शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हेलिकप्टर दुर्घटनाका मृतकलाई श्रद्धाञ्जलि दिन राष्ट्रपति टुँडिखेल जाने

शुक्रबार, १७ फागुन २०७५, ०८ : ३६
शुक्रबार, १७ फागुन २०७५

काठमाडौँ–ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई आज सामूहिक रुपमा श्रद्धाञ्जलि दिन टुँडिखेलमा कार्यक्रम तय भएको छ ।  अहिले ८ बजेदेखि श्रद्धाञ्जलीको कार्यक्रम सुरु भएको छ । 

दुर्घटनामा निधन भएका सबैका शव बिहीबार अपराह्न काठमाडौँ ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो ।  श्रद्धाञ्जलिको कार्यक्रम बिहीबार नै हुने भनिएपनि शव परीक्षणको जटिलताका कारण श्रद्धाञ्जलि कार्यक्रम आजको लागि सारिएको थियो । 

श्रद्धाञ्जलिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्ति पुग्ने कार्यक्रम तय छ ।  श्रद्धाञ्जलिपछि शव आफन्तजनलाई जिम्मा दिइने बताइएको छ । 

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो । 

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप