बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री सर्मिला मल्लको जीवन : निर्देशकले गाली गरेपछि बाथरुममा २ घण्टा रोएँ

शनिबार, २५ फागुन २०७५, १० : ४१
शनिबार, २५ फागुन २०७५

पुरानी अभिनेत्री हुन् सर्मिला मल्ल । एक समय उनी कान्छी अभिनेत्रीका रूपमा पनि परिचित थिइन् । फिल्म ‘कान्छी’ अभिनयपछि उनको यो परिचय बनेको हो ।
यो परिचय फिल्म ‘कान्छी’को नामको कारणले भन्दा पनि उनको उमेरका कारणले बनेको थियो । बीएस थापा निर्देशित यो फिल्म अभिनय गर्दा उनी १४ वर्षकी थिइन् । त्यतिबेलाका अभिनेत्रीमध्ये उनी नै कान्छी थिइन् । ‘कान्छी’ उनको डेब्यु फिल्म हो । त्यसपछि उनका लगातर दजर्नभन्दा बढी फिल्म आए । अभिनय सिलसिलामै सोे समय चलेका अभिनेता कृष्ण मल्लसँग प्रेम विवाह गरेकी उनी अहिले पनि फिल्म अभिनयमा सक्रिय छिन् । उनी अहिले फिल्ममा चरित्र अभिनेत्रीको भूमिकामा आफूलाई प्रस्तुत गर्दै आएकी छन् । बादल, लगनगाँठो र गोठालो तीन फिल्म निर्माण गरेकी उनी अहिले नयाँ प्रोजेक्टको तयारीमा छिन् । यिनै अभिनेत्री सर्मिलसँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।

मेरो खाना
नेपाली खाना दालभात तरकारी नै मनपर्छ । त्यसमा गोलभेडाको अचार अनिवार्य चाहिन्छ र साथमा डल्ले खुसार्नी पनि । म बिहान मात्र भात खान्छु । बेलुका सधैँ रोटी खाने हो । विदेशी खाना त्यति मीठो लाग्दैन । 
सिजलर, ह्याम बर्गर जस्ता खानेकुरामा मेरो रुचि छैन । विदेश जाँदा खाना नरुच्ने भएकाले डल्ले खुर्सानी लिएर जाने गरेकी छु । पकाउन रुचि छ । मासु धेरै मीठो पकाउँछु । अन्य तरकारी पनि मिठै हुन्छ । तर तरकारी छिटो काट्न सक्दिनँ । रेस्टुरेन्ट थोरै जानेमध्येमा म पनि एक हुँ ।

मेरो पोसाक
धेरै मनपर्ने पोसाक सारी हो । तर यो कम लगाउँछु । सारी लगाउन  अल्छी लाग्छ र धेरै समय पनि लाग्छ । रातो, कालो, अरेन्ज, पिङ्क लगायत कलरका पोसाक मनपर्छ ।
सारी लगाउनै पर्ने कार्यक्रमका लागि मात्र प्रयोग गर्छु । अन्य समय अरू पहिरन लगाउँछु । अहिले पोसाकमा धेरै खर्च छैन । किनभने म २२, २५ वर्ष अगाडि किनेको पोसाक अहिले पनि प्रयोग गर्दैछु । आफन्त नातेदारको विवाहलगायतयतका कार्यक्रममा जानुपर्दा आवश्यकता हेरेर सपिङ गर्छु ।

मेरो फिट्नेस
एक समय यस्तो पनि थियो, जुन बेला म योगा पनि गर्थें । एरोबिक पनि गर्दथेँ । त्यो सबै छोडेपछि घरमा ट्रेडमिल राखेर एक्सरसाइज गर्न थालेँ ।
अहिले केही समय भयो, त्यो पनि गरेकी छैन । घरमा ट्रेडमिल छन् । शरीरका लागि एक्सरसाइज अति आवश्यक छ, मैले बुझेकी पनि छु । तर अहिले एक्सरसाइज गरिरहेकी छैन । अब फेरि सुरु गर्छु ।

मेरो अध्ययन
केही समयदेखि कुनै पनि पुस्तक बढेकी छैन । पढ्न मनपर्छ । पहिले उपन्यास, कथा धेरै पढ्थेँ । त्यसमा सामाजिक, आध्यात्मिक पनि हुन्थ्यो । अरूले राम्रो छ भनेर सिफारिस गरेको पुस्तक पनि बढ्ने गरेकी छु ।

मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । रमाइलो लाग्छ । नेपालका धेरै ठाउँ अझै घुम्न बाँकी छन् । सुटिङको सिलसिलामा धेरै ठाउँ घुमेकी छु ।  तर आफैले चाहेर पुगेको ठाउँ थोरै छन् । विदेशका पनि धेरै देश घुमेकी छैन । अमेरिका त समय समयमा पुगने गरेकी छु । 
त्यसका अलवा कतार ६, हङ्कङ ६, थाइल्यान्ड ६ पटक घुमे । विदेश घुम्न मनपर्छ । अझै धेरै देश घुम्ने मन छ । 

मेरो फुर्सद
अहिले केही फिल्मबाट सुटिङको अफर आएका छन् । तर साइन गरेकी छैन । त्यसैले अहिले त फुर्सदै फुर्सद छ । फुर्सदमा साथीहरूसँग गेटटुगेदर गर्ने, घुमघाम गर्नेलगायत गर्छु । टिभी हेर्छु । घरको काम गर्न मनपर्छ ।

मेरो खेलकुद
खेल्नभन्दा पनि हेर्न रुचि छ । हेर्न क्रिकेट मनपर्छ । धेरै पहिले स्कुले जीवनमा बास्केटबल, ब्याडमिन्टन खेल्थेँ । यी खेलको राम्रो खेलाडीसमेत थिएँ म । अहिले पनि घरमा कहिले काहीँ ब्याडमिन्टन खेल्छु । धेरै हेर्ने क्रिकेट नै हो । छोराले पनि यो धेरै मन पराउँछ । 

मेरो मोबाइल
अहिले मसँग सामसुम ब्रान्डको मोबाइल छ । फोन गर्न, फेसबुक, भाइबरलगायत चलाउन मोबाइल प्रयोग गर्छु । छिटो छिटो मोबाइल फर्ने बानी छैन । ह्याङ, स्लो र काम नलाग्ने भयो भने फेर्छु ।

मेरो टिभी
टिभी नियमित बिहान एक घण्टा र बेलुका २, ३ घन्टा हेर्छु । बेलुका खतरोका खेलाडी, बिग बोसलगायतका कार्यक्रम कहिल्यै छुटाउँदिन । अन्य सिरियल १, २ वटा हेर्छु । टिभीमा बढी हेर्ने भनेको हिन्दी सिरियल नै हो । 

मेरो चलचित्र
चलचित्र सधैँ नभनौँ, कहिले काहीँ हेर्छु । हलमा गएर पनि हेर्छु । घरमा पनि हेर्छु । यथार्थपरक, सामाजिक, आर्ट किसिमका चलचित्र मनपर्छ । पछिल्लो समय हेरेको चलचित्र स्वदेशको ‘छक्का पन्जा ३’ बलिउडको ‘सिम्बा’ हो । साथीहरूले रिफर गरेको फिल्म पनि हेर्ने गरेकी छु । चलचित्र हेर्न हलमा पनि जान्छु । घरमा पनि हेर्छु । 

मेरो रोग
त्यस्तो ठूलो रोग त अहिलेसम्म केही छैन । एक रोग थाइराइड देखिएको छ । यसले सताएको ६, ७ वर्ष भयो होला । यसका लागि बिहान नियमित औषधि खाँदै छु । वर्षमा एक पटक होलबडी चेकअप गर्ने गर्छु ।

मेरो भाषाशैली
नेपालीमा प्रष्ट बोलेको मनपर्छ । चिप्लो घसेर बोलेको कहिल्यै मन परेन र अब पनि पर्दैन । चिप्लो घसेर बोलेको हो, होइन एक पटकमै थाहा हुन्छ । मन नपरेको कुरा म फ्र्याङ्क भन्छु । मलाई पनि त्यस्तो व्यक्ति मनपर्छ । पछाडि कुरा काट्ने व्यक्तिबाट सधैँ टाढा रहन्छु । 

मेरो मापसे
मापसे कहिलेकाहीँ गर्छु । नियमित गर्दिनँ । पार्टी, भोजभतेरमा मात्र गर्ने गरेकी छु । तर धेरै खान्न, नाम मात्रै । घरमा पनि सजाएर राखेका छौँ । बेलाबेलामा गिफ्ट आएको नै सजाएर राखेको हो । घरमा कहिलेकाहीँ गेटटुगेदर भएको बेला त्यही सदुपयोग हुन्छ । अहिले रक्सी घरमा सजाएर राख्ने चलन नै चलेको छ ।  

मेरो सङ्गीत
गीत–सङ्गीत धेरै मनपर्छ, त्यसमा आधुनिक र लोकगीत बढी । स्वर्गीय नारायण गोपालका गीतहरू अहिले पनि धेरै सुन्छु । अरुणा लामाको पनि सुन्छु । बलिउडका पनि धेरै गीत सुन्छु । लता मङ्गेस्कर, नेहा कक्करलगायतका गायिकाको गीत धेरै मनपर्छ । 

मेरो भूल
जीवनमा धेरै भूल भए होलान्, गरेँ पनि होला । तर यही भन्ने छैन । कुरा गर्दैगर्दा एउटा भुल याद आयो । कान्छी फिल्मको सुटिङमा म १३, १४ वर्षकी थिएँ । सो फिल्म मैले नायिका बन्छु, अभिनयमा जम्छु भनेर गरेकी थिइनँ । आफर आयो । गरौनत भनेर गरे । निर्देशक बीएस थापा थिए । उनी धेरै पुरानो निर्देशक पनि हुन् ।
एक पटक सुटिङ चलिरहेको थियो । ब्लुस्टारको सुटिङ प्याकअफ गरेर त्यसको बाँकी सिन ज्ञानेश्वरमा सेट लगाएर गर्ने कुरो थियो । निर्देशकले मलाई ४ बजे आऊ । मेकअप गर्दा ५ बज्छ । ५ बजे सुटिङ सुरु गर्ने भन्नुभएको थियो ।

सो समय सुटिङमा मसँगै आमा पनि हिँड्नुहुन्थ्यो । ४ बजे आउँ भनेर निर्देशकले भनेपछि हामी ३ बजेको फिल्म हेर्न गयौँ । आमाले हुँदैन, निर्देशकले गाली गर्नुहुन्छ भन्दाभन्दै पनि मैले ६ बजे गए पनि हुन्छ । हजुर जाने भए हिँड्नु नत्र म गएँ भन्दै हिँडे । त्यो दिन फिल्म सकेर सुटिङ स्थलमा पुग्दा साढे ६ बजिसकेको थियो ।

सो फिल्मका धेरै युनिट भारतबाट आएका थिए । म पुग्दा सबै टाउकोमा हात राखेर बसेका थिए । सो समय निर्देशकले एउटा फिल्म अभिनय गर्न पाएको छैन, आफूलाई सुपरस्टार सम्झने भन्दै गाली गरे । निर्देशकले गाली गरेपछि बाथरुममा गएर रुन थालेँ । करिब दुई घण्टा ढोका नखोली रोएर बसेँ । त्यसपछि बाहिर निस्किएर मेकअफ गर्दा फेरि केही घण्टा लाग्यो ।

त्यो समय मेरो कारणले करिब ५ घन्टा सुटिङ अवरोध भयो । अहिले त्यो समय मैले त्यस्तो गल्ती नगरेको भएहुन्थ्यो भनेर पछुतो हुन्छ । त्यो मैले जानेर भूल गरेको थिइनँ । तर नजानेर गरेको भुल भए पनि पछुतो अहिले लागिरहेको छ । त्यो मेरो जीवनको ठूलो भूल हो ।

त्यसपछि निर्देशकले मलाई गाली गरेर हुँदैन भन्ने ठानेछन् कि के हो, फकाएर काममा लगाउन थाले ।

मेरो प्रेम
पहिलो तथा अन्तिम प्रेम नै कृष्ण मल्लसँग भयो । प्रेमपछि विवाह गरेँ । अहिले पनि कृष्ण मल्लसँगै प्रेम चलिरहेको छ । विवाहपछि प्रेम झन् बढ्दो रहेछ । बाँच्नका लागि प्रेम महत्त्वपूर्ण छ । एकअर्काेको माया भयो भने बाँच्न सजिलो हुँदो रहेछ भन्ने बुझेकी छु । कृष्ण मल्लको प्रेमले गर्दा अहिलेसम्म म सक्रिय छु । 

मेरो सपना
मैले ठूलो सपना कहिल्यै देखिनँ । महत्त्वकाङ्क्षा पनि बढी राखिनँ । मेरो एउटा राम्रो चलचित्र बनाउने अहिले सपना छ । जसको लेखन कार्य भइरहेको छ । यस अगाडि दुई चलचित्र बनाएकी छु । एउटाले राम्रो व्यवसाय गर्यो । अर्काे राम्रो हुन सकेन । अहिले सबै कुरामा परफेक्ट  र व्यावसायिक फिल्म दिने सपना छ । 

मेरो राशि
मेरो राशि बृष हो । ग्रह दशा कहिल्यै पनि हेराएकी छैन । विश्वास त लाग्छ । तर हेराउँदा केही भनिदियो भने धेरै डर लाग्छ । त्यसैले हेराउँदिनँ ।

मेरो मृत्यु
मृत्यु कटु सत्य हो । यो नचाहेर पनि स्वीकार्नुपर्छ । जन्मेपछि एक दिन मर्नुपर्छ । जन्मनु नै एक दिन मर्नका लागि हो । मेरो भगवानसँग जहिल्यै पनि एउटै प्रर्थाना छ । रोग नलागी, कसैलाई दुःख नदिई, आफैले पनि दुःख नपाई सजिलै मृत्युवरण गर्न सकौँ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप