बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् अर्घाखाँचीकी चेली, कर्णालीकी पहिलो महिला सिडियो (फोटोफिचर )

शुक्रबार, २४ फागुन २०७५, १५ : ५८
शुक्रबार, २४ फागुन २०७५

बुटवल– चुलो–चौकोबाट बाहिर निस्किएका महिलाहरुको संघर्ष र सफलताको गोरेटो पछ्याउँदै जाँदा प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीका केही महिला जिल्लाभरमै प्रगतिको उच्च शिखरमा पुगेको पाइएको छ । राजनैतिक  क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसाल र नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसाल केन्द्रीय राजनीतिका हस्ती बन्न पुगे ।

कर्मचारीतन्त्रमा आफ्नो छुट्टै किर्तिमानी कायम गर्न  सफल छन् अर्घाखाँची कै छत्रदेव गाउँपालिका–८ मरेङ्ग गाउँकी दुर्गा बञ्जाडे । जो गत शुक्रवारदेखि जुम्ला जिल्लाको प्रमुख जिल्ला अधिकारी  (सिडियो) को कार्यभार सम्हालेकी छन् । जुम्लाको इतिहासमा मात्र होइन उनी कर्णाली प्रदेशका १० जिल्लाकै इतिहासमा पहिलो महिला सिडियोको किर्तिमानी दर्ज गर्न सफल भएकी हुन् ।

सिन्धुपाल्चोकमा सहायक प्रमुख जिल्ला अधिकारीको अनुभव संगालेकी उनी जुम्लाका पूर्व प्रमुख जिल्ला अधिकारी  विष्णु पौड्याकाको सरुवा भएपछि उक्त जिल्लामा पदभार  सम्हाल्न आएकी हुन् ।

सिन्धुपाल्चोकमा चेलीबेटी बेचबिखनजस्ता महिला हिंसा न्यूनिकरण अभियानमा विशेष भूमिका खेलेकी उनले कर्णाली प्रदेशभित्र विद्यमान छाउपडी प्रथा अन्त्यका लागि समुदायसँग मिलेर काम गर्न चाहेको बताइन् । आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उनी जिल्लाको सुरक्षा गस्तीमा ब्यस्त रहेको उनका सहयोगीले बताए ।

पछाडी परेको कर्णालीमा काम गर्ने पहिल्यैदेखि धोको रहेको बताउँदै उनले नेपाल सरकारको प्रतिनिधिका रुपमा आफुले यहाँको शान्ति सुरक्षाका अलवा आफ्नो जिम्मेवारी कसैको दवावमा नपरी निभाउने  प्रतिबद्धता जनाइन् ।   दुर्गम जिल्ला जुम्लामा खटाइएकोप्रति खुशी प्रकट गर्दै उनले आफुले पाएको जिम्मेवारीलाई अवसर र चुनौती दुवै रुपमा लिएको बताइन् । 

प्रदेश ५ का महिलाहरुमध्ये उनी पहिलो सिडियो भएपनि अरु जिल्लामा जन्मेर पहिलो महिला सिडियो बन्नेमा स्याङ्गजाकी ईन्दु घिमिरे हुन् । अर्घाखाँची घर भएका गुल्मीका सिडियो यदुनाथ पौड्याल भन्छन– ‘  चेलीका हिसाबले  प्रदेश ५ मा पहिलो महिला सिडियो गुल्मीकी ईन्दु घिमिरे हुनुहुन्छ, अर्घाखाँचीमा भने दुर्गाजी नै पहिलो महिला सिडियो हुनुहुन्छ ।’

‘म अर्घाखाँची जिल्लावासीको हैसियतले अत्यन्तै गर्वित छु  र जुम्लामा उहाँको सफल कार्यकालको कामना गर्दछु ।’ पौड्यालका अनुसार गुल्मीमा जन्मेर स्याङ्गजामा पहिलो महिला सिडियो हुने इन्दु कपिलवस्तु हुँदै अहिले गृहमन्त्रालयको विपद व्यवस्थापन विभागमा सह–सचिव छन् । जुम्लामा पहिलो सिडियोको कार्यभार सम्हालेकी बञ्जाडेले जनप्रशासनमा एमफिल र जेण्डर एण्ड डेभलपमेण्डमा कोरियाबाट स्नातकोत्तर गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप