शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कथा : १५ वर्षपछि पूर्वपत्नीसँग भेट

शनिबार, १८ फागुन २०७५, १३ : ५६
शनिबार, १८ फागुन २०७५

–अर्जुन थापा

पन्ध्र वर्षपछि उसले उसको पूर्वपत्नीलाई भेट्छ, भाटभटेनी डिपार्टमेन्ट स्टोरमा । उनी सायद आफ्नो छोरासँग आएकी थिइन् । उसले देख्न त टाढाबाटै देखिसकेको थियो उनलाई तर पनि नचाहँदा नचाहँदै उनको सामु उनकी पूर्वपत्नी ठिङ्ग उभिइन् ।

‘के छ ? आज अचम्म भयो त ? यति धेरै वर्षपछि तिमीसँग भेट भयो ।’

‘त्यही त नि ! खुसी लाग्यो यतिका वर्षपछि तिमीलाई भेट्न पाउँदा !’ खिसिक्क हाँस्छ । 

‘बुढो भएछौ त तिमी । हेर त, कपाल सबै गएछ ? अनि बिहे गर्यौ कि के ? के गर्दै छौ ?’ प्रश्नहरूको एकै पटक ओइरो लाग्न थाल्छ उनीबाट । 
‘छैन गरेको बिहे । अब नगर्ने । रहर पुग्यो ।’

‘मेरो त दुइटा छोरा र छोरी छन् । बुढो काठमाडौँको नाम चलेको कम्पनीमा मेनेजर छ । काठमाडौँकै रैथाने हुन् । भगवान्को कृपाले आज मसँग सबै कुरा छ । सबैभन्दा ठूलो मेरो हरेक इच्छाहरू पूरा गर्ने लेभलको लोग्ने पाएकी छु मैले ।’ उनका आँखामा खुसी प्रष्ट देख्छ ऊ । 

‘हेर त यो गाडी मेरो जन्मदिनमा गिफ्ट पाएको बुढाको तर्फबाट ! हि इज सो क्यारिङ पर्सन, आई एम सो मच लक्की टु ह्याभ हिम !’

‘धेरै खुसी लाग्यो तिमीलाई यति खुसी भएको देख्न पाउँदा !’ ऊ मनबाटै खुसी हुन्छ उनलाई खुसी भएको देख्दा ।

‘ओके बाई ! आई एम गन लेट । आज सोल्टी होटलमा पार्टी छ । आज बुढाको अफिसको बिग सक्सेस पार्टी छ ।’ भन्दै त्यही गाडीमा चढेर जान्छिन् छोरासँग ।

आजभन्दा पन्ध्र वर्ष अगाडि विदेशबाट नेपाल विवाह गर्न आएको थियो ऊ । कति सपनाहरू बोकेर आएको थियो कि विवाहपश्चात् उसको जीवनमा सधैँ खुसी नै खुसी भएर जानेछ भनेर । यो संसारमा कसैले नगरेको विवाह उसले मात्र गर्न लागेको भान भइराखेको थियो उसलाई । विवाहमा पनि उसकी श्रीमतीलाई चाहिने हरेक सामान किन्न ऊ आफै बजार गएको थियो । 

उसको औकातअनुसार उसले राम्रै विवाह गरेको थियो भन्नुपर्छ । विवाहका केही दिनहरू ठिकै तवरले बितिराखेका थिए तर केही समयपश्चात् दुई जनाबीच झगडा उत्पन्न हुन थाले । 

‘मैले तिमी जस्तो केटासँग विवाह गर्नु नै ठूलो भुल गरेँ । आज यदि तिमीसँग विवाह नगरेको भए खुसी व्यक्तिहरूमध्ये म पनि एक हुने थिएँ ।’ रिसाउँदै कपाल कोर्दै भन्छिन् ।
ऊ बेडमा उसले भनेको वचनहरू हाँसीहाँसी सुनिराखेको हुन्छ ।

‘होइन के दाँत देखाएको नि ? तिमी र तिम्रो परिवार देखेर अब मलाई यो नरक जस्तो घरमा अफिसबाट फर्केर नआऊँ जस्तो हुन्छ । तिम्रो फेस, तिम्रा चिम्सा आँखा, फेसभरि आएका घाउहरू, शरीरभरि भएका रौँहरू, नमिलेको र सानो शरीर देख्दा दिङदिङ लागेर आउँछ ।’ उनी झन् जङ्गिँदै भन्छिन् । 

‘मेरी बुढी किन रिसाएकी ? तिम्रा लागि त म आजै गएर फेस चम्काएर आउँछु नि ! यस्तो सानो कुरामा पनि !’ फकाउन खोज्छ । 

लेखक

यस्तै प्रकारले उनीहरूका दिन बितिराखेका थिए । हुन त उसले अब राम्ररी बुझिसकेको थियो कि, उसले जे सोचेर जसलाई विवाह गरेको थियो, त्यो बिलकुलै गलत मान्छे पर्यो भनेर । तर पनि अब उसले गरोस् त के ? यस अवस्थालाई सुधार्नु सिवाय । 

‘म के तिमीहरूको काम गर्ने मान्छे हुँ र ? मेरो पनि अधिकार र इच्छाहरू होलान् । म जस्तो पढेलेखेकी र राम्रो अफिसमा काम गर्ने आइमाई भएर पनि तिमीहरू जस्तोलाई सहनु नै ठूलो कुरा हो । तिमी मलाई न पहिला न अहिले न भोलि नै मन पर्ने छौ । त्यसैले मसँग टाढा बस्नु नै तिम्रो र मेरो भलाइ हुनेछ । तिमीले मलाई छोडेको खण्डमा मन्दिरमा तिम्रो फोटो लगेर पूजा गर्ने थिएँ । पागल फेमिली हौ तिमीहरू !’ मोबाइलमा एकएक गरेर मेसेजको लाइन लाग्छ । 

ऊ अब उसको श्रीमतीको यस्ता मेसेजबाट बिचलित हुँदैन । उसलाई बानी नै पर्न थालिसकेको थियो । हो, पहिला पहिला धेरै छट्पटियो, रोयो तर पनि कसैलाई केही भनेन । उसलाई यो लागेको थियो कि ऊ जसरी पनि श्रीमतीलाई सुधार्छ र लोग्नेको माया के हो भन्ने अवगत गराउँछ । तर, अब ऊ हार्दै आइराखेको थियो । उसले धेरै उपायहरू लगायो । रिसाएर, नबोलेर, खुसी भएर र उसका हरेक कटुवचनलाई सहेर पनि ऊ उनको अगाडि खुसी भएको देखाउँथ्यो तर केही उपाय नलागेपछि ऊ एक दिन उनलाई चाहेको अनुरूप खुल्ला छोडिदियो । र, आफू विदेश फर्केर गएको थियो ऊ । 

बेलुकाको चार बजिसकेको थियो । ऊ झ्यालमा बसेर आज दिउँसो भेट भएको घटनालाई दोहोर्याएर सम्झिरह्यो । सोच्नलाई ऊसँग धेरै सामग्रीहरू हुँदाहुँदै पनि पन्ध्र वर्ष अगाडि छोडेको श्रीमतीलाई सम्झिरह्यो । 
‘लौ लेट भयो । पार्टीमा मलाई नै कुरिराखेका होलान् सबै ।’ मनमनै भन्दै ऊ फ्रेस हुन जान्छ । 

मातेका साँझ उज्यालिएर बाटा वरिपरि बसेर फिस्स हाँसी राखेको गाडीबाटै देख्छ ऊ । किन हो उसका आँखाहरू उनीलाई नै हेर्न आतुर जस्तो देखिन्छन् । ऊ बिस्तारै ठूलो हलभित्र पस्छ । सबैजना मानौँ कुनै एक व्यक्तिलाई व्यग्र रूपमा कुरिराखेका हुन्छन् भने ऊचाहिँ पन्ध्र वर्ष अगाडि अलग भएकी श्रीमतीलाई खोज्न थाल्छ । अनायास उसका आँखा टेबलमा जुस पिइराखेकी उसको पूर्वपत्नीमा पर्छ । 

‘अचम्म ! दिनमा दुई दुई पटक भेट भयो त तिमीलाई !’ उनी हाँस्छिन् । 

‘कतिखेर आएकी तिमी ?’ उत्सुकतावश प्रश्न गर्छ । 

‘श्रीमान्सँग अघि नै आएको । बाई द वे, आजबाट मेरो श्रीमान्को प्रमोसन भयो नि ! आजबाट चार लाख पर मन्थ स्यालरी विथ कमिसन पाउँछ । आज म धेरै खुसी छु । र, अर्को कुरा आज श्रीमान्को अफिसले बेस्ट कम्पनी अवार्ड पाउँदैछ ।’ उनी रमाउँदै भन्छिन् । 

‘तिम्रो श्रीमान्सँग मेरो इन्टरड्युस गराउँदिनौ त ? म पनि भेट्न चाहन्छु, त्यस्तो लक्की पर्सनलाई ।’ ऊ हाँसेर आग्रह गर्छ । 

‘जस्ट वेट, म बोलाएर ल्याउँछु है ! तिमी कतै नजाऊ ।’ भन्दै उनी श्रीमान् खोज्न जान्छिन् । 

‘मिट माई हेन्डसम एन्ड इन्टल्याक्चुयल हसबेन्ड रूपक’ भन्दै अगाडि आउँछिन् । 

‘तिमी पनि के भएकी ? मैले दिनरात जसको नाम लिन्छु । आज हामी जे भएका छौँ । हाम्रो भगवान् भनेकै उहाँ त हो नि हाम्रो कम्पनीको बोस !’ भन्दै रूपकले भन्छ । 

‘उहाँ हाम्रो बोस नभएर हाम्रो सबै हुनुुहुन्छ । उहाँ जस्तो व्यक्तिलाई पनि पन्ध्र वर्ष अगाडि नराम्रो, सँगै लिएर हिँड्न नसुहाउने र गरिब भनेर उनको श्रीमतीले छोडेर गइन् रे । तर पनि उनकै मायामा अझै विवाह गर्नुभएको छैन हाम्रो बोसले । कस्ती अभागी रहिछे त्यो आइमाई !’ रूपकले भन्दै जाँदा थचक्क चेयरमा बस्न पुग्छिन् उनी । 

त्यत्तिकैमा स्टेजबाट एनाउन्स हुन्छ । 

‘द बेस्ट कम्पनी अवार्ड गोज टु .... ’

सबैको ताली पिटेको आवाजले त्यस हल गुञ्जयमान हुन्छ । तर ... ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप