शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ताप्लेजुङ–दार्चुला ‘ग्रेट हिमालय रेन्जमा केबुलकार’ चलाउने नयाँ अवधारणा, कति सम्भव ?

शुक्रबार, १० फागुन २०७५, १५ : १५
शुक्रबार, १० फागुन २०७५

सुदूरपूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्म केवलकार सञ्चालन गर्ने नयाँ अवधारणा सार्वजनिक भएको छ ।

मुलुकमा रेल र पानी जहाजको चर्चा भइरहेका बेला सगरमाथा आरोही तथा लोलुफेरा (लोमान्थाङ, लुम्बिनी, फेवाताल, रारा ताल)का अभियान्ता कृष्ण केसीको अगुवाइमा भएको अध्ययन र छलफलपछि सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म केवलकार सञ्चालन गर्न सकिने निष्कर्षसहित अवधारणा सार्वजनिक गरिएको हो । यो अवधारणा कार्यान्वयन गर्न सके नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मार्र्ने सरकोकारवालाहरूको भनाइ छ । 

केवलकार सञ्चालनबारे केसीको अगुवाइमा हालै गण्डकी प्रदेशका सरकार प्रमुख, पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डका प्रमुखसहितको छलफलपछि ‘समृद्ध नेपालको सुनौलो सम्भावना अपार ः लोलुफेरा–ताप्लेजुङ–दार्चुला ग्रेट हिमालयन केबुलकार’ पोखरा घोषणा पत्र २०७५ नै जारी  गरिएको छ ।

केसी विगत केही वर्षयता नेपालका हिमाली क्षेत्रलाई पर्यटन ‘हब’का रूपमा विकास गर्न लागिपरेका छन् । जसअन्तर्गत उनले ताप्लेजुङदेखि दार्चुलासम्म ग्रेट हिमालयन केबुलकारको अवधारण अघि सारेका छन् । उक्त केबुलकारको लम्बाइमा करिब १२ सय किलोमिटर हुने केसीको भनाइ छ ।

ग्रेट हिमालयन केबुलकार लम्बाइको हिसाबले संसारकै लामो केबलकार समेत हुनेछ । विश्वमा अफ्रिकी मुलुक ग्याबनको केबलकार २५० किलोमिटर र स्विडेनको ९६ किलोमिटर लामो केबलकार रहे पनि त्यो सामान ढुवानीका लागि मात्रै प्रयोग हुने गरेकोे छ ।

ताप्लेजुङदेखि दार्चुलासम्मको ग्रेट हिमालयन केबुलकार भने नेपालको हिमाली क्षेत्रमा आउने पर्यटकलाई लक्षित गरेर बनाउन सकिनेछ ।

यसरी बनाउन सकिन्छ संसारकै लामो केबलबार

ताप्लेजुङदेखि दार्चुलासम्म केबुलकार सञ्चालन गर्न भने सहज भने छैन । तर अभियान्ता केसी भने असम्भव नरहेको दाबी गर्छन् ।

‘मान्छे चन्द्रमामा पुगिसके, मङ्गल ग्रहमा बस्ती बसाउने अभियानमा छन्, समुन्द्रमा बस्ती बसाएर विकास गरिसके । संसारै घुम्ने रेलको विकास हुँदैछ, हामीले ताप्लेजुङदेखि दार्चुलासम्म हिमालय रेन्जमा संसारलाई लोभ्याउने, संसारका विशिष्ट, प्रख्यात र धनी मान्छे घुम्न आउने, बस्ने र रमाउने ठाउँ बनाउन किन सम्भव छैन ?’ अभियान्ता केसीको प्रश्न छ । 

नेपाल प्राकृतिक र भौगोलिक हिसाबले पनि स्वर्गको टुक्रा भएकाले केही व्यवस्थापन मात्रै गर्न सके यो स्वर्गमा सबै देशका मानिसहरू आउने र पर्यटकबाटै नेपालको आर्थिक समृद्धि हासिल गर्न सक्ने केसीको निष्कर्ष छ ।  ‘यो स्वर्गमा आउन चाहने मानिसका निम्ति २१औँ शताब्दीमा प्रविधिको प्रयोग गरेर हिमालयन रेन्जमा केबलकार बनाउन सकिन्छ । हामी मध्यपहाडी राजमार्ग बनाउन सक्छौँ  । राजा महेन्द्रले महेन्द्र राजमार्ग बनाए । डाँडाकाँडामा डोजर लगाए भने हामी अनेकौँ बाटा बनाउन सक्छौँ’, केसीको विश्वास छ ।

धेरैले यो अवधारणालाई महत्त्वाकाङ्क्षी र असम्भव योजनासमेत भन्ने गरेका छन् । तर, केसी भन्छन्– ‘असम्भव केही छैन ।’ 

‘नयाँ प्रविधि प्रयोग गरेर सुदूरपश्चिको दार्चुलादेखि ताप्लेजुङसम्म ग्रेड हिमालयन केबलकार बनाउन सकिँदैन भने समृद्ध नेपाल कसरी सम्भव हुन्छ । के यार्सागुम्बा, सिन्की वा विदेशमा श्रम बेचेर देश बन्छ ?’

यस्तो छ केसीको परिकल्पना

संसारका मानिसहरूको आकर्षणको केन्द्र बन्न सक्ने यो महत्त्वाकाङ्क्षी योजनाअनुसार केसीले कुनै पनि देशका मानिसले आराम गर्ने स्थान नेपाल नै बनाओस् र आवस भन्ने रहेको बताए ।  ‘ताप्लेजुङ दार्चुला, सोलुखुम्बु, मनाङ, मुस्ताङ रोल्पा, पाँचथर, डोल्पाबाट हेर्दा स्वर्गको टुक्रा देखिन्छ नेपाल । यीमध्ये कुनै पनि रेन्जमा गएर विदेशी पाहुना आराम गर्न सकोस् । यसको अर्थ ताप्लेजुङदेखि दार्चुलासम्मका सबै डाँडाकाँडामा केबुलकार बनाउने होइन, त्यसको बेसलाई आधार बनाएर बनाउनुपर्छ’, उनले आफ्नो अवधारण सुनाए ।

 ‘मैले संसारै त घुमेको छैन । तर नेपालका ७७ वटै जिल्लाको केही ठाउँहरूमा घुमेको छु । ताप्लेजुङदेखि दार्चुलासम्मको हिमालय रेन्जमा ५, ७ वर्षदेखि हिँड्दै आएको छु । त्यसको अध्ययन पनि गरेको छु । संसारकै अग्लो हिमालयन ताल, अग्लो भ्याली, उत्कृष्ट निकुञ्ज र जडीबुटी पनि नेपालको हिमाली क्षेत्रमै पाइन्छन् । हाम्रा हिमाली क्षेत्रबाट हराभरा पहाडी डाँडापाखा, समथर तराईलाई नियाल्न सकिन्छ । आकाशका जुन तारा समेत नियाल्न पाइन्छ । यस्तो देश संसारमा कहाँ छ ? छ भने नेपालमै छ’, केसीले सुनाए । विभिन्न देश र नेपालकै विभिन्न स्थानको भ्रमणपछि आफूले संसारकै लामो केबलकार नेपालमा सञ्चालन गर्न सकिने अवधारणा बनाएको बताए । ‘यो अवधारणा सार्थक बनाउन सकिए विश्वका हिरो–हिरोनी, साहित्यकार, कलाकार र सिर्जनाकार, नेतालाई नेपालको स्वर्गरूपी मुहारको मुस्कानमा कैयौँ महिनासम्म अल्झाउन सकिन्छ र  भारतका १ अर्ब र चीनका डेढ अर्बमध्ये केही प्रतिशत मानिसलाई मात्रै भित्र्याउन सक्यौँ भने समृद्ध नेपाल निर्माणको मूल आधार बन्न सक्छ’ केसीको विश्वास छ ।

केपी, प्रचण्ड र देउवालाई सुझाव

अभियान्ता केसीले देश विकासको आधारका रूपमा यो अवधारणाप्रति मुलुकका प्रमुख दलका शीर्ष नेताले चासो दिनुपर्ने बताए । उनीहरूले चासो दिएर प्रतिबद्धता जनाए योजना अघिबढाउन कुने समस्या नहुने पनि उनले बताए ।

‘एकजना नेपालीले १ हजार सहयोग गरे पनि अर्बौं रकम सङ्कलन हुन्छ । पैसाको समस्या हुँदैन’, केसीको दाबी छ । ‘जनताले कर तिरेको पैसा बटुलेर राज्य सञ्चालन भइरहेको छ । अहिले त त्यही पैसा बाड्चुड गरेर सङ्घीयतासहितको राज्य सञ्चाल भइरहेको छ । नेपाली जनता र सबै निकायका मान्छेले चाहने हो भने यो काम पूरा गर्न सहजे सकिने उनको विश्वास छ । प्रविधिको प्रयोगसँगै अगाडि सर्न सके देशलाई पनि नयाँ युगमा रूपान्तरण  गर्न सकिने भन्दै उनले सिंहदरबारभित्र छिरेका वा ७ प्रदेशका प्रदेश प्रमुख र स्थानीय तहको प्रमुखहरूले अग्रसरता देखाए निकट भविष्यमै ताप्लेजुङ–दार्चुला हिमालयन केबुलकार निर्माण गर्न सकिने बताए ।

‘उहाँहरूले विकसित प्रविधिलाई जनताको साझेदारीमा अघि बढाउँदै संसारभरको पुँजीलाई भित्र्याउने गरी अगाडि बढ्नुपर्छ । यस्तो कुरामा एसियन बैङ्क, विश्व बैङ्क र संसारका उद्यमी, व्यवसायीले पनि लगानी गर्ने अवस्था आउँछ । चन्द्र ढकाल (चन्द्रगारी केबुलकार सञ्चालक) जस्ता अन्य धेरै ढकालहरू जन्मन सक्छन्’, केसीले सुनाए । 

उनले प्रधानमन्त्री केपी ओली, प्रचण्ड र शेरबहादुर देउवाको दिमागमा यो बुद्धि छिरे एक दुई वर्षमै केबुलकार बनाउन सुरु गर्न सकिने बताए । ‘उनीहरूको दिमागमा यो योजना पर्यो भने सरकारको लिपी र योजनामा आउँछ । अहिले सरकारले पर्यटन वर्ष घोषणा गरेको छ । यसका लागि हामीले विदेशबाट आउने पर्यटकसँग एक डलर उठाए पनि अर्बौं पैसा उठाउन सक्छौँ । यहाँ त पैसाको समस्या होइन, इमानदारिता, नैतिकता र दृष्टिकोणको हो । सरकारले हिमाली क्षेत्रलाई प्राथमिकता राखेर काम गरेको खण्डमा नेपालको स्वरूप नै फेरिन्छ ।’ 

संसारका लागि नेपाल मणी भएको भन्दै उनले संसारभरी चम्किरहेको बताए । तर, यो मणीलाई नेपालीले प्रयोग गर्न नजानेको उनको भनाइ छ । ‘नेपालको हिमाली क्षेत्रमा पैसा उम्रिन्छ । यसको अर्थ तराई र पहाडमा पैसा उमिँ्रदैन भन्ने होइन । यहाँ उम्रेको पैसा विदेशमा जान्छ । मनाङ, मुस्ताङ र सोलुमा संसारबाट पैसा झरेको छ । हामीले यसलाई अझै चिन्न सकेका छैनौँ । दार्चुला चीनको मानसरोवर नजिक रहेको ठाउँ हो । हामीले अहिलेको प्रविधिलाई प्रयोग गर्न सकेको अवस्थामा मानसरोवर दार्चुलास्थिति लिमीको डाँडाबाटै अवलोकन गर्न सकिन्छ । चीनले ६०, ६५ किलोमिटरको पुल बनाउन सक्छ, समुन्द्र नै फर्काइ दिनसक्छ । भारतले सबै ठाउँमा रेल कुदाउन सक्छ भने हामीले ताप्लेजुङदेखि दार्चुलासम्म केबुलकार चलाउन किन सक्दैनौँ ? केसीले प्रश्न गरे ।

यसरी हुन्छ योजना सार्थक

उनले योजना सार्थक बनाउन केही उपायहरू पनि सुनाए । अभियान्ता केसीका अनुसार हिमालयन रेन्जका शेर्पा, भोटे, मिहिनेती पहाडे र मधेसीहरू सबै यसका लागि एकजुट हुन जरुरी छ । सबै एकजुट भएर प्रविधि, कला, सीप र पुँजीलाई परिचालन गर्दै अघि बढ्न सकिने उनको विश्वास छ । ‘यसका लागि मैले विभिन्न निकायसँग छलफल र परामर्श पनि गर्दै आएको छु । सबैबाट सकारात्म प्रतिक्रिया आइरहेको छ । साथै सरकार, सामुदायिक, निजी क्षेत्रलाई पनि यसमा साथ दिन आग्रह गर्दै आएको छु’, गण्डकी प्रदेशले अवधारणाप्रति पूर्ण समर्थन जनाएको भन्दै उनले केन्द्र सरकारसँग पनि कुरा गर्ने बताए ।

समृद्ध नेपाल सुखी नेपालीको सपना देखेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको एउटै आग्रह छ– ‘तपाईंकै जीवनकाल वा कार्यकालमा हिमालय रेन्जमा केबुलकार उठाउने मेरो योजनामा सारथी बन्नुस् । हिमालय रेन्जमा केबुलकार सञ्चालन गर्न सके मात्र देशले मुहार फेर्छ ।’

केबुलकारबारे यस्तो छ पोखरा घोषणपत्र

पोखरा पर्यटन परिषद्को आयोजना तथा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको सहकार्यमा २०७५ माघ २६ गते यो योजना अघिबढाउने उद्देश्य र अवधारणसहित घोषणापत्र जारी भएकोे छ । 

जसमा “समृद्ध नेपालको सुनौलो सम्भावना अपार ः लालुफेरा, ताप्लेजुङ –दार्चुला ग्रेट हिमालयन केबुलकार” नामक राष्ट्रिय  कार्यशाला गोष्ठीमा बृहत् छलफल र अन्तरक्रियापछि “पोखरा घोषणा २०७५” जारी गरिएको उल्लेख छ । घोषणापत्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री, गण्डकी प्रदेशका सभामुख, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पर्यटन क्षेत्रको विशिष्ट व्यक्तित्वले हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप