मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश प्रमुखले भेटे दिवंगत मन्त्री अधिकारीका परिवारलाई

आइतबार, १९ फागुन २०७५, १८ : ११
आइतबार, १९ फागुन २०७५

पोखरा– गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीका शोकाकुल परिवारलाई भेटेका छन् ।

आइतबार काठमाडौंबाट पोखरा आएलगत्तै प्रदेश प्रमुख कुँवर मन्त्री अधिकारीको पोखरा–५ मालेपाटनस्थित निवासमा पुगी दिवंगत अधिकारीका परिवारजनलाई भेटी समवेदना प्रकट गरेका हुन् । 

अधिकारीकी धर्मपत्नी विद्या अधिकारी, छोरा स्वराजसँग छोटो कुराकानी गर्दै प्रदेश प्रमुख कुँवरले शोकाकुल सबै परिवारजनलाई समवेदना प्रकट गरेका थिए । प्रदेश प्रमुख कुँवरले मन्त्री अधिकारीको निधनले परिवार, समाज, प्रदेश र पूरै मुलकलाई अपुरणिय क्षति भएकाले समग्र देशलाई नै स्तब्ध बनाएको बताएका छन् । 

‘रविन्द्र अर्थात रवि (आदित्य) प्रज्वलित प्रकाश छर्ने वाला जसले आफ्नो राजनैतिक जीवनभर जनकल्याणको लागि काम गरे । बहालवाला मन्त्री छँदा अकालमै उनको निधन हुँदा म अत्यन्त मर्माहत भएको छु’ प्रदेश प्रमुख कुँवरले शोक पुस्तिकामा लेखेका छन्, ‘माता पिता तथा मातृभूमिले एउटा सुपुत्र गुमाएको छ । जनताले एउटा सुयोग्य नेता गुमाएको छ ।’ 

‘मेरो भाईजस्तै मलाई सँधै दाजु बनेर बोलाउने स्नेही र सँधै प्रसन्न रहने उच्च व्यक्तित्व कहिलेकँही पवित्र कोखबाट जन्मने गर्छन् । धन्य छ त्यो पवित्र कोख जसले यस्तो ओजस्वी नागरिक, नेता मातृभूमिलाई दिएको थियो । बिडम्बना दैवको क्रुर प्रहार यस्तो व्यक्तित्वलाई हामीबाट चुडेर लग्यो’ प्रदेश प्रमुख कुँवरले शोक पुस्तिकामा उल्लेख गरेका छन् । 

‘म ईश्वरसँग यही प्राथना गर्दछु दिवंगत आत्माको बैकुण्ठ वास होस् । शोकाकुल परिवारजन सबैप्रति र समस्त प्रदेशवासी दाजुभाई दिदी बहिनीहरुलई यस दुःखद घडीको यो पीडा सहन सक्ने शक्ति भगवानले प्रदान गरुन्’ प्रदेश प्रमुख कुँवरले शोक पुस्तिकामा आफ्नो कुरा टुंग्याउँदै लेखका छन्, ‘स्व.रविन्द्र मेरो भाई एवं मन्त्रीप्रति हार्दिक श्रद्धाञ्जली ज्ञापन गर्दछु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप