शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश समृद्धिका लागि उत्पादनसँग जोडिनुपर्छ: मुख्यमन्त्री गुरुङ

बुधबार, २२ फागुन २०७५, १९ : ४२
बुधबार, २२ फागुन २०७५

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको समृद्धिका लागि उत्पादनसँग जोडिनु आवश्यक रहेको बताएका छन् । मदन भण्डारी फाउण्डेशन जिल्ला कार्यसमिति कास्कीद्वारा आज यहाँ आयोजित ‘गण्डकी प्रदेशको समृद्धिका आधार’ विषयको प्राज्ञिक बहसमा उहाँले उत्पादन बिनाको विकास असम्भव रहेको बताए । 

गण्डकी प्रदेशको समृद्धिका लागि उत्तर दक्षिण जोड्ने गरी सडक विकास गर्नु अपरिहार्य भएकामा जोड दिँदै उनले त्यसतर्पm सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । नीतिनिर्माणमा सरकार लागिरहेको बताउँदै मुख्यमन्त्री गुरुङले सङ्घ सरकारबाट आवश्यक कानून अझै बन्न नसक्दा प्रदेश सरकारले अपेक्षित गति हासिल गर्न नसकेको बताए । 

विकासका लागि सुशासन पहिलो सर्त भएको औंल्याउँदै उनले सुशासनसँगै उद्यमशीलता बताउँदै अघि बढ्नुको विकल्प नभएको बताए । विभिन्न क्षेत्रका विज्ञ समूहसँग छलफल गरी प्रदेश समृद्धिको आधार तयार गरिने उनले जानकारी दिए ।

गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्माले ‘गण्डकी प्रदेशको समृद्धिका आधार’ विषयको कार्यपत्र प्रस्तुत गर्दै प्रदेश जलस्रोतमा सम्पन्न भएको बताउँदै समग्र प्रदेशबाट १२ हजार मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने स्पष्ट पहिचान भइसकेको बताए । 

प्रदेशमा हाल ४४८ मेगावाट उत्पादन भएको जानकारी दिँदै उनले सञ्चालनमा रहेका २९ वटा आयोजनाबाट थप ६५४ मेगावाट विद्युत् उत्पादन हुने तयारीमा रहेको बताए । प्रदेशमा उत्पादन भएको विद्युत् खपतका लागि एलपी ग्यास विस्थापित गरी विद्युतीय सामग्री उत्पादनमा जोड दिनुपर्ने बताउँदै उपाध्यक्ष शर्माले विद्युतीय ऊर्जा उपभोक्ताका लागि ग्यासभन्दा १० प्रतिशत सस्तो पर्ने तथ्याङ्क रहेको उल्लेख गरे । 

गण्डकी प्रदेशमा औद्योगिकीकरण न्यून रहेको बताउँदै उनले यसको विकास एवम् कृषि जन्य उत्पादनलाई बढाउनुपर्ने आवश्यकता औँल्याए । शिक्षालाई उत्पादन र बजारसँग जोडिनुपर्ने आवश्यकता
औंल्याउँदै उनले प्रस्तुत गर्नुभएको कार्यपत्रमा ग्रामीण क्षेत्र उत्पादन र शहर उत्पादित वस्तु बिक्री गर्ने थलोका रुपमा विकास गर्न सके मात्र समृद्धिको आधार बन्ने उल्लेख छ । 

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, डा.गेहेन्द्रेश्वर कोइराला, डा.अर्जुन बास्तोला, डा.यादव गौडेल, डा विनायक भद्रा, डा.चन्द्रा भद्रालगायतले प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै गण्डकी प्रदेश पर्याप्त सम्भावना भएको चर्चा गर्दै यी सम्भावनालाई उजागर गर्न सके मुलुकका सात वटा प्रदेशमध्ये उत्कृष्ट प्रदेश बन्ने दाबी गरे ।

फाउण्डेशन कास्कीका अध्यक्ष माधव बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमामा उपाध्यक्ष हीरा गिरीले संस्थाले सरकारको सुखी नेपाली समृद्ध नेपाल अभियानलाई सफल पार्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप