शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुटवलको बस टर्मिनलमा अत्याधुनिक सपिङ् कम्पलेक्स बन्ने

सोमबार, ०६ फागुन २०७५, १९ : ५२
सोमबार, ०६ फागुन २०७५

बुटवल– बुटवल उपमहानगरपालिकामा पार्किङसहितको अत्याधुनिक सपिङ् कम्प्लेक्स बन्ने भएको छ । हाल लुम्बिनी बस टर्मिनल रहेको परिसरमा पार्किङसहितको तीन तलाको भवन बन्ने भएको हो ।अत्याधुनिक भवन नगर विकास कोषसंगको विशेष सहकार्यमा तीन वर्षमा निर्माण सम्पन्न हुने गरि सम्झौता भएको छ ।

बुटवल उप–महानगरपालिका प्रमुख शिवराज सुवेदी र नगर विकास कोषका कार्यकारकी निर्देशक मनिरामसिंह महतकाबीच सोमबार काठमाडौंस्थित नगर विकास कोषको कार्यालयमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

बुटवललाई आर्थिक कारोबारको केन्द्र बनाउन महत्वपूर्ण भूमिका खेल्ने र बुटवलका लागि दिगो आयस्रोतको आधार बन्न सक्ने प्रमुख सुवेदीले बताए । १० करोड ८४ लाख रुपैंयाको कुल लागतमा बन्ने सो भवनको निर्माण कार्य बैशाखबाट सुरु हुने प्रमुख सुवेदीले जानकारी दिए ।
बुटवलको सम्भावनालाई साकार पार्नेगरि सहकार्य गर्ने सम्झौता भएको उल्लेख गर्दै कोषका कार्यकारी निर्देशक महतले सम्झौता अनुरुपका कामहरु प्रभावकारी रुपमा सम्पन्न गरिने बताए । भवन बन्न लाग्ने लागतको ९० प्रतिशत अर्थात् ९ करोड ७५ लाख बराबरको बजेट ऋणको रुपमा नगर विकास कोष काठमाडौंले लगानी गर्ने छ ।

बाँकी १० प्रतिशत अर्थात् १ करोड ८ लाख ४५ हजार रकम भने बुटवल उपमहानगरपालिका आफैले जोहो गर्नेछ । कोषले ८ प्रतिशत ब्याजदरमा २० वर्षका लागि उक्त रकम बराबरको ऋण उपलव्ध गराएको हो ।

बुटवलमा पार्किङको अभाव बढ्दै गइरहेका बेलामा बुटवल उपमहानगरले त्यसलाई समेत मध्यनजर गर्दै पार्किङसहितको अत्याधुनिक सपिङ कप्लेक्स निर्माण गर्न लागेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

तीन तलाको भवनमा पार्किङ बाहेक विभिन्न साइजका ६८ वटा व्यवसायिक सटरहरु निर्माण हुने र ती सबै अत्याधुनिक मापदण्डका रहने बुटवलका योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप