शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकका भूकम्पपीडितका गुनासै गुनासा : मेलम्चीका ६९ प्रभावितले ४ वर्षसम्म पनि अनुदान पाएनन् (भिडियो)

शुक्रबार, २४ फागुन २०७५, ११ : २१
शुक्रबार, २४ फागुन २०७५

सिन्धुपाल्चोक । भूकम्प गएको वर्ष जाडो महिनालाई लक्षित गरी सरकारले प्रभावितलाई न्यानो कपडाका लागि १० हजार राहत दिएको थियो । तर सिन्धुपाल्चोक मेलम्ची नगरपालिका फट्कसिलामा १ सयभन्दा बढी भूकम्पपीडितले त्यो राहत अझै पाएका छैनन् । हालै मेलम्ची बजारमा गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा फटकसिलाका स्थानीय केदारप्रसाद घोरासैनीले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई उक्त गुनासो सुनाए ।

मेलम्ची नगरपालिकाका अर्का भूकम्प प्रभावित ज्ञानप्रसाद सापकोटाले आफ्नो गाउँका ६९ भूकम्पपीडितले अहिलेसम्म कुनै पनि राहत नपाएको गुनासो सुनाए । भूकम्पपछि प्राविधिक गाउँमा आए, घर हेरेर पनि गए तर उनीहरूको नाम अनुदान सूचीमा चढेन । उनीहरूले प्राधिकरणमा, वडा कार्यालयमा पनि गुनासो दर्ता गराए तर ३ वर्षसम्म पनि प्राधिकरणले गुनासो सुनुवाइ गरेन । अनुदान नपाएका उनीहरू अझै पनि जस्ताको टहरामा नै जीवन चलाइरहेका छन् ।

प्राधिकरण गठन हुनुअघि घर बनाएका भूकम्प प्रभावितलाई प्राविधिक जाँच नगरी राहत दिने प्रधानमन्त्रीले घोषणा गरे पनि कार्यान्वयन नभएको मेलम्चीका स्थानीय लक्ष्मण दुलालले गुनासो गरे । उनले भने– प्रधानमन्त्रीले प्राधिकरण बन्नुअघि बनाइएका घरलाई फित्ता र इन्चले नाप्न नपर्ने राहत दिने भनेका थिए । यो देशमा प्रधानमन्त्रीले भनेका कुरा किन कार्यान्वयन हुन सकिरहेको छैन ।’

उनले यसअघि पनि प्राधिकरणका प्रमुख आएर गुनासो टिपेर गएको तर कार्यान्वयन नभएको बताए ।

सोही ठाउँकी एकल महिला गोमा पाण्डेले आफ्नो घर अनुदान सूचीमा नसमेटिएपछि  गुनासो दर्ता गरेको तर अहिलेसम्म समाधान नभएको बताइन् । उनले भनिन्– ‘असारमा समाधान हुन्छ, भदौमा समाधान हुन्छ भने, फागुन पनि सकिन लाग्यो तर अझै सुनुवाइ भएन । म एकल महिला पनि हुँ, घर भत्कियो तर अझै किन समाधान हुन सकेन ।’

मेलम्चीमै रहेको ककेरा टोलको बस्तीमा चिरा परेपछि त्यहाँका २९ परिवार जग्गा भाडामा लिएर अस्थायी संरचनामा बसिरहेका छन् । जग्गाधनीले पैसा नदिई आफ्नो जग्गामा बसेको भन्दै गाली गर्ने गरेका छन् । पहिलो किस्ताको रकमले घरको जग राख्ने काम त भयो तर पैसाको समस्याले घर बनाउन नसकिएको भीमबहादुर सार्कीले बताए ।

उनले भने– ‘जस्ताको टहरालाई असिनापानी, घामले सताइरहेको छ । अहिले बसेको जग्गाबाट पनि हामीलाई अन्तै जानु भनिरहेका छन् । अब हामी के गर्ने ?

यस्तै भूकम्प प्रभावितहरूले प्राधिकरणले भन्ने गरेको सहुलियत ऋण नाम मात्र हो कि के हो ? अहिलेसम्म किन लिन पाइएन ? भन्दै प्राधिकरणका सीईओ ज्ञवालीलाई प्रश्न गरे ।

यस्तै स्थानीयले सुरुमा ब्लकले बनेका घरको नक्सा पास गर्ने भनियो तर पछि किन नक्सा नभएको, वास्तविक भूकम्पपीडितले अझै राहत पाउन नसको, नक्कलीले घर बनाएर काठमाडौं फर्केको, बाटोको मापदण्ड मिचेर घर बनाउनेहरूको नक्सा पास भएको, पहुँच हुनेले चौतारा गएर राहत लिएको पहुँच नहुेको घर बनिसक्दा पनि किन तेस्रो किस्ता नपाएको ? भन्दै उनीहरूले गुनासो गरे ।

एकजना पनि छुट्नुहुँदैन : सीईओ ज्ञवाली

भूकम्प प्रभावितहरूको गुनासो सुनेपछि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रभावित सबैले घर बनाउन छुट्न नहुने बताए । उनले प्रभावितले गुनासो राख्ने तर सुनुवाइ नहुने कुरा बेठीक भएको स्वीकार गरे । उनले भने– ‘विगतमा जनप्रतिनिधि थिएनन् । त्यतिबेला इन्जिनियर परिचालन गरियो । इन्जिनियर आयो, घरको रेर्कड लिएर गयो । त्यो रेकर्ड पठाउँदा आईटी सफ्टवेयरबाट पठाउँदा पनि छुट्ने भएछ । त्यो कुरा हामीले पछि पत्ता लगायौँ । उसको आफ्नो गल्ती नहुँदा पनि सफ्टवेयरबाट पठाउँदा कतिपय अवस्थामा नेटवर्कको कारणले छुटेको देखियो ।’

उनले एकजना मात्रै पनि भूकम्पपीडितको नाम छुट्न नहुने बताउँदै प्रत्येक भूकम्पपीडितकोे घर बन्ने कुरालाई सुनिश्चित गर्ने उल्लेख गरे ।

उनले अघिल्लो सर्वेक्षणबाट छुटेका भूकम्प प्रभावितले स्थानीय तहको जनप्रतिनिधिको सिफारिस गरे अनुदान दिने उल्लेख गर्दै छुटेका ठाउँमा पुनः सर्भे गर्ने बताए । उनले भने– ‘कसैको छुटेको छ भने फेरि गुनासो गर्न पाइन्छ, सबैको सर्वेक्षण हुन्छ, जनप्रतिनिधिको सिफारिसको आधारमा अनुदान दिन्छौँ ।’

उनले भूकम्प प्रभावितले कुनै व्यवसाय गर्न चाहेमा साढेँ ३ प्रतिशत ब्याजदरको ३ लाखसम्मको ऋणको व्यवस्था गरिएको पनि जानकारी दिए ।

उनले आर्थिक अभाव भएका परिवारलाई बनाइरहेको घर धितो राखेर ३ लाखसम्म ३ प्रतिशत ब्याजदरमा ऋण दिने व्यवस्था चालु रहेको बताए ।

उनले पहिलो किस्ता रकम लिएर पनि घर बनाउन सुरु नगर्नेलाई ५० हजार स्थानीय तहलाई फिर्ता गर्न आग्रह गरे । त्यो पैसाबाट बाटो, धारो बनाउने कामका लागि खर्च गर्न सकिने बताउँदै त्यसका लागि स्थानीय सरकार पनि चनाखो भएर लाग्नुपर्ने बताए ।

इन्जिनियरलाई बास र जागिरको चिन्ता

गाउँमा गएका इन्जिनियरलाई नै पहिलो, दोस्रो र तेस्रो किस्ता वितरणको अन्तिम समय  थाहा नभएको पाइयो । मेलम्चीमा भएको सार्वजनिक सुनुवाइको कार्यक्रमपछि उनीहरू सीईओ ज्ञवालीलाई यसबारे प्रश्न गरिरहेका थिए । एकजना इन्जिनियर अझै बासको टुङ्गो नलागेको गुनासो गर्दै थिए । अर्का इन्जिनियरले प्रश्न गरे–‘हाम्रो करारको समय सकिँदैछ, अब हाम्रो जागिर के हुन्छ ?’

सीईओ ज्ञवालीले भने– ‘चिन्ता मान्नु पर्दैन, जसले राम्रो काम गर्छ, संसार उसको हुन्छ । मैले पनि हिजो ८ वटा संस्थामा जागिर खाएको थिएँ । अहिले सिभिल इन्जिनियरको पद खुलेको पनि छ, क्षमता पुगेका मानिसहरूलाई त्यहाँ स्वस्थ प्रतिस्पर्धा हुन्छ ।’

सीईओ ज्ञवालीले अघिल्लो आर्थिक वर्षमा पहिलो किस्ता लिएकाहरूले यो आर्थिक वर्षमा घर बनाइसक्नुपर्ने र यो आर्थिक वर्षमा अनुदान लिएकाहरूले अर्को आर्थिक वर्षमा घर बनाइसक्नुपर्ने भनेर सम्झाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप