शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दिव्या भारती र साजिद नाडियाडवालाको प्रेमकथाः दिव्याको मृत्युले १० महिनामै टुङ्गियो

सोमबार, ०६ फागुन २०७५, १३ : २७
सोमबार, ०६ फागुन २०७५

दिव्या भारतीको नामले चर्चित दिव्या ओम प्रकाश भारती आफ्नो तीन वर्षे छोटो फिल्मी करियरमा सबैलाई प्रभावित तुल्याउने एक सशक्त नायिका हुन् । सन् १९९३ को अप्रिल ५ मा १९ वर्षको कलिलो उमेरमा नै आफू बसेको अपार्टमेन्टको पाँचौं तल्लाबाट खसेर उनले मृत्युवरण गरेकी थिइन् । उनको मृत्युलाई अहिलेसम्म पनि सुल्झिन नसकेको घटना बताउँदै यसबारे विभिन्न चर्चा परिचर्चा हुने गर्छ ।

उनको नीजि जीवनबारे खासै कुरा गरिँदैन । धेरैलाई त उनको विवाह बलिउड फिल्म निर्माता साजिद नाडियाडवालासँग भएको थियो भन्ने पनि थाहा छैन । यहाँ साजिद नाडियाडवालाको जन्मदिनको अवसरमा उनको दिव्या भारतीसँगको प्रेम सम्बन्धबारे कुराकानी गरौं ।

दिव्या भारतीको बलिउडमा प्रवेशः

दिव्याको जन्म सन् १९७४ मा एउटा यस्तो परिवारमा भएको थियो जसको फिल्मसँग टाढा टाढासम्म पनि सम्बन्ध थिएन । त्यसकारण फिल्ममा प्रवेश गर्नु उनले सपनामा पनि सोचेकी थिइनन् । तर जब उनी १४ वर्षकी थिइन् तब उनी  फिल्म निर्माता नन्दु तोलानीको नजरमा परिन् । दिव्यालाई देख्ने बित्तिकै नन्दुले उनलाई फिल्ममा अनुबन्ध गराउन चाहे । यद्यपी, उनको भूमिका पछि रद्द गरियो तर उनलाई निर्माता–निर्देशकले भने याद गरे । अन्ततः दिव्याले सन् १९९० मा १६ वर्षको उमेरमा तेलुगु फिल्म ‘बोबिली राजा’ बाट फिल्ममा डेब्यू गरिन् ।

केही साउथ इन्डियन फिल्ममा काम गरेपछि उनले १८ वर्षको उमेरमा ‘विश्वात्मा’ बाट हिन्दी फिल्ममा डेब्यू गरिन् । उक्त फिल्ममा उनको अपोजिटमा सन्नी देओल थिए । उक्त फिल्मले त्यति राम्रो व्यापार गर्न नसकेपनि फिल्मको गीत ‘सात समन्दर पार’ मार्फत् उनी दर्शकमाझ छाइन् । तीन वर्षको करियरमा उनले २१ वटा फिल्ममा काम गरिन् । त्यतिबेला उनका लागि ३० वटा फिल्म लाइन लागेर बसेका थिए समेत भनिन्छ ।

साजिद नाडियाडवालासँगको भेटः

तपाईंको व्यवसायले तपाईंलाई जीवनसाथी पनि प्रदान गर्छ भन्ने कुरा दिव्या र साजिदको जीवनमा लागु भयो । दिव्याको दोस्रो हिन्दी फिल्म ‘सोला और शबनम’ मा गोबिन्दा पनि थिए । साजिदले ‘जुल्मकी हुकुमत’ फिल्ममार्फत् आफ्नो स्वतन्त्र होम प्रोडक्सनको भर्खरै थालनी गरेका थिए । सोला और शबनम र जुल्मकी हुकुमत दुबै फिल्ममा गोबिन्दा नै थिए त्यसकारण फिल्मको सुटिङ ओभरल्याप भयो ।

एकदिन साजिद सोला और शबनमको सेटमा गोबिन्दालाई भेट्न गए । गोबिन्दालाई भेट्न गएका २६ वर्षे साजिदले दिव्यालाई देखेको पहिलो भेटमा नै मन पराए ।

प्रेम जोडी र लुकीछुपी भेटः

पहिलो भेटपछि साजिद दिव्यालाई फिल्मको सेटमा दैनिक जसो भेट्न जान थाले । उनीहरुको सुरुवाती सम्बन्ध साथीको थियो तर भेटघाट बाक्लिएपछि साथीको सम्बन्ध कहिले प्रेममा परिणत भयो उनीहरुलाई थाहै भएन ।  उनीहरु नियमित रुपमा भेट्न थाले तर यसबारे कसैले पनि थाहा नपाओस् भन्ने पनि चाहन्थे ।

प्रणय सूत्रः

उनीहरुको धर्म भिन्न थियो, दिव्याको करियर उकालो लाग्दै थियो, साजिद पनि आफ्नो करियरमा स्थापित हुने क्रममा थिए तर उनीहरुले सन् १९९२ मा विवाह गरे । वास्तवमा उनीहरु दिव्या १८ वर्ष पुग्ने दिन कुरेर बसेका थिए । उनीहरुले सन् १९९२ को मे १० मा विवाह गरे । रिपोर्टका अनुसार उनीहरुले अदालती विवाह गरेका थिए र विवाह पछि दिव्याले इस्लाम धर्म अपनाएर आफ्नो नाम साना नाडियाडवाला राखेकी थिइन् ।

विवाहपछिका हल्ला र वास्तविकताः

दिव्या र साजिदले विवाह पछि पनि आफ्नो सम्बन्ध गोप्य राखे । यद्यपी, उनीहरुबीच केही त छ भन्ने खबर आउन थालिसकेको थियो । सन् १९९२ मा दिव्याले दिएको अन्तर्वार्तामा उनले साजिदसँगको आफ्नो सम्बन्धबारे कुराकानी गरेकी थिइन् । उनले भनेकी थिइन्ः

‘मलाई मानिसहरु जति बदमास बताएका छन्, यदि म त्यसको आधामात्रै भएको भए पनि के साजिदजस्ता केयर गर्ने व्यक्ति मसँग हुन्थे होलान् ? अहिले हामी सँगै भएको साढे एक वर्ष भइसक्यो । हामीबीचको सम्बन्ध निकै राम्रो छ । साजिद निकै परिपक्व र अनुभवी व्यक्ति हुन् । उनले आफ्नो जीवनमा धेरै उतारचढाव भोगेका छन् । कहिलेकाँही मैले बच्चाले झैं जिद्दी गर्दा उनले मलाई सम्झाउँछन् । उनले मलाई के सही, के गलत, सबै सिकाउँछन् । म उनको निर्णयलाई विश्वास गर्छु । उनी कहिले पनि गलत हुन सक्दैनन् ।’

उक्त अन्तर्वार्तापछि धेरैले उनीहरुको विवाह भइसक्यो भनेर आँकलन गरे तर कोही पनि विश्वस्त भने थिएनन् । सन् १९९३ मा अर्को अन्तरवार्तामा दिव्याले आफू सन् १९९४ मा केही ठूलो योजनाबारे घोषणा गर्ने बताएकी थिइन् ।

छोटो तर सुन्दर कथाको अन्त्यः

सबैलाई थाहा छ कि दिव्या आफ्नो ठूलो योजना घोषणा गर्न सफल भइनन् । सन् १९९३ को अप्रिल ५ मा अपार्टमेन्टको पाँचौ तल्लाबाट खसेर उनको मृत्यु भयो ।

दिव्याको असामयिक निधनमा साजिद निकै विक्षिप्त भए । उनको मृत्यु पछि साजिदले आफ्ना सबै फिल्म दिव्यालाई समर्पित गर्ने सोचे । उनले पत्रकार वार्दा खानसँग विवाह नगरुञ्जेल यस्तै गरे पनि । साजिदकी श्रीमतीले एक अन्तरवार्तामा आफ्ना श्रीमानले अहिले पनि दिव्याको फोटो पर्समा राख्ने गरेको खुलासा गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप