बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

चौधरी फाउन्डेसनद्वारा ५सयभन्दा बढिलाई कृतिम हात खुट्टा वितरण

बुधबार, ०८ फागुन २०७५, १८ : ३१
बुधबार, ०८ फागुन २०७५

काठमाडौं–चौधरी फाउन्डेसनले संचालन गरेको कृतिम हात खुट्टा जडान शिविरबाट ५ सय आठ जना व्यक्तिहरु लाभान्वित भएका छन् । विभिन्न कारणबाट हात खुट्टा गुमाउनु परेका व्यक्तिका लागि यो शिविर निकै महत्वपूर्ण अवसर सावित भएको छ ।  

काठमाडौंको नर्भिक इन्टरनेशनल हस्पिटल र नवलपुरको सहज सामुदायिक अस्पतालमा शिविरको आयोजना गरिएको थियो । गत पुस २७ गते शुरू भएको शिविर फागुन ८ गतेसम्म संचालन गरिएको थियो ।चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले हात खुट्टा जस्ता संवेदनशिल अंगको अभावमा जीवन विताईरहेकाहरूलाई सहयोग गर्न पाउनु आफ्ना लागि अहोभाग्य भएको बताए ।

‘हात खुट्टा नहुनु भनेको जीवन नै अर्कै चरणबाट गुज्रिन बाध्य हुनु हो । हामीले कृतिम हात खुट्टा उपलब्ध गराएर उहाँहरूको जीवनमा रूपान्तरण ल्याउने कोशिस गरेका छौं । यसले उहाँहरूको जीवनमा ठूलो फरक पार्नेछ भन्ने हाम्रो विश्वास छ ।’ अध्यक्ष चौधरीले भने, ‘यसबाट राष्ट्रले समेत सवल र योग्य नागरिक पाएको छ ।’  

चौधरी फाउन्डेसनले भगवान महाविर विकलाङ सहायता समिति र भारतीय दुतावाससँगको सहकार्यमा  नेपालमा कृतिम खुट्टा वितरण गर्ने कार्यक्रम संचालनमा आएको हो । पहिलो चरणमा काठमाडौंको नर्भिक अस्पतालमा पुस २७ देखी ३० गते सम्म ५९ जना लाभान्वित भएका थिए ।

दोस्रो चरणमा नवलपुरको गैंडाकोटस्थित सहज सामुदायिक अस्पतालमा माघ ३ गतेदेखि संचालनमा आएको शिविरबाट थप ४६१ जना लाभान्वित भएका छन् । जसमध्ये ४ सय ३५ जनाले कृतिम खुट्टा, ५२ जनाले कृतिम हात र २१ जनाले क्यालिपरको सेवा लिएका थिए । 

नेपालमा करिव एक लाख मानिसका लागि कृतिम हात खुट्टाको आवस्यकता रहेको अनुमान छ । यो समस्यालाई दिगो रुपमा समाधान गर्न चौधरी फाउन्डेसनले भगवान महाविर विकलाङ सहायता समिति र सहज सामुदायिक अस्पतालसँगको सहकार्यमा स्थाई रुपमा नै यो सेवा शुरू गर्ने योजना बनाएको छ । स्थाई सेवा शुरू भएपछि आवस्यक व्यक्तिले आफ्नो अनुकुल समयमा अस्पतालबाट सेवा लिन सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप