शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालयौन दुराचारी समात्न जङ्गलबाट निगरानी, यस्तो छ प्रहरी अपरेशनको ‘इनसाइड स्टोरी’

सीआईबीका डीएसपी भन्छन्, ‘रातभर पानीमा रुझेर ‘रेड’ गर्यौँ
आइतबार, ०५ फागुन २०७५, १२ : ४४
आइतबार, ०५ फागुन २०७५

नाम : कवित कटवाल
पद : डीएसपी
कार्यरत विभाग : केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)
कार्यक्षेत्र : पिल्लर ३ (बाल यौन दुराचार)

नेपाल प्रहरीको महत्वपूर्ण विभाग केन्द्रीय अनुसन्धान ब्यूरो अर्थात् सीआईबीको कार्यालय अन्तरगत पिल्लर ३ मा रातोपाटी टिम पुग्दा डीएसपी कवित कटवाल ल्यापटपमा काम गरिरहेको भेटिए ।

यिनै प्रहरी अधिकृतको टोलीले माघ ५ गते बाल यौन दुराचारको अभियोगमा बेलायती नागरिक इयान रोबर्ट कोल र मतियार भन्दै भारतीय नागरिक अजय पोद्धार तथा नेपाली नागरिक कुमार रोक्कालाई पक्राउ गरेको थियो । यसै बारेमा थप बुझ्नका लागि रातोपाटी टीम  सीआईबीको कार्यालय पुगेर यस अप्रेशनका इन्चार्ज कटवाललाई भेट्न पुगेको थियो । 

हामीले सुरुवातमै रातोपाटीबाट समाचार संकलनका लागि आएको र बाल यौन दुराचारको सम्बन्धमा विशेष सामग्री तयार पार्न लागेको बतायौँ । तर डीएसपी कटवालले अनुसन्धानको क्रममा रहेकाले केही बताउन नमिल्ने बताए । त्यति मात्रै होइन, थप कुराकानीका लागि पनि उनी तयार भएनन् । थप सूचना चाहिए प्रवक्तालाई सोध्न सुझाए । तर हामीलाई बाल यौन दुराचारको सम्बन्धमा विशेष सामग्री तयार पार्नु थियो । त्यसका लागि यसै विषयमा निरन्तर अध्ययन तथा अनुसन्धान गरिरहेका र ६ वटा ‘रेड’का इन्चार्जसमेत रहेका व्यक्तिबाहेक दोस्रो व्यक्तिबाट थप सूचना आउने सम्भावना ज्यादै कम थियो । त्यसकारण पनि हामी यिनै अनुसन्धान अधिकृतसँग कुरा गर्न चाहन्थ्यौँ । 

डिआइजीले स्वीकृति दिएपछि बल्ल राजी भए डीएसपी कटवाल
हामीसँग कुराकानी गर्न अस्वीकार गरेपछि हामी सीआईबीका डीआईजीलाई भेट्न पुग्यौँ । सीआईबीका डिआइजीले स्वीकृति दिएपछि बल्ल उनी हामीसँग कुराकानी गर्न तयार भए ।

यस्तो छ अप्रेशन कहानी 
कटवाल सीआईबीमा आएपछि उनले बाल यौन दुराचारविरुद्ध ५ वटा विशेष अप्रेशन चलाए । यी अप्रेशनहरुमा उनले ७ जना विदेशी नागरिकहरु पक्राउ गरेका छन् । 

उनको पहिलो रेड थिया, जर्मन नागरिक योगेन भन्ने ह्यान्स जर्जेन गुस्तभमाथि । ६३ वर्षीय जर्मन नागरिक ह्यान्स जर्जेन गुस्तवलाई कटवालको टोलीले २०७४ साल पुष २९ गते भोटेबहालस्थित उसकै कोठाबाट नियन्त्रणमा लियो । गुस्तवलाई पक्राउ गरेसँगै दुई जना नेपाली बालकहरुलाई पनि सीआईबी टोलीले उद्धार गर्यो । उनलाई बाल यौन दुराचार गरेको अभियोगमा पक्राउ गरेको थियो । 

योगेन भोटेबहालमा एक समाजसेवीका रुपमा बसेका थिए । उनी अनाथ तथा गरीब बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउने तथा खाना खुवाउने समाजसेवीका रुपमा थिए । त्यहाँका सरकारी विद्यालय तथा केही निजी विद्यालयका विद्यार्थीलाई पनि उनी खाजा खुवाउने काम गर्थे ।

तर आवरणमा समाजसेवा देखिए पनि बास्तवमा ती व्यक्ति बाल यौन दुराचारी थिए । उनी पहिले गरीब तथा अनाथ बालकलाई आफ्नो प्रभावमा पार्थे । सहयोग गर्ने बहाना बनाएर एक दुई दिन सँगै घुमाउँथे । खाना तथा खाजा खुवाउने, खेलकुद सामग्री तथा कपडा किनिदिने पनि गर्थे । र, अन्तिममा प्रभावमा पारेर बालकलाई यौन दुराचार गर्थे । 

पहिले पनि दुई जना बालकलाई यौन दुराचार गरेको जानकारी प्रहरीमा आएपछि प्रहरीले गुस्तवमाथि निगरानी बढाएको थियो । प्रहरीको निगरानीमा परेका गुस्तवले दुई बालकलाई लिएर आफ्नो डेरामा गएपछि सीआईबी टोलीले फलो गर्यो । र, दुई जना बालकलाई यौन दुराचार गरिरहेकै अवस्थामा गुस्तवलाई कटवालको टोलीले पक्राउ गरी मुद्दा चलायो । काठमाडौं जिल्ला अदालतको २०७४ माघ २३ गतेको निर्णयले गुस्तवलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । गुस्तव जगन्नाथदेवल कारागारमा बन्दी जीवन बिताइरहेका छन् ।

त्यसपछि कटवाल टोलीको रेडमा परेका अर्का व्यक्ति थिए पिटर जोन ड्यालग्लिस । ६० वर्षीय हाइ प्रोफाइल क्यानेडेली नागरिक पिटरलाई पक्राउ गर्न सीआईबी टोलीले धेरै मिहेनत गर्नुपर्यो । 

युएनको विशिष्ट पदमा कार्य गरिसकेका व्यक्ति बाल यौन दुराचारमा संलग्न होलान् भनेर यकिन गर्न पनि सीआईबीलाई कठिन पर्यो । तर जब सीआईबीमा एक अभिभावकले आफ्नो नाबालकमाथि बाल यौन दुराचार भएको गुनासो गरे, तब सीआईबी टोलीले पिटरमाथि निगरानी बढाउन थाल्यो । 

पिटर त काभ्रेको कात्तिके देउराली भन्ने स्थानमा घर नै बनाएर नेपाली बालकमाथि यौन दुराचार गरिरहेका रहेछन् । 

सन् २००२ मा पहिलोपटक नेपाल आउँदा चिनेका व्यक्ति थिए ठेंचोका चिरिकाजी महर्जन । महर्जन खासमा बगैंचाका माली थिए र उनी सोझा व्यक्ति थिए । पिटरले तिनै महर्जनलाई विश्वासमा लिएर उनको नाममा शहरी क्षेत्रभन्दा टाढा काभ्रेको मण्डन देउपुरमा १० रोपनी जग्गा किने । त्यही जग्गामा उनले ‘फार्म हाउस’ खोले । र, त्यही फार्म हाउसलाई उनले आफ्नो यौन दुराचारको अखडा बनाए । 

रातभर पानीमा रुझेर पिटरमाथि ‘रेड’
काभ्रे १०१ ‘क’ कोड भएका एक पीडित बालकले आफ्नो साथीलाई आफूमाथि भएको बाल यौन दुराचारबारे बताएका थिए । आफूलाई पिटरले के–के गर्छन् र त्यसवापत के–के दिए वा दिन्छन् भन्नेबारे उनले आफ्नो साथीलाई भने । जब पीडित बालकको साथीले यसबारे आफ्नो अभिभावकलाई बताए, अभिभावकले तत्कालै यसबारे प्रहरीलाई जानकारी दिए । 

बाल यौन दुराचारबारे सीआईबीलाई जानकारी त आयो, तर सीआईबीसँग न कुनै प्रमाण थियो, न त तथ्य नै थियो । त्यसपछि सीआईबी टोली ‘अन्डरकभर’ रुपमै कात्तिके देउराली पुगेर पिटरबारे जानकारी बटुल्न थाल्यो । सीआईबी टोलीले पीडित बालक, पीडित बालकका साथी सबैसँग कुराकानी गर्यो र उचित समय पर्खेर बस्यो । 

सीआईबीका अनुसन्धान अधिकृत डीएसपी कवित कटवाल भन्छन्, ‘हामीले लगातार २१ दिन पिटरबारे निगरानी राखी समय पर्खेर बसेका थियौँ ।’

२०७४ साल चैत्र २४ गते राती पिटर २ जना बालकलाई लिएर उसको ‘फार्म हाउस’ मा पुगे । सीआईबीको टोलीले पिटरको घरभन्दा माथि रहेको जङ्गलबाट पिटरमाथि निगरानी राखिरहेको थियो । यो जानकारी फिल्डमा रहेका सीआईबीको टोलीले केन्द्रमा खबर गर्यो । खबर पाएलगत्तै डीएसपी कटवालको टोली काभ्रेको मण्डन देउपुर १ कात्तिके भन्ने स्थानमा पुग्यो । 

जुन दिन पिटरमाथि सीआईबीले एक्सन लियो, त्यस दिन रातभर पानी परेको थियो । पानी परेपनि सीआईबी टोलीले एक्सन लिनुबाहेक अर्को विकल्प देखेन र प्रयास जारी नै राख्यो । रेकीमा रहेको सीआईबी टोली र केन्द्रबाट गएको टोली तत्कालै पिटरको घरमा पुग्न सकेन । किनभने पिटरको घरमा पुग्न पहिले गार्ड रुम पार गरेर जानुपथ्र्यो ।

पिटरले आफूलाई सुरक्षित बनाउन सबै उपाय अपनाएका थिए । जबरजस्ती गरेर पस्न खोजे हल्ला हुने र त्यसले प्रमाण नष्ट हुने डर थियो कटवालको टोलीलाई । 

अन्ततः बिहान ४ बजे मात्रै कटवालको टोली पिटरको बेडरुमसम्म पुग्न सक्यो र पिटरलाई पक्राउ गर्दै दुई बालकको उद्धार गर्यो । पिटरको मुद्दा अहिले पनि जिल्ला अदालत काभ्रेमा निरन्तर सुनुवाईको क्रममा रहेको छ । 

यो पनि ....

एक ‘हाइप्रोफाइल’ बाल यौनदुराचारी : जसले प्रहरीलाई नै चकित बनाए

बाल यौन दुराचारीको क्रिडास्थल बन्दै नेपाल, २७ महिनामा समातिए ११ विदेशी नागरिक

पिटरपछि सीआईबी टोलीको अर्को रेड हो, नेदरल्याण्डका नागरिक पिट हेन भानमाथि । यसका इन्चार्ज पनि यिनै डीएसपी कवित कटवाल थिए । 

२०७५ साल जेठ ३१ गते सीआईबीको टोलीले ठमेल सातघुम्तीको एक होटलबाट नेदरल्याण्डका ६६ वर्षीय पिट हेन भानलाई पक्राउ गर्यो । 

भानलाई पक्राउ गर्नुभन्दा पहिले सीआईबी टोलीलाई उनी बाल यौन दुराचारी भएको सूचना आयो । सूचनालगत्तै भानको पिछा गरिरहेको कटवालको टोलीले देख्यो कि भान त एक बालकलाई लिएर होटलको कोठामा पुगे । 

त्यसलगत्तै सीआईबी टोलीले बालकलाई उद्धार गर्दै भानलाई पक्राउ गर्यो । सरकारी वकिलसँगको बयानमा पीडित बालकले आफूलाई भानले ४ वर्षदेखि यौन दुराचार गरिरहेको बयान दिए । 

पेशाले बाल चिकित्सक अर्थात् डाक्टर रहेका पिट हेन भान बिगत ७ वर्षदेखि लगातार नेपाल आइरहेका थिए । उनको एकमात्रै उद्देश्य नेपाली बालकलाई यौन दुराचार गर्नु थियो ।

पक्राउ गरेपछि सीआईबी टोलीले उनीमाथि मुद्दा दायर गर्यो । जिल्ला अदालत काठमाडौंले २०७५ असार २७ गते भानलाई पुर्पक्षका लागि थुनामा पठायो । पछि जिल्ला अदालतले २०७५ मंसिर १७ गते भानलाई दोषी ठहर गर्दै ८ वर्ष कैदको फैसला सुनायो । उनी यतिबेला जगन्नाथदेवल कारागारमा कैदी जीवन बिताइरहेका छन् । 

पिट हेन भानपछि सीआईबीको पिल्लर ३ टोलीको अर्को अप्रेशन हो फ्रान्सेली नागरिकहरु क्रिस्टोफी गुलिएक्स र डेनिस माथेउमाथि । 

सीआईबी टोलीले २०७५ साल साउन ६ गते गौशालाबाट फ्रान्सेली नागरिकहरु ४२ वर्षीय क्रिस्टोफी गुलिएक्स र ३८ वर्षीय डेनिस माथेउलाई बाल यौन दुराचारको अभियोगमा पक्राउ गरेको थियो । 

क्रिस्टोफी सन् २०१७ को सेप्टेम्बरमा पर्यटन भिसामा नेपाल आएका थिए । त्यसको एक महिनापछि उनले आफ्ना साथी डेनिस माथेउलाई पनि नेपाल बोलाए । उनीहरुले काठमाडौंबाट अलि पर प्रहरीको नजर कम पर्ने स्थान कागेश्वरी मनहराको भद्रबासमा डेरा लिएर बस्न थाले । उनीहरुले त्यही डेरालाई नै बाल यौन दुराचारको अखडा बनाए । 

काठमाडौं लगायत अन्य स्थानमा भेटिएका अनाथ बालक वा अभिभावकको प्रत्यक्ष निगरानीमा नरहेका बालकलाई उनीहरु आफ्नो निशाना बनाउँथे । अन्य दुराचारीको जस्तै उनीहरुको ‘फर्मुला’ पनि शैक्षिक तथा आर्थिक सहयोग नै रहन्थ्यो । कतिपय बालकलाई खेलकुद सामग्री किनेर दिने पनि गर्दथे उनीहरु । कतिपय बालकका अभिभावकलाई प्रलोभनमा पारेर समेत उनीहरुले बाल यौन दुराचार तथा अप्राकृतिक मैथुन गर्ने गरेका थिए ।

उनीहरुको निशानामा परेका केही बालकले आफूलाई गरिएको दुराचारबारे अभिभावकलाई बताए । र, अभिभावकले प्रहरीमा खबर गरेपछि उनीहरुलाई गौशाला चोकबाटै सीआईबी टोलीले पक्राउ गरेको थियो । 

यी दुई फ्रन्सेली नागरिकविरुद्ध ८ जना पीडित बालकले सरकारी वकिलसमक्ष बयान दिएका छन् । आफूहरुमाथि गरिएको यौन दुराचार र अप्राकृतिक मैथुनका सम्बन्धमा उनीहरुले खुलेर बोलेका छन् । हाल यी दुई फ्रान्सेली नागरिक पुर्पक्षका लागि थुनामा छन् ।

डीएसपी कवित कटवालको टोलीले पछिल्लोपटक पक्राउ गरेका व्यक्तिहरु हुन् बेलायतका इयान रोबर्ट कोल, भारतका अजय पोद्धार र नेपाली नागरिक कुमार रोक्का । 

२०७५ साल माघ ५ गते उनीहरुलाई रविभवनस्थित एक अपार्टमेण्टको कोठाबाट पक्राउ गरिएको थियो । 

याे पनि....

बेलायतमा बच्चाको नजिक जान प्रतिबन्ध, नेपालमा भने बेफिक्री बाल यौन दूराचार !

कोल यसअघि पनि पटक–पटक नेपाल आएका थिए र नेपालमा बाल यौन दुराचार गर्ने गरेका थिए । सन् २०१६ मा नेपाल आएर बाल यौन दुराचार गरी फर्किएपछि उनलाई बेलायतकै प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो । त्यतिबेला बेलायत प्रहरीले सीआईबीसँग मिलेर घटनामा बारेमा अनुसन्धान गरेको थियो । त्यतिबेला कोलको डिजिटल डिभाइसमा नेपाली बालकहरुको नग्न तस्बीर तथा भिडियोहरु फेला परेको थियो । 

त्यसपछि सीआईबीको निगरानीमा रहेका कोल नेपाल आएको जानकारी पाएलगत्तै प्रहरीले कोलको पिछा गरेको थियो । 

यही बीचमा कोल धादिङको एक गाउँमा गएर बालकसँगै बसेका थिए । त्यहाँबाट ३ जना बालकलाई लिएर उनी र उनका साथी ७५ वर्षीय डेरेक स्कट पोखरा गए र त्यहाँ दुई रात सँगै बसे । पुषको २६ गते पोखराबाट काठमाडौं फर्किए । ३ मध्ये दुई बालकलाई उनीहरुले धादिङ छाडे भने एक बालकलाई काठमाडौं नै ल्याए । 

माघ ४ गते ती बालकहरुलाई फेरि काठमाडौं बोलाए । तर त्यतिबेलासम्म उनका साथी डेरिक भने बेलायत पुगिसकेका थिए । 

माघ ४ गते कोल बालकसँगै भाडामा लिइएको फ्ल्याटमा पुगेको जानकारी पाएपछि सीआईबी टोलीले बिहान ३ बजे कोलमाथि रेड गर्यो । उनलाई बालकसँगै नग्न सुतिरहेको अवस्थामा पक्राउ गर्यो । 

कोल बेलायतका रजिष्टर्ड चाइल्ड सेक्स अफेन्डर थिए । बेलायतमा उनी बच्चाहरुको नजिक जान पनि पाउँदैनथे । बेलायतमै ३ पटक सजाय पाइसकेका उनी नेपालमा भने बाल यौन दुराचार गरिरहकै थिए । 

कोलसहित मतियारको आरोपमा कुमार रोक्कालाई जिल्ला अदालत काठमाडौंले २०७५ फागुन २ गते पुर्पक्षका लागि थुनामा पठाएको छ । अजय पोद्धारलाई भने ५० हजार धरौटीमा रिहा गरेको छ । 

बयान फेर्ने समस्याले हैरान छौँ : डीएसपी कटवाल
अहिले बाल यौन दुराचारको सबैजसो मुद्दा सीआईबीको पिल्लर ३ ले नै हेर्ने गरेको छ । सीआईबीले कतिपय मुद्दाहरुमा अभिभावककै गुनासो र उजुरीका आधारमा पक्राउ गरेको छ । विदेशी नागरिकहरुलाई पक्राउ गर्दा अझ बढी सम्वेदनशील बन्नुपर्ने हुन्छ । 

सीआईबीले अभियुक्तलाई पक्राउ गर्छ, २०–२५ दिन आँफैसँग राखेर अनुसन्धान गर्छ । अनि सरकारी वकिलमार्फत् मुद्दा दायर पनि गर्छ । तर जब अदालत पुग्छन्, कतिपय अवस्थामा पीडित र पीडितका परिवारले नै बयान फेरिदिने गरेका छन् । 

सुरुवाती समयमा पीडक र पीडित दुवैले घटना स्वीकार गरेपनि जब उनीहरुले वकिल भेट्छन् तब बयान फेर्ने गरेको धेरै घटनाहरु छन् । सीआईबीले मुद्दा दायर गरेको एक घटनामा त पीडित, पीडितका अभिभावकले नै बयान फेरिदिएका छन् । जसको कारण मुद्दा टुंगिन ज्यादै कठिन भएको छ । 

अभिभावकलाई आर्थिक सहयोग गरेपछि सीआईबीलाई सास्ती
बाल यौन दुराचारको अधिकांश घटनामा कहीँ न कहीँ अभिभावकलाई पनि आर्थिक सहयोग गरेको पाइएको छ । पीडक विदेशी नागरिक हुने र नेपाली अभिभावकलाई विदेशीले अपराध नै गर्दैनन् भन्ने भान पर्ने गरेको कटवाल बताउँछन् ।

अर्को कुरा केटाले केटामाथि यौन दुव्र्यवहार गर्दैनन् भन्ने सोच पनि नेपाली समाज र अभिभावकमा विद्यमान छ । त्यसकारण पहिले त अभिभावकले यो कुरा स्वीकार समेत गर्दैनन् ।

रङ्गेहात पक्राउ परिसकेपछि पनि केही मुद्दाहरुमा पछि पनि परिवारमार्फत् पीडितको अभिभावकलाई आर्थिक सहयोग गरेको पाइएको छ । जसका कारण अभिभावकले बयान फेर्ने तथा मुद्दा नै कमजोर बनाउने कामसमेत गरिरहेका छन् । 

गरीब र विपन्न परिवारका बालकलाई टार्गेट
विदेशी बाल यौन दुराचारीको निशानामा मुख्यतः गरीब र विपन्न परिवारका बालक पर्ने गरेका छन् । उनीहरुलाई सजिलै फकाउन सकिने र अभिभावकले प्रत्यक्ष निगरानीमा राख्न समस्या हुने हुँदा यस्ता बालकहरु उनीहरुको निशानामा रहेको बताउँछन् डीएसपी कटवाल । यस्ता बालकलाई उनीहरुले केही आर्थिक सहयोग तथा खाजा, खाना वा खेलकुद सामग्री किनिदिएर शोषण गर्ने गरेका छन् ।

शतर्क रहनुस् : प्रहरी
पछिल्लो दिनमा नेपालमा बाल यौन दुराचारको घटनामा वृद्धि भइरहेको छ । सीआईबीले सक्रियता बढाएसँगै यस्ता घटना बाहिर आएको छ । सीआईबी भने बाल यौन दुराचारको घटनामा वृद्धि भएको भन्दा पनि यस्ता घटनाहरु बाहिर आउन थालेको दाबी गर्छ । 

अभिभावक सचेत हुने हो भने यस्ता घटनाहरुमा कमी ल्याउने सकिने डीएसपी कटवाल बताउँछन् । अभिभावकले आफ्ना बाल बच्चाहरु को सँग छन्, के गरिरहेका छन् भनेर जानकारी राख्ने हो भने यस्ता घटनाहरुमा कमी ल्याउन सकिन्छ ।

त्यसबाहेक नागरिक समाजले पनि विदेशी नागरिकलाई बालबालिकासँग देख्ने बित्तिकै प्रहरीलाई खबर गर्ने गरे यस्ता घटनाहरुमा कमी ल्याउन सकिने प्रहरीको निष्कर्ष छ । 

भिडियाे हेर्नुहाेस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप