बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनसेल बम काण्डमा विप्लवको हात : गृहमन्त्री

आइतबार, १२ फागुन २०७५, १४ : ३६
आइतबार, १२ फागुन २०७५

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले एनसेलको मुख्यालय तथा टावरहरुमा भएको बम हमला तथा आगजनीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हात रहेको जानकारी दिएका छन् ।

आइतबार राज्य व्यवस्था समितिको बैठकमा एनसेल मुख्यालय तथा टावरहरुमाथि भएको आक्रमणको जानकारी दिँदै सो कुरा बताएका हुन् ।

विगतमा बम विस्फोटको शृङ्खलामा विप्लव नेतृत्वकै पार्टीको हात रहेको जिकिर गर्दै गृहमन्त्री थापाले भने, ‘यो घटना पनि विप्लव तत्त्वले नै घटना घटाएको सूचना आएको छ । विगतमा बम विस्फोटको शृङ्खला सोही पार्टीले घटाउँदै आएको थियो । समानान्तर सत्ताको अभ्यासका लागि उनीहरुले यस्तो हर्कत गर्दै आएका छन् ।’

गृहमन्त्री थापाले १ नम्बर प्रदेशबाहेक सबै प्रदेशमा एनसेलको टावरमाथि आक्रमण भएको बताए । ‘२०–२१ जिल्लामा टावरमाथि आक्रमण भएका छन्,’ उनले भने ।

नख्खु बम काण्डका अभियुक्तहरु पहिचान भइरहेको बताउँदै उनले अभियुक्तहरुलाई चाँडै सार्वजनिक गर्ने प्रतिबद्धता जनाए । उनले यस घटनामा १६ जना पक्राउ परेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी पनि दिए ।

उनले हाल राज्यका लागि तीन तत्व चुनौति बनेको जानकारी दिए । यसमा पृथकतावादी तत्व, विप्लव जस्ता सरकार र सत्ता विरोधी तत्व र सामाजिक आपराधिक तत्वहरु रहेको बताए ।

गृहमन्त्री थापाले विप्लव समूहलाई यसअघि नियन्त्रण गरिए पनि उन्मुक्ति दिँदा उनीहरु थप हौसिएको बताए । ‘सरकारले छुट्टै कार्ययोजना ल्याएर यसलाई नियन्त्रण गर्छ,’ उनले भने ।

आजको बैठकमा नागरिकता विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको थियो ।

बैठकमा गृहमन्त्री थापासहित सचिव प्रेम कुमार राई उपस्थिति थिए ।

तर, काँग्रेस सांसद देवेन्द्र राज कँडेलले शुरुवातमा नै एनसेल बम काण्डबारे गृहमन्त्रीले जानकारी गराउन पर्ने माग गरेका थिए ।

गृहमन्त्रीले यसबारे बैठकको अन्त्यमा जानकारी गराउने भनेपछि काँग्रेसका तीन सांसदले बैठक नै बहिस्कार गरेका थिए ।

यो पनि

प्रदेश ७ ‘सुदुरपश्चिम’ बनेको गृहमन्त्रीलाई थाहै छैन !

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप