर्तन गर्न जरुरी छ । 

–गर्भावस्था, उमेर र वंशागुणत हुने समस्यालाई परिवर्तन गर्न सकिन्न । त्यसैले खानापान र शारीरिक व्ययामलाई ध्यान दिन जरुरी हुन्छ । गर्भावस्थामा पाइल्स हुन नदिनको लागि सागसब्जी बढी खाने, कब्जीयत हुन नदिन आफूले पनि ख्याल गर्ने । पाइल्स सानो भए पनि ठूलो दुर्घटना निम्त्याउँन सक्छ । 

–सूर्तिजन्य र मादक पदार्थ धेरै खाने व्यक्तिमा पनि पाइल्सको समस्या देखिन सक्छ । सकेसम्म सूर्तिजन्य र मादक सेवन नगर्नु उपयुक्त हुन्छ । 
 

प्रारम्भिक उपचार विधि 
–पाइल्सको सुरुवातको अवस्थामा एउटा भाँडामा तातोपानी र त्यसमा थोरै नुन राखेर मलद्वारलाई सेक्ने ।

–दिसालाई पातलो बनाउने औषधिको प्रयोग गर्ने । 

–पाइल्स कम गराउने औषधि खाने । 


  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप