केन्द्रीय संस्करण

व्यङ्ग्यः कटाक्षै कटाक्ष

person explore access_timeफागुन १८, २०७५ chat_bubble_outline0

-माधव पोखरेल ‘गोज्याङ्ग्रे’
 

हामी आफ्नो आङको भैँसी देख्दैनौ तर अर्काको आङमा हिँडेको जुम्रा देख्छौ । आफ्नो अनुहार ऐनामा हेर्दैनौ, आफू कस्तो छु भनेर तर अर्कालाई कालो भनिहाल्छौ । यो समाजको मात्र होइन, मुलुकको चरित्र हो । मुलुकमा कोही सता नपाएर रोइकराई गरिरहेका छन् भने कोही पाएको सतालाई बेपता पार्न लागिपरेका छन् । यता कोही भने सबैथरीका कुरा र कामप्रति कटाक्ष गरिरहेका छन् । 

काम कुरो एकातिर कुम्लो बोकी थिमीतिर भनेझैँ गर्नुपर्ने काम एकातिर छ गर्छन् अर्कोतिर गएर । अनि उनीहरू नै कुर्लिन्छन्, यस्तो भएन उस्तो भएन भनेर र गर्न थाल्छन् कटाक्ष । सतापक्ष पनि कटाक्षमा कम छैन र प्रतिपक्षको त मूल कर्तव्य नै कटाक्ष गरेरै तह लाउने दाउमा हुन्छ । जनता पनि कटाक्षमै उत्रने, सरकार पनि कटाक्षमै रमाउने, प्रतिपक्षी पनि कटाक्षमै नाच्ने अरू दलहरू पनि कटाक्षकै मादल, खैँजडी, झ्याम्टा बजाएर गाईजात्रा गर्ने चलन चलाउन होस्टेमा हैँसे गरिरहेका छन् । 

साँच्चै भन्नु पर्दा यो मुलुक कटाक्षै कटाक्षको सङ्कटबाट गुज्रिरहेको छ । यता हेर्यो कटाक्ष, उता हेर्यो कटाक्ष, चारैतिरबाट कटाक्षै कटाक्षले जेलिएको छ । विकासे काममा पनि कटाक्ष, निकासे काममा पनि कटाक्ष, घिच्चासे काममा पनि कटाक्ष, पिचासे काममा पनि कटाक्ष गर्नु पर्ने हाम्रो संस्कार हामीबाटै तिरस्कृत हुने दिन कहिल्यै नआउने भो जस्तो छ । भनौँ यहाँ हामी आफैले आफैलाई कटाक्ष गरिरहेका छौँ । कटाक्ष कसले, कसलाई, किन, केका लागि गर्ने भन्ने कुराको सोच विचार नै नगरी हामी बोल्छौँ । बोलीमा लोली मिलाउन हो वा मन नपरेको मान्छेलाई आफ्नो असन्तुष्टि व्यक्त गर्न कटाक्ष गर्ने वा जहाँ पायो त्यहीँ जसलाई पायो त्यसलाई जे मन लाग्यो त्यही भनेर कटाक्ष गर्ने त्यसको कुनै साँध सीमा छैन । 

कुरै नबुझी, विषय वस्तुको ख्यालै नगरी म गर्छु आग्राको कुरा सम्धी गर्छन् गाग्राको कुरा भनेझैँ गरी कटाक्षताले सान्दर्भिता दिदैन । कहाँ आग्रा र कहाँ गाग्रो । यस्ता कुरामा होस नपर्याउने बेहोसीहरूको कटाक्षको कुनै अर्थ हुँदैन । कटाक्षको मर्मले सर्म ओकल्नुपर्छ । कटाक्षताको शर्मले मर्म बोलिनुपर्छ । मर्म र सर्मविनाको कटाक्षलाई कटाक्ष मानिदैन । 

कटाक्ष जही त्यहीँ छ्याप्छ्याप्ती छ । कटाक्ष आशनमा, भाषणमा, रासनमा, शासनमा अनि कुशासन, घुशासन सबैतिर छरिएको छ । न छरियोस पनि कसरी यो दुनियाँ नै कटाक्ष गर्नेहरूको हो नि त ⁄ सडकमा कटाक्ष, सदनमा कटाक्ष, उद्घाटनमा कटाक्ष, शिलान्यासमा कटाक्ष, भ्रमणमा कटाक्ष, बैठक मिटिङ सबैमा कटाक्ष घुसेको हुन्छ । 

कटाक्षको जन्म कहिले, किन, कसरी, केका लागि, कोबाट भयो भन्ने कुरा आउला । यसको नालीबेली लाउनुभन्दा पनि कटाक्ष भन्ने शब्द नै हाम्रा लागि मापाको बनेको छ । किनभने सानातिना मान्छेले कटाक्ष गर्न जान्दैनन र सक्दैनन पनि । म त के भन्छु भने अब यो कटाक्षका विषयमा स्कुल कलेजमा पढाउन पाठ्यक्रम नै बनाउन एउटा आयोग गठन गर्नु उपयुक्त हुनेछ । यसलाई अन्तर्राष्ट्रिय स्तरसम्म लैजान हामी सबैले पहल गर्नु पर्छ । विद्यावारिधिको विषय बन्न सक्छ कटाक्ष शब्द । पाप तथा अपराधवारिधि, निरक्षरवारिधि, किसानवारिधि, गोठालावारिधि गर्नेहरूले पनि अब कटाक्षका बारेमा जान्न बुझ्न पाउनुपर्छ भन्ने अभिमत देखिएको छ । 

सरकारले सरकारलाई नै कटाक्ष गर्ने, नेताले नेतालाई नै कटाक्ष गर्ने, तन्नेरीले तरुनीलाई कटाक्ष गर्ने, वृद्धले वृद्धिनीलाई, साथीले सङ्गीनीलाई कटाक्ष गर्छन् । खेती गर्ने बेलामा खेतमा रोपाहारले बाउसेलाई, बाउसेले रोपाहार हली बियाडेलाई र हुँदा हुँदा अब त श्रीमानले श्रीमतीलाई समेत कटाक्ष गर्न थालेका छन् । बाउले छोरालाई, आमाले बाउलाई, मास्टरले विद्यार्थीलार्ई, विद्यार्थीले मास्टरलाई कटाक्ष हानेका छन् खुबै कटाक्ष विषयमै विद्यावारिधि गरेझैँ गरेर । तरकारी किन्दा पनि कटाक्ष, भकारी भर्दा पनि कटाक्ष, पँधेरामा पानी भर्दा पनि कटाक्ष, मेलम्ची आउन पाएको छैन, त्यसमा पनि कटाक्ष, हावाको बिजुलीमा पनि कटाक्ष, बिनातयारी कुदिरहेको रेलमा पनि कटाक्ष, बालुवामा कुद्ने पानी जहाजमा पनि कटाक्ष । जता हेर्यो उतै कटाक्ष भएपछि कसरी बस्न सकिएला त अब चुप लागेर । 

सबैतिरको कटाक्षले मन चटारिएर बटारिएको छ नागबेली लहरोझैँ भएर । यो बटारिएको मनलाई फुकाउन पनि कटाक्ष नै गर्नु पर्ला जस्तो छ । शिरदेखि पैतालासम्म केस हुनेलाई  र तालु खुइलेलाई पनि एकै किसिमको कटाक्ष गरेपछि अनि कतै सुख पाइन्छ ? कटाक्ष नगरी खाएको नपच्ने, निन्द्रै लाग्दैन वा लागेको रोग निको हुँदैन भने त औषधीका रूपमा यसलाई प्रयोग गर्न डाक्टरको सुझाव सल्लाह पनि लिनु नपर्ला । फलामलाई फलामले नै काट्छ भनेझैँ कटाक्षताको रोग निको पार्न कटाक्ष नै गर्नुपर्ने हो भने अरू औषधी किन प्रयोग गर्नु कटाक्ष नै खाए हुन्छ । कटाक्षताले नै शरीर स्वस्थ्य हुन्छ भने कटाक्ष नै सही । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...