शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सरकारविरुद्ध काँग्रेसले आन्दोलन गर्ने

आइतबार, ०५ फागुन २०७५, १९ : ००
आइतबार, ०५ फागुन २०७५

जनकपुर– नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै प्रदेश सरकारविरुद्ध आन्दोलनको लागि तयारी  अवस्थामा बस्नका लागि निर्देशन दिएका छन् ।   आईतबार जनकपुरमा काँग्रेसको नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।  

वीरगञ्जस्थित वीपी उद्यानको नाममा रहेको जग्गामा प्रदेश सरकारले सहिद पार्कको शिलान्यास गरेकोप्रति आपत्ति जनाउँदै उनले प्रदेश सरकारले तत्काल आफ्नो निर्णय फिर्ता नलिए आन्दोलनका लागि तयार भएर बस्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

उनले निधिले स्थानीय, प्रदेश र केन्द्र गरी तीनवटै तहको सरकारलाई काम गरेर देखाउन १ वर्षको समय दिएको बताउँदै उनलाई काँग्रेस एक वर्ष चुप लागेर बस्दैमा काँग्रेसलाई कमजोर नठान्न उनले सचेत गराए । 
आईतबार जनकपुरमा काँग्रेसको नगर सम्मेलनलाई सम्बोधन गर्दै उपसभापति निधिले मुलुकमा बढ्दै गएको हत्या, हिंसा,बलात्कारजस्ता जघन्य अपराधिक घटना नियन्त्रण गर्न नसक्ने ओली सरकारले डराइ, धमक्याई देशका सबै अदालतहरुमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका हुन् । 

उपसभापति निधिले निर्मला पन्तको हत्यारा पत्ता लाग्न १२ वर्षसम्म लाग्न सक्ने भन्नु असफल सरकारको सबैभन्दा ठूलो नमुना रहेको दावी गरे । उनले भने– ‘संघीयता सुदृढ गर्न प्रदेश सरकारलाई संविधानअनुरुप सबै हक, अधिकार दिनु संघीय सरकारको पहिलो राजनीतिक कर्तव्य हो । कार्यक्रममा बोल्दै निधिले भने– ‘तर केन्द्रिकृत मानसिकताबाट वर्तमान सरकारले सबै अधिकार सिंहदरवारमै राख्नु संघीयता विरोधी भएको र संविधानको विरोधमा उभिएको स्पष्ट हुन्छ ।’

उनले विदेश नीतिमा समेत ओली सरकार असफल भएको भन्दै उपसभापति निधिले सरकारको गलत विदेश नीतिका कारण छिमेकी मुलुक भारत र चीन लगायत अन्य देशसँग सम्बन्ध बिग्रेको र विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न समेत नचाहेको उल्लेख गरे ।

मधेसवादको नाउमा चुनाव जितेका मधेस केन्द्रित दलले समेत सत्तामा बसेर मधेसीहरुको अपमान गरेको उनले बताए । उपसभापति निधिले संविधान संशोधनको मुद्दा लिएर सरकारमा बसेको मधेसी दलले सत्ता मोहमा संविधान संशोधनको मुद्दा बिर्सेको बताए ।

उपसभापति निधिले प्रदेश नम्बर २ को नाम र भाषाको सवालमा आफ्नो अडान कायमै रहेको भन्दै उनले मिथिला–भोजपुराबाहेक अन्य नाम स्वीकार्य नरहेको बताए । उपसभापति निधिले प्रदेश नम्बर २ धार्मिक ऐतिहासिक तथा साँस्कृतिक भूमिको केन्द रहेको भन्दै उनले मिथिलाको इतिहास र पहिचानसँग जोडिएकाले यस प्रदेशको नाम मिथिला–भोजपुरा नै उपयूक्त हुने स्पष्ट पारे ।

उनले देशभरिमै नेपाली भाषापछि सर्वाधिक बोलिने भाषा मैथिलीनै भएको दावी गर्दै प्रदेशको मुख्य भाषा मैथिली हुनुपर्नेमा जोड दिए । काँग्रेस जनकपुरधामका सभापति मनोज साहको अध्यक्षतामा सम्पन्न सम्मेलनको उद्घाटनसत्रमा पार्टीका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, पूर्वमन्त्रीद्वय रामकृष्ण यादव, महेन्द्रराय यादव, प्रदेश २ संसदमा पार्टी संसदीय दलका नेता रामसरोज यादव, प्रदेशसभा सदस्य प्रमिला दासलगायतका नेताले संघ सरकार र प्रदेश सरकार जनविरोधी रहेको भन्दै संगठित भएर अघि बढ्न काँग्रेसीजनलाई आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप