केन्द्रीय संस्करण

अमेरिका–चीन व्यापार वार्ताः  यही साता वासिङ्टनमा वार्ता गर्ने तयारी

person explore access_timeफागुन ५, २०७५ chat_bubble_outline0

बेइजिङ- संयुक्तराज्य अमेरिका र चीनका अधिकारीहरुबीच बेइजिङमा जारी व्यापार वार्ता शुक्रबार सकिएको छ, तर दुबै मुलुक यही साता वासिङ्टनमा वार्ता गर्न राजी भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता अत्यन्तै राम्रो किसिमबाट अघि बढेको बताएका छन् । तर उनका सल्लाहकारहरुले वार्तामा अझै पनि केही बुँदामाथि विस्तृत छलफल गर्न बाँकी रहेको बताएका छन् । 

विश्वकै दुई ठूला अर्थतन्त्र रहेका अमेरिका र चीनले एकअर्का विरुद्ध ३६० अर्ब अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । ‘व्यापार युद्ध’ नाम दिइएको दुई मुलुकबीचको तनाबले विश्वको वित्तीय बजारलाई हल्लाइदिएको छ भने उत्पादन क्षेत्रमा मन्दी आएको छ । 

दुबै मुलुकबीचको व्यापार वार्ता सकारात्मक दिशातर्फ उन्मूख रहेको भन्दै राष्ट्रपति ट्रम्पले मार्च १ तारिखको अन्तिम समयसीमालाई बढाउने सङ्केत गरेका छन् । यसअघि डिसेम्बर १ तारिखदेखि फेब्रुअरी अन्तिमसम्मका तीन महिनाभित्र वार्ता गरी आपसी असमझदारी हटाउने दुबै देशबीच सहमति भएको थियो । 

राष्ट्रपति ट्रम्पले मार्च १ तारिखभित्रै नयाँ व्यापार सम्झौता नभए २०० अर्ब मूल्य बराबरका चिनियाँ सामानमा २५ प्रतिशत करवृद्धि गर्ने यसअघि घोषणा गरेका थिए । उक्त समयसीमा आइपुग्न करिब दुई साता मात्र बाँकी छ । 

अमेरिकाले चीनमाथि बौद्धिक सम्पत्तिको चोरी तथा जबर्जस्ती प्रविधि हस्तान्तरण गरेको आरोप लगाउँदै आएको छ । साथै, चीनको औद्योगिक नीति संरक्षणमुखी रहेको र विदेशी कम्पनीलाई चीनभित्र प्रतिस्पर्धा गर्न तथा बजार विस्तार गर्न कठिन रहेको एवं व्यापार घाटा बढेको अमेरिकी आरोप छ । 

चीनले भने विश्व व्यापार संगठन (डब्लुटिओ) को स्वीकृत मान्यताविपरीत अमेरिकाले व्यापारमा अवरोध सिर्जना गर्न खोजेको बताउँदै आएको छ । –एएफपी

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...