मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

दूतावास बोलाएर भारतीय राजदूतले दिए राजपा नेपाललाई यस्तो सुझाव

मङ्गलबार, १७ साउन २०७४, १४ : २६
मङ्गलबार, १७ साउन २०७४

काठमाडौं– भारतीय राजदूत मन्जिभ सिंह पुरीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई चुनावमा जानका लागि सुझाव दिएका छन् ।

राजदूत पुरीले मंगलबार राजपा नेपालका नेताहरुलाई लैनचौरस्थित भारतीय दूतावास बोलाएर चुनावमा जान सुझाव दिएका हुन् । 

छलफलका क्रममा पुरीले  असोज २ गते तेस्रो चरणमा हुन गइरहेको स्थानीय तहको चुनावमा जाने कि नजाने भन्नेबारेमा नेताहरुसँग  जिज्ञासा राखेका  थिए ।

सरकारले संविधान संशोधनको विषय निर्णयार्थ पेश गरेर टुग्यांउन चाहेको र  अन्य मागहरु पनि पूरा गर्ने देखिएकाले  चुनावमा जाने कि नजाने भन्ने पुरीको जिज्ञासा थियो । 

जवाफमा राजपा नेपालका नेताहरुले सरकारले माग पूरा गर्नेमात्रै भन्ने तर  कार्यान्वयन नगर्ने गरेकाले माग पूरा नभएसम्म चुनावमा नजाने बताएका थिए । 

‘संविधान संशोधन विधेयक निर्णायर्थ पेस गरे त्यसबाट आउने परिणाम स्वीकार्छौं, तर विधेयक मधेशवादी दलको होइन, सरकारको हो, त्यसलाई पास गराउने दायित्व पनि सरकारकै हो’, बैठकमा राजपा नेपालका अध्यक्ष मण्डलका एक सदस्यले भने, ‘पहिला त पेस होस्, अनि पास हुन्छ कि फेल हुन्छ त्यो बेला प्रयास गर्नुपर्छ, अहिले पेसै नगरिकन फेल हुन्छ भनेर हुँदैन, त्यस अलवा मुद्दा फिर्ता, बन्दी रिहाई, क्षतिपूर्तिलगायतका माग पूरा गरे चुनावमा जाने भनेका छौं तर यी माग पूरा नभए नजाने स्पष्ट छ ।’

राजपा नेपालका नेताहरुको कुरा सुनेपछि चुनावमा जाँदा नै राम्रो हुने सुझाव  राजदूत पूरीले दिएको राजदूतावास स्रोतले जनाएको छ ।

पार्टी एकीकरण भएपछिको अवस्थाको बारेमा पनि राजदूतले जिज्ञासा राखेको बताइएको छ । 
जवाफमा  नेताहरुले पार्टीलाई व्यवस्थित गर्ने कार्य भइरहेको र भोलिदेखि बैठक बस्न लागेको जानकारी गराएका थिए । 
पुरीसँगको छलफलमा महन्थ ठाकुर, महेन्द्रराय यादव, शरतसिह भण्डारी, अनिल झा र  राजेन्द्र महतो सहभागि थिए । यस्तै  राजकिशोर यादव जिल्लामा रहेका कारण उनी सहभागि भएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप