केन्द्रीय संस्करण
यात्रा–संस्मरण

यी धुवाँ तिम्रै जलिरहेको चिताको हो !

person explore access_timeफागुन १८, २०७५ chat_bubble_outline1
अशोक सिलवाल

रातोपाटी

बिहानको १० बजिसके पनि काठमाडौँ अझै तातेको थिएन । दुई दिनअघि मात्र फूलचोकी र चन्द्रागिरीमा हिउँ परेको थियो । 

क्यानाडाको राजधानी ओटावाबाट २ हजार किलोमिटरको दुरीमा रहेको फोर्ट फ्रयान्सिसबाट आएको ब्रायन भन्दै थियो, ‘जो हिजो संसारकै सबभन्दा चीसो ठाउँ थियो ।’ 

‘माइनस पचास’, आइफोन स्क्रिनमा वेदर रिडर देखाउँदै उसले भन्यो ।

‘नेपाल । नेपालको अंग्रेजी स्पेलिङ एन इ पि ए एल । अर्थात नेभर (एन) इन्डिङ (इ) पिस (पि) एन्ड (ए)  लभ (एल) । अर्थात ल्यान्ड अफ नेभर इन्डिङ पिस एन्ड लभ । अर्थात नेपाल नामैले एक अन्तहीन शान्ति र प्रेमको देश हो । बुद्धको देश हो’, स्वयम्भु पुग्नुअघि नै मैले पेशागत धर्म निर्वाह गर्दै ब्रायनलाई भनें, ‘मानिसलाई लाग्छ, नेपाल धर्महरुको देश हो । तर, खासमा यो त दर्शन, संस्कृति र परम्पराको देश हो । धर्म त त्यही दर्शन, संस्कृति र परम्पराको एउटा अंगमात्र ।’ 

‘यहाँ असी प्रतिशतभन्दा बढी जनसंख्या हिन्दुमार्गी छन् भने दश प्रतिशत आसपास बुद्धमार्गी । त्यसबाहेक मुश्लिम, क्रिश्चियन र अरु पनि छन्’, मैले थपें, ‘तर, सबैभन्दा राम्रो के भने यहाँ सद्भाव छ ।’ 

‘सद्भाव किन छ भने, यहाँ धर्म भनेको कट्टरता होइन । एउटै ढुँगामा यहाँ बुद्ध र शिवका प्रतिरुप पाइन्छन्’, म भन्दै थिएँ ‘र, मलाई लाग्छ, धर्म भनेको कलासहितको दर्शन हो ।’

‘ती सबै धर्म नामका दर्शनलाई विवेकको मालाले जोडेको छ’, ब्रायनले भन्यो ।

मैले दिनभर घुमाउनु पर्ने ‘गेष्ट’लाई बुद्धको कुरा गरिरहँदा उसले हिन्दु दर्शनको कुरा थप्यो, र भन्यो, ‘हिन्दु धर्मले आशक्तिबाट मुक्तिको कुरा गरेको छ ।’

‘बुद्धले पनि त त्यही कुरा गरेका छन्’, मैले भनें ।

‘आशक्तिबाट मुक्ति भनेको परिवार वा वातावरणबाट टाढा हुनु होइन, त्यसको प्रभावबाट मुक्त हुनु हो’, उसले भन्यो ।

हामी स्वयम्भुको स्तुपा पुग्यौं । मैले स्तुपाभित्र एउटा नीलो ब्रम्हान्ड भएको कल्पना गर भन्दै ब्रायनलाई भनें, ‘एकछिन आँखा चिम्ल र जीवनका दैनिकीहरु सबै बिर्सिदेऊ । र, सम्झ सागरभन्दा गहिरो र आकाशभन्दा नीलो यो सारा ब्रम्हाण्ड तिम्रो हो । अध्यात्मको यो ब्रम्हाण्डमा तिमी आफूलाई विस्तारै हल्का बनाऊ । उड । बग ।’ब्रायन आँखा चिम्लेर लामो–लामो श्वास लिंदै फाल्दै थियो । 
निकै बेरपछि उसले आँखा खोल्यो । र, धन्यवाद दिंदै भन्यो, ‘निकै राम्रो दिन ।’ 

आकाश नखुलेको धमिलो काठमाडौं पनि उसलाई निकै ‘क्लियर’ लाग्यो रे । ‘हावा कत्ति मीठो !’ ऊ भन्दै थियो । 

‘मैले एक दिन एउटीलाई यस्तै कुरा गरेको थिएँ’, मैले ब्रायनसँग भने, ‘तर उसले मलाई चेतावनी दिई ।’

‘तिमी मलाई हिप्नोटाइज गर्दै छौ’, उसले भनी ।

‘होइन, म तिमीलाई स्प्रिच्युलाइज्ड गर्ने कोशिस गर्दैछु’, मैले भनें ।

तर, ऊ मेरो कुरामा सहमत भइन । त्यसपछि मैले जीवन र जगतबारे थप केही भनिनँ । 

‘तिमीसँग ऊ डराई’, ब्रायनले भन्यो, ‘वास्तवमा उसलाई आफैप्रति विश्वास थिएन । जहाँ विश्वास हुँदैन, त्यहाँ डर हुन्छ । त्यही डरले ऊ आफैसँग भाग्दै थिई । र, तिमीसँग पनि भाग्न चाही । प्रेमको उल्टो घुणा होइन, डर हो ।’

ब्रायनको चेतना र बुझाइको ‘लेभल’ देखेर म ऊसँग निकै प्रभावितमात्र भइन, उसको जीवनकथा समेत सुन्न चाहें । 

‘के तिमी विश्वास गर्न सक्छौ ? एउटै आमा र एउटै बाबुका बाह्र सन्तानमध्ये म एक हुँ’,  स्वयम्भुको भ-याङ ओर्लदै गर्दा उसले भन्यो । 

मैले प्रत्युत्तरमा सबभन्दा पहिले हात मिलाएँ । अनि भनें, ‘बरु ! तिमी विश्वास गर्दैनौ होला । म पनि त्यस्तै बाह्र सन्तानमध्येको एक हुँ । एक जना दिदी सानैमा, म जन्मनुअघि नै बित्नु भएकोले सानैदेखि मलाई ‘हामी एघारजना’ जस्तो लाग्थ्यो । एकजना दाई केही समयअघि बित्नुभयो । तैपनि हामी अहिले पनि एघारै जना नै छौं जस्तो लाग्छ । र, म सबभन्दा कान्छो हुँ ।’

‘सबभन्दा जेठो ७२ बर्ष । र, सबभन्दा कान्छो ५२ । बीचतिरको म ६३ बर्ष भएँ’, छाउनीस्थित सैनिक अस्पताल कट्दानकट्दै उसले भन्यो, ‘हामीमध्ये केहीका सामान्य शल्यक्रियाहरु नभएका होइनन् तर हामी बाहैं जना अहिलेसम्म तन्दुरुस्त छौं । यो किन भयो भने हाम्रोमा स्वास्थ्य सेवा निशुल्क छ । र, निकै उपल्लो दर्जाको छ ।’ 

क्षेत्रफलको हिसाबले विश्वकै दोस्रो ठुलो देश क्यानडाको जनसंख्या ४ करोड पनि छैन ।

ब्रायनका तीन छोरीमध्ये दुई छोरी अविवाहित छन् रे । विवाहित जेठीको तीन सन्तान भइसके पनि अझैं बच्चा जन्माउन चाहन्छे रे । ज्वाईं पनि बच्चा भनेपछि हुरुक्कै हुन्छन् रे । उसले भन्यो, ‘क्यानडामा राम्रो के छ भने बच्चाको नाममा अठार बर्ष पुग्नु अघिसम्म हरेक महिना ५ सय डलर आउँछ । र, सुत्केरी भएको एक बर्षसम्म बिदा र प्रत्येक साता ५ सय डलर पनि सरकारले उपलब्ध गराउँछ ।’

उसले उसका ३ छोरीहरुको नाममा प्राप्त रकमले उसकै शब्दमा ‘आलिशान बंगलै’ बनायो रे ।

‘मेरो शिक्षादीक्षा र हुकाई राम्रै थियो तर १६ बषै नपुग्दै ड्रगिस्ट भइसकेको थिएँ’, उसले आफ्नो बिगत सम्झिदै भन्यो, ‘चारपटक सुधारगृह गएँ । २७ बर्षको उमेरमा मैले त्यसबाट बल्लबल्ल सधैंका लागि उन्मुक्ति पाएँ । त्यसपछि युनिभर्सिटी गएँ । राम्ररी पढें ।’

‘विषय के थियो ?’, मैले सोधें । 

‘मनी’, उसले भन्यो । 

‘भन्नाले ?’, म स्पस्ट हुन खोजें । 

‘तिमीलाई एकाउन्टेन्सी थाहा छ ? हो, मैले त्यही पढें । र, ग्रयाजुएसनपछि विभिन्न प्रतिष्ठित कम्पनीहरुमा एकाउन्टेन्टको नोकरी सुरु गरें । तर, दुई बर्षको बीचमा मैले ६ वटा काम छोडें । मलाई पैसाको हिसाबमात्र राख्ने काम मन परेन’, उसले आफ्नो टर्निङ सुनायो, ‘त्यसपछि सुरु गरें, क्वाइन हालेर कोक दिने मेसिनको काम । त्यसको मालिक र मजदुर दुवै म नै थिएँ । त्यसमा मलाई निकै मजा आयो । मैले एउटाबाट सुरु गरेर त्यस्ता मेसिन थुप्रै ठाउँमा इन्स्टल गरें । त्यही काम तन्मयले १६ बर्षसम्म गरें ।’

पछिल्ला केही बर्षदेखि ऊ घर बनाउने र बेच्ने काम गर्दै रहेछ । 

‘केही घर भाडामा पनि दिएको छु । आवश्यकताअनुसार साना, मझौला र फुटबल ग्राउन्ड साइजको क्षेत्रफल ओगट्ने घर पनि बनाएँ’, उसले भन्यो, ‘म कामलाई प्रेम गर्छु । त्यसैले काम गर्दा मलाई अलौकिक आनन्द प्राप्त हुन्छ । घर बनाउने र बेच्ने काम गर्दा पनि म त्यस्तै आनन्दित छु । ती घरहरुले अरुलाई खुशी दिन्छ । र, तिनको खुशीमा म झन् खुशी हुन्छु ।’

‘केही बर्षदेखि मैले शारीरिक  व्यायाम गर्न थालें । तर, त्यसको केही समयपछि मलाई त्यतिले नपुगेको अनुभव भयो । आत्माले सायद केही खोज्यो’, उसले थप्यो, ‘मैले योगा सुरु गरें । अहिले त म योगा शिक्षकसमेत भइसकेको छु । शिक्षकको रुपमा म एकैपटक सबै कोर्ष सिकाउँदिन । मेरो शैली अलि भिन्दै छ । जस्तो: सुरुमा बच्चालाई दुध दिनुपर्छ । अलि हुर्केपछि शाकाहारी भोजन त्यसपछि बल्ल माछामासु ।’
योगा शिक्षक भइसकेपछि अझ विस्तृतमा योगा सिक्न अघिल्लो बर्ष भारतको ऋषिकेश आएको रहेछ । यस पटक पनि उसले यो यात्रा ऋषिकेशकै लागि सुरु गरेको रहेछ । तर, यसै मेसोमा नजिकको देश नेपाल पनि किन नजाने ? नेपालमै रहेको एभरेस्ट रिजन पनि किन नजाने ? भनेर ऊ नेपाल आइपुगेको रहेछ ।

‘पाँच बर्ष पहिले श्रीमतीले मलाई छोडिदिई । ऊ एउटा डाक्टरसँग गई । तर, मलाई केही छैन’, टेकुको पुल क्रस गरिरहँदा उसले भन्यो, ‘हामीले पच्चीस बर्षको दाम्पत्य बितायौं । तर, त्यो एउटा कुनै दिन थिएन, जहाँ हामीले एकअर्कालाई साँच्चिकै प्रेम गरेका थियौं । साँच्चै त्यो एउटा प्राविधिक सम्बन्धमात्र थियो । न राम्रो, न नराम्रो । हाम्रो सम्बन्ध त्यस्तो थियो । आलु सधैं आलु नै हुन्छ र केरा सधैं केरा । हामी चाहेर पनि बदलिन सकेनौं ।’  

‘ऊ बाहिरी संसारकी सौखिन थिई भने म भित्री संसारमा रमाउने खालको । सायद त्यही कारण थियो’, छुट्टिनुको कारण खोल्दै हँसिलो अनुहार बनाएर उसले भन्यो, ‘तर, ऊसँगको पच्चीस बर्षमा मैले जीवनकै

सबैभन्दा सुन्दर उपहार पाएँ । ती हाम्रा तीन छोरीहरु हुन् ।’

केही दिनअघि छोरीहरु उसलाई भेट्न उसको घर आए रे । 

‘मकहाँ आउन तिमीहरुले पहिल्यै मलाई इन्फर्म गर्नुपर्थ्यो । मेरा केही नियम छन्’, उसले छोरीहरुलाई भन्यो रे । 

‘होइन, यु आर भेरी इजी फादर । हामी तपाईंकहाँ तपाईंलाई खबर नगरी जतिबेला पनि आउन सक्छौं । तपाईं हाम्रो मनले जितेको ड्याडी हो’, उनीहरुले भने रे ।

‘मलाई त्योभन्दा ठूलो खुशी के हुनसक्छ’, सानेपा नपुग्दै छोरीहरुलाई सम्झेर उसले भन्यो । 

कलाको शहर पाटनमा उसले जति समय बितायो, त्योभन्दा बढी भन्यो ‘वाउ !’ प्रशंसामा एक्लै बोलिरहेको थियो ऊ ।

पाटनको सुन्धारा पुग्दा मैले उसलाई सोधें, ‘भविष्यको तिम्रा योजना के हो ? र, मृत्युबारे तिमी के सोच्छौ ?’ 

‘म अझै पाँच बर्ष यही काम गर्छु जे गरिरहेको छु । त्यसपछि सायद अर्को पाँच बर्ष म कुनै देशमा भोलेन्टियर हुन्छ’, पशुपति नजिकिदै गर्दा ब्रायनले भन्यो, ‘मलाई मृत्युसँग डर नलाग्ने होइन । तर, म चाहन्छु, मेरो मृत्यु मैले कम्तीमा एक साताअगाडि थाहा पाउँ ताकि मृत्युलाई स्वागत गर्न सकुँ । स्वागतको तयारी गर्न सकुँ । स्वागतको लागि तयार रहन सकुँ ।’

हामी पशुपतिनाथ पुग्यौं । अन्त्येस्टिहरु चलिरहेका थिए । वायुमन्डल चिताका धुवाँले भरिएको थियो । 
ब्रायन भावुक भयो । 

‘हेर त मृत्यु तिम्रै अगाडि छ । त्यो अन्तेष्टी हाम्रो पनि हो । तिमी बोध गर, यहाँ तिम्रो मृत्युको । यी धुवाँ तिम्रो चिताको हो । त्यो जलिरहेको शव तिम्रो शरीर हो’, मैले भनें, ‘एक साताअगाडि होइन, आजैदेखि बोध गर र स्वागतको लागि तयार होऊ ।’

ऊ अघिदेखि मौन थियो । मानौं समाधिमा थियो ऊ ।  

 

कमेन्ट

  1. March 2, 2019, 3:58 p.m. Bharat
    कति सुन्दर लेखन । लेखक अशाेकका कलमले यस्ता अध्यात्म र जगतका कथा लेख्दै जाने छन है ।
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...