बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रहरी हस्तक्षेपको विरोधमा शैक्षिक हड्तालको घोषणा

सोमबार, २० फागुन २०७५, १९ : ४३
सोमबार, २० फागुन २०७५

काठमाडौं– सामूदायिक विद्यालयमा विगत लामो समयदेखि कार्यरत राहत तथा बालविकास शिक्षकहरुले शान्तिपूर्ण आन्दोलन गरिरहँदा आफूहरुलाई प्रहरीले हातपात गरेको आरोप लगाएका छन् ।

राहत शिक्षक केन्द्रिय समिति र बालविकास शिक्षक केन्द्रिय समितिले संयुक्त रुपमा सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएका हुन् । यसको विरोधमा समितिले भोलि फागुन २१ गते देशव्यापी रुपमा सामूदायिक विद्यालय बन्द गर्दै आम शैक्षिक हड्तालमा उत्रिने घोषणा गरेको छ । 

आज साँझ नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले आफूहरुमाथि ज्यादती गरेको र महिला शिक्षकहरुमाथि दुव्र्यवहार गरेको राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले जानकारी दिए । उनले भने,‘देशव्यापी रुपमा सामूदायिक विद्यालय बन्द गरेर शैक्षिक हड्ताल गर्दा पनि हाम्रो माग पूरा भएन भने हामी आउँदै गरेका विद्यालयका वार्षिक परीक्षा र एसईई परीक्षासम्म अवरोध गर्न बाध्य हुन्छौं ।’

उनले भने,‘हामीले शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा पनि प्रहरीले हस्तक्षेप, ज्यादति गर्यो । अब हामीलाई संघीय राजधानी काठमाडौंमा शान्तिपूर्ण आन्दोलन गर्न दिँदैन भने हामी बाध्य भएर काठमाडौं प्रवेश गर्ने नाकाहरुमा धर्ना बस्छौं ।’

उनका अनुसार प्रहरीले आज साँझ गरेको दुव्र्यवहार तथा धरपकडमा परी दर्जनौं शिक्षकहरु सख्त घाईते भएका छन् । अधिकारीले भने, ‘हिजो र आज गरेर हाम्रा सयौं साथीहरु प्रहरीको ज्यादती र दुव्र्यवहारबाट सख्त घाईते हुनुभएको छ । कतिपयको अस्पतालमा अहिलेपनि उपचार भैरहेको छ । केही साथीहरुलाई अहिले पनि प्रहरी हिरासतमा राखिएको छ ।’

बलजफ्ती गरेर पक्राउ गरिएका आफ्ना सहकर्मी साथीहरुलाई तत्काल रिहाई गर्नसमेत  उनले माग गरे । पक्राउ पर्नेहरुमा गोकुल रोकाय, कृष्णराज विष्ट, जनक भण्डारी, दुर्गा शाक्य र गोविन्द ढाँट रहेका छन् । उनीहरुलाई अहिले काठमाडौंको भृकुटीमण्डपस्थित् नेपाल पुलिस क्लबमा राखिएको छ । 

पत्रकार सम्मेलनमा बालविकास शिक्षक केन्द्रिय समितिकी केन्द्रीय अध्यक्ष कृष्णकुमारी थापामगरले आफू स्वयमसमेत घाईते भएको बताइन् । उनले शान्तिपूर्ण आन्दोलन गर्दा पनि आफूहरुमाथि प्रहरीले अमानवीय व्यवहार देखाएको भन्दै आक्रोश पोखिन् । 

उनले थपिन्,‘हामी शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिन्छौं । आन्दोलनको लागि अहिलेपनि विभिन्न जिल्लाबाट हजारौंको संख्यामा बालविकास शिक्षकहरु काठमाडौं आउने क्रम जारी छ ।’ थापा प्रहरीले प्रहार गरेको अश्रुग्याँसबाट घाईते भएकी छिन् । 

कार्यक्रममा नेपाल राहत शिक्षक केन्द्रिय समितिका उपाध्यक्ष शारदा तिमिल्सिना र समितिका बरिष्ठ सह–अध्यक्ष वीरेन्द्रकुमार मल्ल, सल्लाहकार संयोजक गणेश ओझाले पनि प्रहरीको ज्यादती र दमनको विरोध गरेका थिए । उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने उद्घोषसमेत गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप