केन्द्रीय संस्करण

अम्मलतन्त्र, मृत्युको मन्त्र ! (व्यङ्ग्य)

person explore access_timeफागुन ११, २०७५ chat_bubble_outline0

सारमा चलेका विभिन्न तन्त्रमध्ये ‘अम्बलतन्त्र’ सबैभन्दा विवाद, विशाद र अभिशापबाट ग्रस्त पाङ्दुरे दुराचार हो । हामी भुरा हुँदा अम्मल र अमल्चीको बारे यस्तो कवितात्मक सूक्ति सुनेका थियौँ । 
           

  अम्मली अम्मलकै गरी खोज ।
जहीँ तहीँ धरना दिई बस्छ ।।
पाइएन यदि अम्मल छैन ।
अम्मली दूर मरण हुँदैन ।।

        

तमाम अमल्ची जमातमाथि गरिएको यो सटिक प्रहार ज्यादै घतलाग्दो देखिन्छ । त्यसैले त अम्बलको दुव्र्यसनमा फसेकाहरू त्यसको सेवन गर्न कम्बलै बेच्न तयार हुन्छन् । कसौँडी, ताप्के र गरगहनासमेत मास्न फिक्री नमान्ने यी मोरा ढुटे यसको दलदलमा फसेर दासै बनी अम्मली मनका आदेश तामेल गरिहाल्छन् बा ? यसैले गर्दा घरायसी हिंसाका पाशविक भोगाइको मारमा कैयौँ महिला, बालबालिकाहरू समेत पिसिएका छन् । त्यही कारण त यो अम्मलतन्त्रले सतिएकाहरू जिउँदो मुर्दाको सिउर ढल्काउन पाएका । 

‘अम्मल’ यो शब्द अरबको मरुभूमिबाट आएको पाहुना नाम पद रहेछ । जसभित्र सुर्ती, गाँजा, अफिम, चरेस, हिरोइन, मादक पदार्थहरू पर्दछन् । यिनीहरूको नशा जब नसा नसामा सञ्चार हुन्छ तब मान्छे मोरो नाकको पोरो फुलाएर आवेग, संवेग, अर्धहोस र बेहोसमा छँटाउन थाल्छ । अम्मली, अमल्ची, नशाबाज र अमलीमा दरिई विशेषणको फुर्कोमा रङ्गिने क्रम सुरु हुन्छ । जसअनुसार जँड्याहा, रक्सिबाज, गँजडी, तमाखे, चुरोटे, धतुरे, मदवाला वा मत्वाली, ट्वाँके, खोयाबिर्के, ट्यापे अनगिन्ती उपाधिमा तिरस्कृत, बहिष्कृत र अपहेलित हुन पुग्छ । हे भगवान् ! हाम्रा उखाने बूढाहरूले पनि अम्मली जमातलाई मजैले खेदेका रहेछन् । ल हेर्नोस् त यी उखानले हामी अमल्चीको कति खैरो खनेका र उँडाएका ?— ‘अम्मलीको मुटु सधैँ ढुलुमुलु, अम्मलीको मुटु सुरो न बलियो, अम्मलीले नगर्ने कुरा र कागले नखाने कुरा केही छैन’ यसरी फुट्या आँखाले पनि देख्न नसक्ने हामी अम्मली भने कम्बल ओढेर वा बेचेर भएर पनि अम्मल चैँ सेवन गर्नै पर्ने कस्तो असंयमित, चञ्चल र अमङ्गल प्राणी बनियो त बा ! 

ल, हेर्नोस् है हामी नशापन्थीहरूलाई अझ सीमान्तकृत बनाएर भित्तामै पुर्याउने गरी उखानशिरोमणि फणि फुलाएर यसरी पर्गेल्छन् सुन्दैमा बोर लाग्छ यार– ‘गँजडीको गाना, अफिम्चीको ताल, राँडीको गहना, काली बिरालीको साल । जँड्याः मान्छ, ढँड्याः माटो । रक्सीको सुरमा, जङ्गेका घोडा पनि किन्छ । रक्सी खाएपछि डर न त्रास ? रक्सी खानेको खुट्टा लुलो, गाँजा खानेको आँखा ठूलो । रक्सीको मातले एक रात, बैँसको मातले जिन्दगी बरबाद । रक्सीबेगरको खाजा, ताल बेगरको बाजा । रक्सी भित्र, कुरा बाहिर । रक्सी निल्यो, सत्य उकेल्यो । रक्सी र जुवा, चाख्यो कि पल्क्यो । प्राणप्यारी प्रेमिकाभन्दा निकटकी रक्सीलाई बोक्सी, डाइना, भूतप्रेत सम्झिएर यी उखाने पण्डितहरूले हामी अम्मलीका हुललाई त सहनै नसक्ने दुर्वचन पो पस्केछन् गाँठे आँठेका कालहरूले ! 

 जो पिउँछ नशा, बाजा नबजाई आउँछ दशा । अफिमको नशा कि अमिरलाई कि फकिरलाई । तमाखु खाने राजा, सिगरेट खाने चोर, खैनी खाने चुतिया थुकी थुकी मोर् भनेर कति नमजा सराप दिएका ? तमाखुको मान, बरुवालको (लेकाली भाले भेडा) कान, उल्लूको कुरा, चिउराको पूरा । यति उछित्तो काट्दा पनि हामी मोरा दुव्र्यसनीको कान अरूका कुरै नसुनी मानित भएर बस्न खोज्छ बा ? कुकुरको पुच्छरमै गयो हाम्रो बुद्धि त ! अब त विद्या कसम खान्न यी रोगका मसलाहरू भनी एक छिन सनतकुमार र ऋषि नै बन्न खोज्यो तलतलले तल पारी हाल्छ । अनि त छिनभरमै मेनका, रम्भा र तिलोत्तमा भएर नाचिहाल्छन् नशाका लोभलाग्दा तरुनी । हे हरि ! कसै गरे पनि छुट्न नसक्ने भो यो नशाको  हर्हर । अनि छिटो छिटो मडुवा सुर्ती हातमा राखेर ढुङ्गोभन्दा नि कडा चुना मिच्न थालिहाल्छौँ । सुर्तीको पालिस चुना, भतेरको पालिस दुना, भनेर मुटु छेड्ने गरी उँडाउँछन् यी मोरा सदाचारी भनाउँदा साइँदुवाहरूले  ।

चिफ गेस्टको चियरमा बसेर हाकाहाकी सुर्ती माड्न कस्सिने तल्तले  मन्त्रीले एक समारोहमा विरोधको स्वर सुनेर जीवनसित नै झन्नै रेस्ट लिएका भनी एक अम्मली साथीले लामै कथा सुनाएथे । एक मन्त्रीले त तलतल लागेर शौच गर्न भनी बाथरुम नै भद्रगोल मच्चाएको उपकथा पनि नसुनेको भने होइन ।  

नेपालमा कुल जनसङ्ख्याको छत्तीस प्रतिशत सुर्तीजन्य पदार्थको सेवनमा अभ्यस्त रहेछौँ । महिला र पुरुषको सङ्ख्या हारहारी प्रतिस्पर्धामै छ । झन्नै एक करोड जमात विभिन्न थरीका अम्मलका दास बनिसकेछौँ । त्यसैले त बर्सेनि पन्ध्र हजार नेपाली अम्मली खोकी र स्वाँ—स्वाँमा सास्ती खाएर ख्वाँङ्–ख्वाँङ् हँ– हँ गर्दै डल्ले बाजाको कर्कस धुनमा  पिण्डै पिण्डको खाजा खाई यमपुरीको यात्रा भर्छौं ? विश्व जनसङ्ख्यामा झन्नै चालिस करोड यसैको सेवनले असमयमै जिब्रो टोक्न पर्ने बाध्यता रहेछ तथ्याङ्कशास्त्रीहरूको खोजमा । बट्टा, प्याकेट, र खोलको बाहिर चित्रसहितको चेतावनी पस्किँदा पनि हामी मोरा अमल्ची टसको मस नभई कुइरी मण्डल बनाउँछौँ सू फू सू फू गरेर ।

पान र सुर्तीका सोखीले जता पायो त्यतै थुक खकार पिच्च गरेर ङिच्च बिरूप दाँत देखाउँदै हाँस्छौँ गाँठे ? हाकाहाकी, मुटु, फोक्सो, आन्द्रा, कलेजो, किड्नीहरूमा क्यान्सरलाई निम्ता गरेर श्वासप्रश्वासमा आँधीबेरी ल्याउने हामी अटेरी आँधा किन यी नानाथरी अम्मलका बाँधा भएका ? ठूला पद र दायित्व बोकेका शिक्षक, प्राध्यापक, डक्टर, नेता, मन्त्री अभिनेतादेखि कयौँ अभियन्तासम्म चुरोट, बिँडी, सिगार, खैनी, सुर्ती, तमाखु र नरम लागू पदार्थदेखि अति गरम ट्याब्लेट र सुइको समेत बुइ चढ्ने खराब आदत छ । त्यसैले त जवानीमै खुइ ! खुइ ! गर्दै दम  तथा खोकीमा घर मात्र नभएर बस्ती नै डिस्टर्ब गरी परिवारदेखि समाजसम्म अभिशाप बनेर बलै सास फेरिरहेका छौँ कतिले । 

सानो छँदा आमा, बा, दाजु, गुरुहरूको आँखा छली कर्सा, बुइँगल, बाथरुम, क्यान्टिन, बन, अदिमा अम्मलको अभ्यास कक्षा चलाएर जवान भएछि मैमत्त हुँदै  कैयौँ मानिस चर्को अम्मलीमा दरिन पुग्छ । साथी सङ्गातिको हुट्हुटी, ठूलाको नक्कल, रवाफिलो बनिन्छ भन्ने आफ्नै डेढ अक्कलले सक्कल चेहरा बिगारेर हिँड्ने ब्रोङकाइटिस र टीबीका आहारा अमल्ची जमातलाई धिक्कार छ ! यो ल्याकत दुव्र्यसनकै सहोदर भाइ हो । यसैले आजैदेखि यो मन्त्र जपौँ– धूमपानले चाँडै समाप्त पार्छ मान्छेको आयु, यो हो दुर्गन्धित अपान वायु ।  सुर्ती मान्छेको फुर्ति निखार्ने कालकूट हो !

रक्सी बोक्सी वा प्रोक्सी हो ! जाँड समाजको भाँड र गलगाँड हो ! कोकन गोमन र करेँतको अर्को औतार हो ! चरेस जिन्दगी हरेस बनाउने मन्द विष ! त्यसैले सबै अमल्ची मिलेर भनौँ– सबै खाले अम्मललाई कम्बल, सिरक, ब्याङ्केट नओडाऔँ ! नसानसामा पसेर शरीर, मन र मगजमा नशा थपी उल्कापात गर्ने हर अम्बललाई नाङ्गेझार पारेर खराब अम्बललाई समाधिस्थ गरौँ ! नेपालभरका अम्बलीको जुलुस गरेर अम्बलतन्त्रविरुद्ध जेहाद छोडौँ । जय अम्मलहीन जीवन ! अम्मलवाद– मुर्दावाद ! अम्बलतन्त्र— मास्छौँ– मास्छौँ ! अभिशाप र असमयमै नरकबास गराउने र सधैँ समाजमा उपहास ! बिलाप थोपर्ने हुँदा यो मुर्दाको तन्त्रमा डल्लिएको अम्मलपन्थबाट बनौँ होसियार ! 
                                          

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...