शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थानीय अझै त्रसित : यस्तो देखियो नख्खु बम बिस्फोट स्थलको दृश्य (फोटो/भिडियो)

शनिबार, ११ फागुन २०७५, १९ : ५४
शनिबार, ११ फागुन २०७५

ललितपुरको नख्खु र भैसेपाटी जोड्ने पुलमै छ अस्थायी पुलिस बिट । पुलिस बिटबाट झण्डै १ सय मिटरको हाराहारीमा छ ऐनसेलको मुख्य कार्यालय । शुक्रबार राती ८ बजे सरकारको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट भयो । 

प्रेसर कुकर बम विस्फोट भएको भनिएपनि स्थानीय त्यसलाई पत्याउन तयार छैनन् । उनीहरु त्यसलाई कुकर बमभन्दा पनि शक्तिशाली बम भएको बताउँछन् । प्रत्यदर्शीको तर्क छ, ‘बमको प्रभाव धेरै टाढासम्म पुगेको छ, धन्न ठूलो मानवीय क्षती हुन पाएन ।’ यद्यपी बम विस्फोटबाट एकजनाले ज्यान गुमाउन पुगे भने सामान्य घाइते दुई जनाको उपचार भइरहेको छ । 

बम बिस्फोटबाट एनसेल कार्यालयको गेट छेउको पिच सडकमा सानो खाल्डो परेको छ भने सडक पारी रहेका घरहरुको अधिकांश सिसा फुटेको छ ।  सडक पोलमा रहेका इन्टरनेट सेवा प्रदायकहरुको तार पनि जलेको छ । एनसेल कार्यालयको पर्खालको भित्तामा सानाठूला प्वाल परेको छ । बिस्फोट भएको छेउमा गम्भिर घाइते भएका सिंहबहादुर गुरुङको शरिरबाट बगेको रगत अझैँ देखिन्छ । 

बम बिस्फोटको भोलीपल्ट शनिवार त्यसआसपासका पसलका सटर बन्द थिए । कोही झ्यालबाट फुटेका सिसा हटाउने काम गरिरहेका थिए भने सडकमा ब्रुमरले सिसाका टुक्रा र धुलो सफाईको काम गरिरहेको थियो । एनसेल कार्यालय हातामा सशस्त्र र जनपथ पुलिस परिचालन गरिएको थियो भने कार्यालयमा अघिल्लो दिनसम्म काम गरेका निजी सुरक्षा गार्डको परिवर्तन गरेर नयाँ ल्याइएको थियो । 

बम बिस्फोट भएको स्थानमा दिनभरी नै चहलपहल भइरहेको थियो । कसरी बम पड्कियो, कस्तो क्षति भयो भनेर अवलोकन गर्न सर्वसाधारणको भीड लागिरहेको थियो । 

स्थानीय अझैँ त्रासमा 
राती ठूलो आवाजका साथ बम बिस्फोट भएपछि फेरी बम पड्किने हो कि भनेर त्यसआसपासका स्थानीय सुत्न सकेनन् । रातभरी डर लागिरहेकोले सुत्न नसकेको र बमको आवाजले आफ्नो कान अझैँ दुखिरहेको बताए । 

बम बिस्फोट भएको स्थानभन्दा केही पर किराना पसल सञ्चालन गर्दै आएका सुरेन्द्र  सत्यालले अझैँ पनि क्रास हट्न नसकेको बताए । बम बिस्फोटपछि आफ्नै घरमा केही पड्किएको भनेर धेरैजना आत्तिएको उनले बताए । बम बिस्फोट भएको स्थानभन्दा केही पर रहेको उनको पसलको सामान राख्ने ¥याकको सिसा फुटेको छ । 

एनसेल कार्यालयको सडक पारी रहेको बोर्सा क्याफे रहेको घरको ६० प्रतिशत भन्दा बढी सिसा फुटेको छ । बम बिस्फोटका बेला क्याफेमा खाजा खाइरहेका ग्राहकको हातमा सामान्य चोट लागेको क्याफे सञ्चालकले बताए । झ्यालबाट फुटेका सिसा हटाउँदै गरेका उनले झण्डै डेढ लाख हाराहारीको सिसा फुटेको बताए । 

सोही स्थानमा टेलरिङ पसल सञ्चालक मिनबहादुर परियार पनि बम बिस्फोट भएको समय पसलको सटर बन्द गरेर भित्र काम गरिरहेका थिए । एक्कासी बम बिस्फोट भएपछि उनी पनि आत्तिए । त्यति ठूलो आवाज उनले अहिलेसम्म सुनेका थिएन । अझैँ बम पड्किन्छ कि भनेर रातभरी सबै त्रसित भएको बताउँदै उनले सर्वसाधारण जनतालाई हिँड्न पनि गाह्रो भएको बताए । 

बम बिस्फोटको घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन भने अनुसन्धानका लागि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको बताएको छ । 

हेर्नुहोस भिडियो :-

यो पनि हेर्नुहोस :-

यस्तो छ अस्पतालको शैय्याबाट नख्खु बम बिस्फोटकी घाइते प्रतिक्षाको बयान (भिडियो)

 

बम बिस्फोटको भोलिपल्ट यस्तो देखियो एनसेल मुख्यालय परिसर (फोटोफिचर)

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप