केन्द्रीय संस्करण

दुर्गुण सुधार्ने अचुक यन्त्र, जनताको प्रजातन्त्र !

person explore access_timeफागुन ७, २०७५ chat_bubble_outline0

वास्तवमा कुनै पनि ‘दिवस’ गौरवपूर्ण अतीतको पुनर्पठन, वर्तमानको पारदर्शी संगठन र उज्ज्वल भविष्यको सपनाको संस्करण हो । गौरवलाई जबसम्म सौरभमा रूपान्तरण गर्न सकिन्न तबसम्म हरेक खालका दिवस विवसताका कर्मकाण्ड मात्र बन्नेछन् । नेपालको राजनीतिक रङ्गमञ्चमा ०४६ को जनआन्दोलनपछि नेपाल  बहुदलीय प्रजातन्त्रको कोर्समा डेढ दसक मार्च गर्यो । राजनीतिलाई अझ समावेशीमूलक र जनसहभागितापरक बनाउनलगत्तै ०६३ पछि नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेर संविधानसभामार्फत नयाँ संविधान निर्माण भयो । जसअनुसार यति बेला दोतिहाइभन्दा बढीको सबल सरकार  बन्न पुगेको छ । विगतका सरकारले नेपालको समृद्धि र विकासमा ध्यान दिने प्रयत्न हुँदाहुँदै पनि प्राविधिक रूपमा कमजोर बन्दा अस्थिर कार्यकारीले समुचित दिशा दिएर जनआकाङ्क्षा गोल गर्न सकेनन् । सरकार गठन गर्न भएका विविध अभ्यासहरू युगसापेक्षताको कसीमा खरो भएर उत्रने कुरामा कमजोर सावित भए ।

यतिखेर नेपाल सरकारले ६९औँ प्रजातन्त्र दिवस भव्य रूपमा मनाउन प्रधानमन्त्री ओलीकै अध्यक्षतामा समिति गठन गरेर ०७ को गौरवमय पर्वको सम्झना गर्न पुगेको छ । यो सबै लोकतन्त्रवादीहरूका लागि खुसी र उत्साहको विषय हो । यथार्थमा यतिखेरका नेपाली अगुवाहरूले लोकतन्त्रको परिभाषा र जनमुखी नाराको फलाको हाल्नुभन्दा आफ्नो आचरण, व्यवहार, संस्कार र दैनन्दिनीलाई लोकतन्त्रको कसीमा परीक्षण गर्न निर्ममतासाथ उद्यत हुनु नै वाञ्छनीय हुन्छ ।  महामना गान्धीले भनेझैँ तल्लो तहदेखि माथिल्लो तहसम्मका मानिसले अगाडि बढ्ने समान अवसर पाउनु प्रजातन्त्रको चरित्र हुनुपर्छ । महान् चिन्तक डायसीले बोलेझैँ– राष्ट्रको अधिकांश जनता शासक हुन सक्ने व्यवस्था प्रजातन्त्र बन्नुपर्छ । मूलतः लोकतन्त्रमा राजनीतिक अभिकर्ताहरूले हृदयलाई इमानदार, मगजलाई समझदार र काँधलाई जिम्मेवार  बनाउन अपरिहार्य हुन्छ । जनताबाट चुनिएर गएका प्रतिनिधिहरू जबसम्म आम जनताका विम्ब वा प्रतीक बन्न सक्दैनन् तबसम्म त्यहाँ प्रजातन्त्र नाम मात्रको प्राविधिक रमिता बन्न पुगेको उदाहरण संसारमै छिरिलबिरिल छन् ।

लोकतन्त्र दर्बिलो बनाउन मूलतः सत्ताधारी दलको चिन्तन परम्परागत सत्ताबाट मुक्त भएर केही हदमा कानुनी नोकरशाही सत्ताका विशेष पक्षको ग्रहण गर्दै  चामत्कारिक सत्तामा रूपान्तरण हुन जरुरी छ । मूलतः यसमा दलीय शीर्षहरूले आफ्नो नेतृत्व कौशलतामार्फत जनबोली र आकाङ्क्षालाई पर्याप्त मुखर गर्न क्षमता राख्छन् । माओ, नेहरू, केनेडी, लिङ्कन र केही मात्रमा बीपी यसका रोलमोडल हुन् । सत्ताधारी दलले आफ्ना घोषणापत्रलाई गुरुगीता बनाएर लोककल्याणकारी राज्यको सपना पूरा गर्नुपर्छ । निर्णय–निर्माण, नियन्त्रण र सन्तुलन, समन्वय, अनुशासन, प्रणालीलाई आकर्षक ढङ्गले हाँक्ने र समग्र विकासको बाहक बन्न सक्ने हुती राख्नैपर्छ । प्रमुख प्रतिपक्षी पार्टी, प्रतिपक्षी दल, दबाब समूह, नागरिक समाजका आलोचना, गुनासा, सुझाव–सल्लाह र विरोधी आन्दोलनलाई नकारात्मक रूपमा लिने रुग्ण मानसिकताको अन्य गर्ने पर्छ । आफ्नो दलभित्र लोकतान्त्रिक अभ्यासलाई रचनात्मक रूपमा मौलाउने परिपाटीको पृष्ठपोषण गर्नु सत्ताधारी दलका नेता, पोलिट ब्युरो, केन्द्रीय समिति र कार्यपालिका सदस्यहरूको दायित्वको गुरुतम भूमिका हुन्छ ।

त्यसैगरी प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षी दलहरू र स्वार्थ समूह रचनात्मक, गुणात्मक तथा एजेन्डापरक रूपमा प्रस्तुत हुन सक्नुपर्छ प्रजातन्त्रमा ।  सत्ताधारी दलका गलत महत्त्वाकाङ्क्षा तथा एकाधिकार प्रवृत्तिमाथि तथ्याङ्क, उदाहरण, समाधानका उपाय दिएर जहिले पनि आपूmलाई छाया सरकारको खबरदार गर्ने मार्ग दर्शक बनाउन क्षमता प्रमुख प्रतिपक्षीले राख्नुपर्छ । मात्र विरोधका लागि विरोध गरेर आफू सार्वजनिक सरोकारबाट अलग हुने प्रवृत्ति राख्न किमार्थ हुन्न । लोकतान्त्रिक प्रणलीलाई जीवन्त बनाउन जहिले पनि दलहरूले निम्न कुराहरूमा अर्जुन दृष्टि राख्नैपर्छ । 

१. सत्ताको स्थापना र नियत्तण, २. राजनीतिक प्रक्रियालाई जोड्ने, सरल र स्थिर बनाउने,राजनीतिक अभिकर्ताहरूको भर्ती, ३. सरकार र जनताबीच पुल बन्ने, एजेन्डाहरूको खुलासा, ४. राष्ट्रिय एकतालाई मजबुत बनाउने विखण्डन र विद्रोहको दुर्भावनाको सफाइ, राष्ट्रिय स्वार्थ र असंलग्न तटस्थ विदेश नीतिको अङ्गीकार गर्ने जस्ता पक्षहरू हुन्छन् । 

त्यसै भएर प्रजातन्त्रलाई सभ्यता र शिष्टताको मुहान भनेर राजनीतिक विचारक डब्लु केनेर्थले भनेका हुन् । हाम्रो प्रजातन्त्र अब प्रतिनिधिमूलकबाट सहभागिकतामूलकमा छलाङ मार्नुपर्ने हुन्छ । जब जनताका प्रतिनिधिहरू व्यापारी, विचौलिया, तस्कर, कमिसनखोरका  लोभमोहको  जञ्जालमा फस्छन् त्यतिखेर प्रतिनिधिमूलक प्रजातन्त्र निष्प्राण बन्न पुग्छ । यतिखेर बजार हल्लाइरहेको मार्सी चामले पुँजीवादको आवादले क्रमशः प्रजातन्त्र निल्न सक्छ । समाजवादोन्मुख कार्यक्रम ङ्याक्न बेर लाउँदैन । त्यसमा प्रतिपक्षीहरूको रखबारी जरुरी छ । तर प्रतिपक्षीहरू पनि  नमुना  अर्थात् रुलअफ लबाट आफ्नो दलभित्र गाइडेड हुन पर्यो । सत्ताधारीहरूकै सहभोजनमा ‘काले काले मिलेर खाउँ भाले’ भन्ने अधम कुचिन्तनबाट ग्रसित हुन भएन । पार्टी टिकटदेखि राजदूत, संवैधानिक निकायको नियुक्ति, राष्ट्रिय गौरवका आयोजनाहरूमा दिइने ठेक्काहरू सबैतिर अर्थको चलखेलले खुट्टा घुमायो भने नाता र नश्लले पुठ्ठा नचायो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुपोषित बालक बन्न पुग्छ ।

यसैले सत्ताका जनविरोधी गलत हर्कतलाई इति गरेर लोकतन्त्रको आरनमा हरेक दलहरूलाई परिष्कार पारी जनताको वास्तविक तन्त्रको अथ गर्ने पुनीत कार्यमा यो प्रजातन्त्र दिवसले बल दिन सकोस् । विख्यात राजनीति चिन्तक एडलर्ड स्टिभेन्सनको शब्द सापटी लिएर पुनः आवृत्ति गरौँ ः आत्मालोचना प्रजातन्त्रको गुप्त अस्त्र हो भने स्पष्टवादिता र गल्ती स्वीकार गर्नु राजनीतिक व्यक्तिका लागि उत्तम गुण हो । यही कुरा बुझेरै महाकवि देवकोटाले बोले– जनता जो सच्चा राष्ट्र हो, जो राष्ट्रको जीवनको नाडी र भावको झङ्कार हो । त्यसैले लोकतान्त्रिक सरकार आलोचनाबाट असहनशील बन्नै सक्दैन, जब ऊ आलोचनालाई बिख ठान्छ त्यसमा सत्तादम्भको भूत सवार हुन्छ, त्यसैलाई धूलिसात् गर्ने यन्त्र हो प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ।

वाचालहरूको वाक्छल वा वाक्तस्करीमा प्रजातन्त्र मौलाउँदैन, गणतन्त्र फैलाउँदैन । राजनीतिक अभिकर्ताहरूमा आचरण, व्यवहार, संस्कार सपना र प्रतिबद्धता चाहिन्छ । हरेक राजनीतिक अभिकर्ताहरूको दुर्गुण सुधार्ने अचूक यन्त्र  जनताको प्रजातन्त्र मात्र हो । अभिजातीय प्रजातन्त्र हैन ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.