शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मलेठ घटनाको स्मरणः राजपाका नेतादेखि मुख्यमन्त्री राउतसम्मले के भने ?

बिहीबार, २३ फागुन २०७५, २३ : १६
बिहीबार, २३ फागुन २०७५

राजविराज–सप्तरीको मलेठमा दुई वर्षअघि भएको घटनाको स्मरणमा बिहीबार श्रद्धाञ्जलीसभा आयोजना गरियो ।
 तत्कालीन नेकपा एमालेले चलाएको मेची–महाकाली अभियानविरुद्ध तत्कालीन मधेसी मोर्चाका कार्यकर्ताले गरेको विरोधमा प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीबाट ५ जना मारिएका थिए । 

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले अब राष्ट्रिय आन्दोलनको आवश्यकता रहेको बताएका छन् । 
उनले राष्ट्रिय आन्दोलनका लागि पहिचान तथा अधिकारवादी आन्दोलन गर्दै आएका समूहबीच एकता हुन जरुरी रहेको औंल्याए । उनले मलेठ घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गरिनुपर्नेमा पनि जोड दिए ।

त्यस्तै राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले  मधेस र मधेसी जनतामाथि धोखा दिएको आरोप लगाए ।
 उनले भने– संविधान संशोधन गर्ने बाहानामा हामीले ओली सरकारलाई विश्वासको मत दियौँ, तर यो सरकारको एक वर्षको बाटो कुर्दा पनि बेइमानी बाहेक हामीसंग गरेको वाचा पुरा गरेनन् ।’

उनले सरकार विरुद्ध हतारमा भन्दा पनि व्यवस्थित र राष्ट्रिय आन्दोलन गर्ने बताए । यसको लागि सम्पूर्ण मधेशी, आदिवासी जनजाती, थरुहट, दलित, पिछडावर्ग, महिला लगायत सिमान्तकृत वर्गकाहरुले विगतमा गरेका आन्दोलनहरुलाई समेटेर एकैपटक राष्ट्रिय आन्दोलन गर्न आन्तरिक तयारीमा जुट्नु पर्ने बताए । उनले टीकापुर घटना राजनीतिक भएको भन्दै  रेशम चौधरीलाई अनावश्यक रुपमा मुछिएको दाबी गरे । 

त्यस्तै राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य सरतसिंह भण्डारीले ओली सरकार घमण्डी सरकार रहेको आरोप लगाउदैँ उनी अझै पनि सुध्रिन नसकेको बताए । 

त्यस्तै राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेशी जनता एक ढिक्का नभएकै कारण मधेशीहरु विगतदेखि नै राजनीतिक रुपमा ठगिँदै आएको बताए । 

यस्तै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मलेठ आन्दोलनका दोषीलाई कारवाही गराएरै छाड्ने बताए । उनले पीडितलाई अन्तर्राष्ट्रिय अदालतमा गएर भएपनि न्याय दिलाउने बताए । 
राष्ट्रिय मानवअधिकार अयोगले मलेठ घटना बारे सार्वजनिक गरेको प्रतिवेदन गलत रहेको बताउँदै उनले प्रदेश सरकारले पनि मलेठ घटनाको प्रतिवेदन तयार गरिरहेको बताए ।

उनले प्रदेश सरकारले मधेश आन्दोलनका शहिदहरुलाई केन्द्रमा राखेर योजना बनाइ कार्य गरिरहेको पनि बताए । 

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै फोरम नेपालकी उपाध्यक्ष रेणु यादवले राजविराज स्थित अस्पतालको नाम परिवर्तन बताइन्  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप