शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघ तदर्थसमितिको संयोजकका लागि काँग्रेसमा तँछाडमछाड, देउवालाई नैतिक संकट

मङ्गलबार, ०७ फागुन २०७५, १० : ०७
मङ्गलबार, ०७ फागुन २०७५

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा तदर्थ समितिको संयोजक कसलाई बनाउने भन्नेमा पार्टीभित्र तँछाडमछाड देखिएको छ ।

११ औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित नैनसिंह महरले २८ माघमा पदबाट राजीनामा दिएपछि तदर्थ समिति बनाउने काँग्रेसको निर्णय छ  । तर, तदर्थ समितिको संयोजक कसलाई बनाउने भन्नेमा चाहिँ पार्टी नेताहरुबीच तँछाडमछाड सुरु भएको हो । फागुन २ मा बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति शेरबहादुर देउवालाई सबै पक्षसँग आवश्यक छलफल गरेर तदर्थ समिति गठन गर्ने जिम्मा दिएको थियो ।

विवादको चुरो

११ औं महाधिवेशन भएको २९ महिनासम्म पनि १२ औं महाधिवेशन गर्न नसकेपछि महरले २८ माघमा राजीनामा दिएका थिए । जवकी हरेक २ वर्षको अन्तरमा महाधिवेशन गर्नुपर्ने नेविसंघको विधानमा उल्लेख छ ।

यसमाथि हालै नेविसंघको विधानमा ३२ वर्र्षे उम्मेरहद तोकिएको छ । विधानमा ३२ वर्षे हदबन्दी तोकिएपछि तदर्थसमितिमा पनि सोही उमेर हदबन्दी लगाइनु पर्ने आवाज उठेको छ । तर, तदर्थसमितिमा ३२ माथि वा मुनीका कसलाई नेतृत्व ल्याउने भन्नेमा पार्टी स्पष्ट छैन ।

यस अन्योलतालाई फागुन ९ गते बस्ने काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निकास दिने विश्वास लिइएको छ ।

सिटौला समूहको रणनीति

कृष्णप्रसाद सिटौंला निकट नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले ३२ वर्ष उमेर हदबन्दीसहित संगठनको तदर्थ समिति गठनको माग गरेका छन् ।

सोमबार प्रदर्शनी मार्गस्थित वाल्मीकि क्याम्पसमा पत्रकार सम्मेलन गरेर ६ महिनाभित्रै १२ औं महाधिवेशन सम्पन्न गर्ने गरी ३२ वर्ष मुनीको तदर्थ समिति गठन गरिनुपर्ने काफ्लेले माग गरे ।

पार्टी सभापति देउवा ३२ वर्ष उम्मेर हदबन्दीलाई लत्याएर अगाडि बढे आफूहरु समानान्तर समिति गठन गर्न बाध्य हुने उनले चेतावनी दिए । आइतबार पनि मध्य बानेश्वरस्थित एक ब्यांक्वेटमा काफ्लेसमूहले नेता गगन थापासँग छलफल गरेको थियो ।

छलफलमा नेता थापाले आफू निकटका विद्यार्थीहरुलाई एकताबद्ध हुन आग्रह गरेका थिए । पार्टीभित्र आफ्नो समूहको अलग पहिचान स्थापित भइसकेको भन्दै उनले विद्यार्थी नेताहरुको एकताबाटै पार्टीभित्र प्रभाव स्थापित हुने बताएका थिए ।

‘नेविसंघमा हाम्रो उपस्थितिले नै हामीलाई पार्टीभित्र तेस्रो धार बनाएको हो । अहिले नेविसंघमा हाम्रो अस्तित्व सिध्याउन खोजिएको छ । यसकाविरुद्ध संगठित भएर प्रतिवाद गर्नुपर्छ ।’ थापाको भनाईलाई उदृत गर्दै नेविसंघ स्रोतले भन्यो ।

 साथै नेता थापाले विद्यार्थी नेताहरुलाई आपसमा अस्वस्थ प्रतिस्पर्धा नगर्न र समूहको हितका लागि साझा धारणा बनाएर अघि बढ्न निर्देशनसमेत दिएको स्रातेत बताउँछ ।

देउवालाई नैतिक संकट

साथै ३२ वर्ष उमेरहद लगाउने कि नलगाउने भन्नेमा पार्टीभित्रै विवाद छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले पक्ष र देउवा पक्षका धेरैजसो नेता १२ औं महाधिवेशनबाट मात्रै विधान कार्यान्वयनमा आउने भएकाले अहिल्यै ३२ वर्षे उमेरहद लगाउन नहुने पक्षमा छन् । 

वरिष्ठ नेता रामचन्द्र पौडेलले मनोजमणि आचार्यको संयोजकत्वमा समिति बनाउन जोड गरेका छन् भने उपसभापति विमलेन्द्र निधि निवर्तमान कार्यसमितिका महामन्त्री सरोज थापालाई संयोजक तोक्ने पक्षमा छन् ।

यस्तै महामन्त्री पूर्णबहादुर खड्काले ११ औं महाधिवेशनमा अध्यक्षमा पराजित शुभराम बस्नेतलाई नेतृत्वमा ल्याउन देउवालाई सुझाइरहेका छन् । संस्थापनका केही नेताहरु भने तदर्थसमितिबाट ३२ वर्षे उम्मेरहद लगाउनु पर्ने पक्षमा छन् ।

जसमा संस्थापन पक्षकै बालकृष्ण खाँण, प्रकाश घिमिरे र सहमहामन्त्री प्रकाशरण महतले प्रेमराज जोशीलाई संयोजक बनाउन दबाब दिइरहेका छन् ।

 जसका कारण देउवाले नेविसंघमा तदर्थ समितिको संयोजक चयन गर्न नैतिक संकट झेल्नु परेको छ । जसमा पौडेलसँग बढ्दो दूरी कम गर्नेदेखि आफूना निकटस्थहरुलाई कसरी टिकाइराख्ने भन्ने दवावमा उनी छन् ।

नेविसंघको नेतृत्व महिलालाई दिन माग

यसो त नेविसंघमा महिलालाई अवसर दिनुपर्ने आवाज पनि उठेको छ ।

 नेविसंघको नेतृत्व महिलालाई दिन माग गर्दै विभिन्न क्याम्पसका नेतृहरूले पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका थिए । संघकी निवर्तमान सहमहामन्त्री अम्बिका चलाउनेको नेतृत्वमा विद्यार्थी नेतृहरुले शनिबार देउवालाई निवासमै भेटेर दबाब दिएका थिए । यस्तो दबाब दिनेहरु संस्थापनपक्षीय नै थिए । उनीहरूले ३२ वर्षे उमेरहद कार्यान्वयनमा ल्याउनसमेत माग गरेका छन् । देउवासँग उनीहरुले निवर्तमान सहमहामन्त्री चलाउनेलाई तदर्थ समितिको नेतृत्व दिन आग्रह गरेका थिए ।

संघको नेतृत्वमा अहिलेसम्म महिला नआएको भन्दै इतिहास राख्ने अवसर दिनसमेत उनीहरूले जोड गरेका थिए ।

‘कम्युनिष्टको विद्यार्थी संगठनमा महिलाले नेतृत्व गरेका छन्, हाम्रो किन नहुने ? सभापतिले आफूलाई फरक देखाउन पनि महिलालाई नेतृत्व दिनुपर्छ ’ उनीहरुको भनाइ थियो । देउवाले यस विषयमा अन्य नेताहरूसँग छलफल गर्ने बताएका थिए ।

विगतको नेविसंघ

 २०२७ सालमा स्थापना भएको नेविसंघको ४८ वर्षको इतिहासमा विपीन कोइरालादेखि नैनसिंह महरले जिम्मेवारी सम्हाले । यो बीचमा १८ जनाले नेविसंघ हाँक्ने मौका पाए । जसमा ६ निर्वाचित, ५ सर्वसम्मत र ७ तदर्थ समितिबाट नेतृत्वमा पुगे ।

 १८ अध्यक्षमध्ये एक मात्र अध्यक्षले मात्रै समयमै महाधिवेशन गरी नेतृत्व हस्तातरण गरे । नेविसंघको आठौँ महाधिवेशनबाट अध्यक्षमा चुनिएका हालका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ०५९ मा नवौँ महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए  । तर, अरू कुनै पनि अध्यक्षले विधानत आफ्नो कार्यकालमा महाधिवेशन गर्न असफल रहे । ।

विपिन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोर राठौर, महेन्द्र शर्मा र रञ्जित कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न सफल भएका थिए । तर विमलेन्द्र निधि, एनपी साउद गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महर महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न असफल रहे ।

नेविसंघमा निर्वाचित कार्यसमितिले अधिवेशन गर्न नसकपछि तदर्थसमिति बनाउने प्रचलन विगतदेखि चल्दै आएको छ ।

सोही प्रचलन अनुसार ज्ञानेन्द्रबहादुर कार्की, धनराज गुरुङ, किशोरसिंह राठौर, केशव सिंह, महेन्द्र शर्मा र रञ्जित कर्ण नेविसंघको नेतृत्व सम्हाल्ने अवसर पाएका थिए ।

अहिले पनि महर नेतृत्व असफल भएसँग तर्दथसमिति ल्याउन काँग्रेस नेताहरु लागि परेका छन् । अब नेविसंघको नेतृत्व कसले गर्ने भन्ने पार्टी सभापति देउवाको हातमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप