केन्द्रीय संस्करण
अन्तरवार्ता

नेपाली भाषाका भीष्मपितामह हुन् बालकृष्ण पोखरेल : चूडामणि रेग्मी

२०७२ को शब्दकोश उल्ट्याएपछि नेपाली भाषाको चीरहरण भयो

person explore access_timeफागुन २५, २०७५ chat_bubble_outline0
मोहन दाहाल

रातोपाटी

बालकृष्ण पोखरेल१९९० साउन ३० गते भाद्र कृष्णाष्टमीका दिन मकवानपुरको चिसापानीगढीमा शारदा पोखरेल र छायादेवीका सुपुत्रका रूपमा जन्मिएका थिए । पोखरेलले औपचारिक शिक्षा २००३ सालमा विराटनगरको तत्कालीन त्रिजुद्ध हाइस्कुल (हालको आदर्श मावि)बाट सुरु गरेका थिए । अध्ययनकै क्रममा २००७ सालमा दरबार हाइस्कुलमा कक्षा १० मा भर्ना भएको भन्ने पनि पाइन्छ । यस्तै २०१६ मा कोलकात्ता विश्वविद्यालयबाट तुलनात्मक भाषाविज्ञानमा प्रथम श्रेणीमा एमए उत्तीर्ण गरी निरन्तर अनुसन्धानमा लागिरहेकाले अधिकांशले उनलाई भाषावैज्ञानिक मान्ने गरेका छन् । बनारसमा अध्ययन गर्दा ‘नौलो पाइलो’ पत्रिकामार्फत चलाइएको झोर्रोवादी आन्दोलनबाट उनी विशेष चर्चित छन् । 

राणा शासक र पञ्चायती शासकको हालीमुहाली भएको परिवेशमा जन्मी, हुर्किएका पोखरेलले छद्म नामबाट साहित्य रचना र सार्वजनिक गरेको पाइन्छ । रूपावासी, वसन्त, वत्सल, ईसावापुर, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साइँलो, हिमालपाने बराल आदि उनका साहित्यिक उपनाम हुन् । (८६ वर्षीय पोखरेलको फागुन १२ गते आइतबार बिहान साढे १ बजे विराटनगरस्थित घरमै उनको निधन भएको हो ।)  

पोखरेलले ‘एउटा भाषिक निबन्ध’ शीर्षकको लेख २००८ सालको ‘युगवाणी’ पत्रिकामा प्रकाशन गरी सार्वजनिक लेखन यात्राको सुरुवात गरेको पाइन्छ । उनका गहन अनुसन्धानात्मक प्रकाशित कृतिहरूमा ‘खस जातिको इतिहास’ (२०५५), ‘पाँच सय वर्ष’ (२०२१), ‘हिमाली साहित्य’ (भाग ४–१०), ‘नेपाली भाषा र साहित्य’, ‘एक मन सात चिन्तन’ (समालोचना), ‘राष्ट्रभाषा’ (भाषिक कृति), ‘झर्रा शब्द्यौली कोश’ (२०६४) आदि छन् । पछिल्लो समय उनी ‘रूप रानी’ महाकाव्यको रचना गरिरहेका थिए भन्ने जानकारी पाइन्छ । उक्त महाकाव्य नेपाली र अङ्ग्रेजी दुवै भाषामा लेख्दै थिए तर त्यसले पूर्णता पाउन सकेन ।
पोखरेलले ‘नेपाली भाषा र साहित्य’ कृतिले २०२१ सालमा मदन पुरस्कार प्राप्त गरेको थिए  । यसका अतिरिक्त उनले प्रतिभा पुरस्कार, गोपाल पाण्डे असीम पुरस्कार, झपट पुरस्कार, उदयानन्द पुरस्कार, पृथ्वी प्रज्ञा पुरस्कार प्राप्त गरेका छन् । 

विसं २०१९ देखि त्रिभुवन विश्वविद्यालयबाट प्राध्यापन सुरुवात गरेका पोखरेलले २०२७ सालदेखि २०३६ सालसम्म महेन्द्र मोरङ क्याम्पसमा र स्नातकोत्तर क्याम्पस खुलेपछि सोही क्याम्पसमा भाषाविज्ञान प्राध्यापन गरेका र २०४६ मा अवकास लिएर स्वतन्त्र अध्ययन अनुसन्धानमा समर्पित थिए ।

भाषाशास्त्री पोखरेल एक कार्यकाल २०३६ सालदेखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सदस्य बनेका थिए । उनको नेतृत्वमा छापिएको नेपाली बृहत शब्दकोश २०४० ले झर्रो शब्दलाई स्वीकार्यो । प्राडा माधव पोखरेलका अनुसार ‘नौलो पाइलो’मार्फत सुरु भएको झर्रो आन्दोलन बत्ती बनेर नेपाली बृहत शब्दकोशका रूपमा सल्किएको थियो । 

भाषाको तुलनात्मक अध्ययनको सुरुवात बालकृष्ण पोखरेलले नै गरेका थिए । ‘नेपाली’ भन्ने पत्रिकामा ‘नेपाली भाषाको कथा’ शीर्षकको लेख लेखेर नेपाली भाषालाई ऐतिहासिक रूपमा वर्गीकरण गरेका थिए । उक्त लेखमा विसं १५५५ भन्दा अघिको नेपाली भाषालाई प्राचीन काल, यसपछि पृथ्वीनारायण शाहको समयभन्दा अघि माध्यमिक काल र पृथ्वीनारायणपछिको नेपाली भाषालाई आधुनिक काल भनेर भाषाको कालक्रमिक वर्गीकरण गरेका छन् । 

यसैगरी नेपाली भाषिकाका बारेमा ५ वटा भाषिका छन् भनेर राष्ट्रभाषा (०२२) पुस्तकमा उल्लेख गरेका छन् । अझै पनि विश्वविद्यालयमा नेपाली भाषिकाको अध्ययन गराउँदा उनको यो वर्गीकरणलाई आधार मानिदै आएको छ । नेपाली भाषाको अभिलेखलाई व्यवस्थित तरिकाले देखाउने कार्य पोखरेलले पाँच सय वर्षमा गरेका छन् । उनले पाँच सय वर्षका नेपाली भाषाका अभिलेखहरूलाई कालक्रमअनुसार प्रस्तुत गरेका छन् ।  

यसरी २३ वर्षको हुँदादेखि नेपाली भाषाको मानक निर्धारणका लागि समर्पित पोखरेलले युवा अवस्थामा नै झर्रोवादी आन्दोलनको सुरुवात गरेका थिए । उनीसहित नेपाली भाषाका चिन्तकहरूले नेपाली भाषामा तीन किसिमले आक्रमण भयो, यो बिटुलियो भन्दै झर्रोवादी आन्दोलन थालेका थिए । अङ्ग्रेजी, हिन्दी र संस्कृत भाषा जान्नेहरूले नेपालीमा जबरजस्ती अन्य भाषाका शब्द घुसाइदिए र बिटुल्याए भन्ने पोखरेलको भनाइ पाइन्छ । यही आन्दोलनले नेपाली भाषामा प्रयोग हुने आगन्तुक शब्दको नेपालीकरण गर्ने काम पनि सुरु गरेको थियो । ‘स्कूल’ दीर्घ नलेखेर ह्रस्व ‘स्कुल’ लेख्ने, ‘शहर’ शब्दमा पातलो ‘स’ प्रयोग गर्ने ‘गरीब’ पनि ह्रस्व ‘गरिब’ लेख्ने आदि कार्य त्यतिबेलै सुरु भएको पाइन्छ ।

भर्रोवादी आन्दोलनले नेपाली भाषालाई मौलिक पहिचान दिन अतुलनीय योगदान गरेको छ । यस आन्दोलनले नेपाली भाषालाई स्तरीयताको उचाइमा पुर्यायो र त्यसलाई केही हदसम्म लिप्यात्मक रूप दिँदै नेपाली बृहद् शब्दकोश २०४० मार्फत स्थापित गरेको छ । प्रस्तुत छ उनै भाषाशास्त्री पोखरेलले नेपाली भाषासाहित्यमा चलाएको झर्रोवादी आन्दोलनका बारेमा उनका चेला तथा झर्रोवादी आन्दोलनका पाँचौँ खम्बा प्राडा चूडामणि रेग्मीसँग मोहन दाहालले गरेको कुराकानीः

–बालकृष्ण पोखरेलसँग कहिले, कसरी भेट भयो ?
बालकृष्ण पोखरेलसँग २०१२ सालदेखि चिनजान भएको हो । बनारसलाई उकासेर चैनपुरलाई फालिएको छ यो झर्रो नेपाली आन्दोलनमा । धेरैजनाले धेरै कुराहरू गर्नुहुन्छ, ठुलाठुला कुराहरू गर्नुहुन्छ । झर्रोवादको सुरुवात धेरैले बनारसबाट भन्नुहुन्छ । त्यो जन्मिएको त चैनपुरबाट हो नि । बालकृष्ण पोखरेलले अरूकै संस्थाबाट, अरूकै पत्रिकाबाट, अन्तैबाट अरू नै संस्थाबाट झर्रो नेपाली प्रचार गर्ने भए । २०१२ सालमा चैनपुर किन जान्थे ? त्यसपछि यो ‘नौलो पाइलो’ पत्रिका निस्कियो । बनारसका विद्यार्थीहरूले नौलो पाइलो निकालिएको त हो तर त्यो चैनपुरको पत्रिका त हो नि त । कसरी बनारसबाट झर्रो आन्दोलन भयो ? आफ्नो देशको पहाडी भागबाट उत्साही बनाको । चूडामणि, मादीको बल्लभमणि दाहाल, चैनपुरका पत्रकार रुद्रनाथ शर्मा आदि मिलेर चैनपुरबाट निस्किएको पत्रिको हो यो । बनारसमा छापिँदैमा बनारसबाट निस्किएको पत्रिका हुँदैन त्यो ।

२०१२ सालमा स्थापना भएको जनसांस्कृतिक सभा चैनपुरले ‘नौलो पाइलो’ पत्रिका निकाल्ने भयो । त्यो नौलो पाइलो पत्रिकाको प्रधान सम्पादकमा बालकृष्ण पोखरेल, सम्पादक मण्डलमा त्यो जनसांस्कृतिक सभाका हर्ताकर्ता महान्त्री कोषराज रेग्मीसहितको बल्लभमणि दाहाल, म, रुद्रनाथ  शर्माको सम्पादक मण्डलमा जनसांस्कृतिक सभाबाट चुनिएका  थियौं  । अनि बनारसबाट पत्रिका छापिने बेलामा मेरो दाजुले के भन्नुभयो भने “हेर कान्छा, हामीले तारानाथ शर्मालाई हुल्नुपर्ने भयो, यो अलि बलियो पार्नलाई, तैँले छाडिदे ।” मैले हुन्छ, छाडिदिन्छु  भनेपछि  तारानाथ शर्मा पनि त्यसको सम्पादक मण्डलमा रहनुभएको हो । त्यसैले झर्रो नेपाली आन्दोलनको पहिलो नम्बरको नाउँ बालकृष्ण पोखरेलको हो । दोस्रो नाउँ कोशराज रेग्मीको हो । तेस्रो नाउँ बल्लभमणि दाहालको हो र चौथोमा तारानाथ शर्माको हो । म चाहिँ त्यसबेला बालखै थिएँ भन्नुपर्छ । म १९९३ सालको हुँ ।  १३ सालमा म २० वर्षको थिएँ । त्यतिखेर २० वर्षको मान्छे बालखै हुन्छ । अहिले जस्तो जान्ने बुझ्ने होइन । 

त्यसैले बालकृष्ण पोखरेल, कोशराज रेग्मी, बल्लभमणि दाहाल र तारानाथ शर्माले झर्रो नेपाली आन्दोलन प्रचार प्रसार गरेका हुन् । कुनै आन्दोलन चाहिँ भएको होइन । नौलो पाइलो पत्रिकामा ‘झर्रो नेपाली साहित्य र संस्कृतिको नमुना’ भन्ने ब्राकेटमा लेखिएको छ । त्यति मात्रै हो त्यो । अरू सबै झर्रो शैलीमा लेख्ने मान्छे बालकृष्ण पोखरेल तारानाथ शर्मा हुन् । कोशराज रेग्मीले चाहिँ त्यसको जगमा लामो समयसम्म ‘जनवार्ता’ निकाल्नुभएको हो । जनवार्ता पत्रिकामा लामो समयसम्म सम्पादक्यौली भनेर लेख्नुभयो । यसरी नै झर्रो नेपाली आन्दोलनको सुरु भएको हो । 
बालकृष्ण पोखरेललाई हामीले प्रेरक दाजुको रूपमा, अग्रज दाजुका रूपमा र झर्रो नेपाली आन्दोलनका भीष्मपितामहका रूपमा मानेको जान्दछु म । 

–उहाँसँग कति समय सङ्गत गर्नुभयो ? उहाँसँग सम्बन्धित रमाइला अथवा केही नरमाइला घटना केही छन् ? 
सँगै काम त कुनै कसैले गरेनौँ हामीले । किनभने १३ सालमा बनारसबाट पत्रिका निक्लियो, कोशराज रेग्मीले निकाल्नुहुन्थ्यो । उहाँको लेख पनि हुन्थ्यो, उहाँले सम्पादन पनि गर्नुहुन्थ्यो । तर सम्पादकीय चाहिँ एक अङ्कमा तारानाथ शर्माले लेख्नु भयो, एक अङ्क बालकृष्ण पोखरेलले लेख्नु भयो, त्यस्तै त्यस्तै.... । सँगै बसेर काम भनेको त कुनै भए जस्तो त लाग्दैन । तर झर्रो नेपाली विचारधारामा रहेर काम भने हामीले गर्याैँ । 
म चाहिँ २०२१ सालमा मेची बहुमुखी क्याम्पसमा विद्यालयमा प्राध्यापक भएर आएपछि झापा जिल्लाबाट झर्रो नेपालीमा काम गर्न थालेँ । कहिले बालकृष्ण पोखरेल र तारानाथ शर्मा बाज्ने, कहिले कोशराज रेग्मी र बालकृष्ण पोखरेल बाज्ने विराटनगरमा । यो मिलाउने काम त बेलाबेलामा मैले गर्ने गरेको हुँ  । सहकार्य भनेर त्यस्तो खास केही भएको होइन । 

विराटनगरबाट जनवार्ता पत्रिका निकाल्नु हुन्थ्यो, त्यहाँ बालकृष्ण पोखरेलले लेख्नुहुन्थ्यो, म लेख्थेँ, तारानाथ शर्माले लेख्थे । मैले तारानाथ शर्माको विरोधमा पनि  लेखेँ, तारानाथ शर्माले पनि  मेरो विरोधमा लेख्नुभयो । कहिलेकाहीँ कहिलेकाहीँ बालकृष्ण पोखरेल र तारानाथ शर्माको झगडाको  वातावरण भयो । काठमाडौँमा एकअर्कासित नबस्ने स्थिति पनि भयो । त्यस्तो त्यस्तै धेरै नाटकहरू भएका छन् । 
झर्रोवादी आन्दोलनमा बालकृष्ण पोखरेललाई भीष्मपितामह भनी पछि मानिएको हो । नेपाली भाषामा एमए भएर आएर उहाँले प्राध्यापन गर्नुभयो, युनिभर्सिटीमा त्यो झर्रो नेपालीसहितको । त्यस्तो स्थितिमा कृष्णप्रसाद पराजुलीले, जनकप्रसाद हुमगाईं, धेरैजनाले झर्रोवादी आन्दोलनको प्रचारप्रसार गरे । श्यामप्रसाद शर्मा हुनुहुन्थ्यो मुख्य मान्छे । वीरगन्जको हुनुहुन्थ्यो श्यामप्रसाद शर्मा । श्यामप्रसाद शर्मा, बालकृष्ण पोखरेल कम्युनिस्ट हुनुहुन्थ्यो विचारधाराले, महानन्द तिवारी फेरि आउनुभयो । 

अहिले बालकृष्ण पोखरेल वित्नु भयो । उहाँ हाम्रो आदरणीय नै हुनुहुन्थ्यो । उहाँ नेपाली भाषाका भीष्मपितामह हो । मैले नै उहाँलाई जुही शिरोमणि पदवीले सम्मान गरेँ, पछि झर्रो नेपाली शिरोमणि भनेर हामीले नै २०६६  सालमा सम्मान गर्याैं  ।  यसरी उहाँको सम्मान पनि राम्रै भएको हो ।

उहाँले युग ज्ञान साप्ताहिकमा भाषा विषयमा स्तम्भ नै लेख्नुहुन्थ्यो । त्यसमा पनि  नेपाली भाषासम्बन्धी धेरै कुराहरू थिए । युगज्ञानको भासेली सुरेली  भन्ने स्तम्भ थियो । त्यसमा धेरै  कुरा छन् । मैले २०, २१ सालदेखि झापा जिल्लामा  झर्रो नेपाली आन्दोलन बढाएर लगेदेखि मैले तारानाथ शर्माका पनि लेखहरू छापेँ, मोहनराज शर्माका लेखहरू पनि  छापेँ । यसरी नै माधव भँडारीहरूका लेखहरू पनि छापेँ । म आफैले झर्रो नेपालीबारे  युग ज्ञान साप्ताहिक, जुही त्रैमासिक, यथार्थ कुरा पाक्षिकलगायतमा लामो समयसम्म झर्रो नेपालीको उन्नति हुने   काम गरेँ । 

–झर्रो नेपालीका मान्यताहरू कति स्थापित भए  ? 
उता तेस्रो आयाममा चाहिँ इन्द्रबहादुर राईले भनेको सबैले मान्ने  । अनि इन्द्रबहादुर राईले पनि  सबैले गरेको  मानबमोजिम व्यवहार गर्ने  तर यता त्यस्तो भएन ।  लीला लेखनमा पनि त्यस्तै भयो, इन्द्रबहादुर राईले, त्यसैले आफ्ना सिद्धान्त अघि बढाए ।  हाम्रोमा त्यस्तो भएन ।   नेपाली एकता भएन, छरिएर गयो झर्रो नेपाली । झर्रो नेपाली छरिएको आन्दोलन भयो । अनि लामो समय विरोध गर्ने र लामो समयपछि सहमत गर्ने पनि भयो । त्यो झर्रो नेपालीको सजिलो रूप भनेकै नयाँ सिद्धान्त लागू भए पनि २०४० सालमा नयाँ शब्दकोश छापेको हो । शब्दकोशको विरोध पनि अति भयो ।   

अहिले चाहिँ नयाँ वर्णविन्यासको प्रारम्भ मैले गरेँ र त्यो वर्ण विन्यासको कार्यान्वयन चाहिँ हेमाङ्गराज अधिकारी विद्वानका हैसियतले उहाँहरूले अपनाउनुभयो र भाषावैज्ञानिक तरिकाले नयाँ मान्यताका रूपमा मैले जिम्मा लगाएँ । तर दुई वर्ष अगाडि उल्ट्याइयो । 

–अलिकति चाहिँ स्थापित भएको हो कि केही भएकै छैन ?
बालकृष्ण पोखरेल चाहिँ प्राज्ञ हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा त्यो शब्दकोश निस्कियो तर शब्दकोश निर्माणमा मुख्य हात चाहिँ बल्लभमणि दाहालको छ । यस विषयमा बद्रीविशाल भट्टराईलाई विस्तृत रूपमा थाहा छ, उहाँले यस शब्दकोशमा पीएचडी गर्नुभएको हो । 

सही कुरा के हो भने झर्रो नेपालीको ३ कार्यकाल भइसक्यो अहिले । पहिलो चरण बालकृष्ण पोखरेल, तारानाथ शर्माहरूको हो । त्यो २२ सालसम्म हो । २०२३ सालदेखि दोस्रो कार्यकाल, अर्थात दोस्रो चरण सुरु भयो । यो चरणमा हाम्रो भद्र गुरुको मैले निकालेको मोती भन्ने पत्रिका र कृष्णप्रसाद पराजुलीले निकालेको राम्रो रचना मीठो नेपाली २३ सालमा प्रकाशित भएका हुन् । तिनबाट नयाँ अथवा दोस्रो चरण सुरु भएको छ । 

दोस्रो चरणमा चाहिँ  युनिभर्सिटी स्थापना हुनु, तिनमा शोधहरू हुनु, शब्दकोशहरू निस्कनु, धेरै थेसिसहरू हुनु, धेरै किताबहरू निस्किनु, धेरै पिएचडीहरू धेरै भए । अनि नयाँ शिक्षाका कुराहरू लागू हुनु, अनिवार्य नेपालीका गोष्ठीहरू हुनु, यी सबै कार्यहरू दोस्रो कार्यकालमा भएका छन् । चूडामणि बन्धु, मोहनराज शर्मा, माधवप्रसाद पोखरेल, हेमाङ्ग अधिकारीहरूको नेतृत्व छ । 

अब तेस्रो कार्यकाल चाहिँ मबाट भएको भन्ने कुरा चाहिँ अहिले उठिरहेको छ । अब त्यो चाहिँ २०५० पछि, नयाँ वर्णविन्यासको काल । अब रह्यो, झर्रो नेपाली आन्दोलन भनेको के रहेछ भने ठेट शब्द प्रयोग गर्ने, शब्दहरू बनाउने, अत्यधिक संस्कृतीकरण हुन रोक्ने, अत्यधिक हिन्दी वाक्यहरूलाई रोक्ने, अङ्ग्रेजी धेर घुसाउनेलाई रोक्ने मात्रै रहेछ यो । व्याकरणका दृष्टिकोणले चाहिँ झर्रो नेपाली आन्दोलन अलिअलि गर्न खोजेका थिए, बाङ्गबुङ्ग उहाँले त्यो थाम्नै सक्नु भएन । अलि अलि मात्र सुरु गर्नुभएको थियो उहाँले । यसो अलिअलि ओर्तिर पर्तिर सार्ने काम मात्र भएको थियो । 

नयाँ वर्णविन्यास चाहिँ कहाँबाट सुरु भयो भन्दा नयाँ शिक्षा लागू भए पनि बल्लभमणि दाहालको नेतृत्वमा युनिभर्सिटीमा भयो । उनले देशव्यापि रूपमा चाहिँ उनले सङ्गठन गर्न सक्षम थिए । हामीले ठट्टा गरेर भन्थ्यौँ, बालकृष्ण पोखरेल र तारानाथ शर्मालाई माक्र्स र एङ्गेल्स भन्थ्यौँ । अलि ठालुठालु, अलिक कमान्ड राखेर काम गर्नुभएकाले कोशराज रेग्मीलाई स्टालिन भन्थ्यौँ । भित्रभित्रै विद्वत्वतापूर्ण ढङ्गले सङ्गठन गर्नुहुने बल्लभमणिलाई लेनिन भन्थ्यौँ हामी । हो, त्यो लेलिनले नै पीएचडी गरेर आयो अनि सम्पूर्ण नेपाली वर्णविन्यासको सम्पूर्ण योगदान नै वल्लभमणि दाहालको हो ।

ती वर्णविन्यासमा भएका कुराहरूलाई सूर्यविक्रम ज्ञवालीदेखि आएर अहिलेसम्म चाहिँ मतमतान्तरका कुराहरू एक ठाउँमा पारेर नयाँ वर्णविन्यास प्रस्तावित थियो मेरो ।  प्रस्तावित वर्णविन्यास केही भयो । २०६६ सालमा यहाँ भाषिक भेला भयो । भाषिक भेलाले चन्द्रगढी घोषणा पत्र निकाल्यो । चन्द्रगडी घोषणापत्र अब नयाँ वर्णविन्यासका रूपमा आयो । त्यसपछि एकेडेमीले अर्को एउटा गोष्ठी गर्यो, त्यसमा प्रस्ताव पास भयो । अनि हेमाङ्गराजले एउटा जुन शब्दकोश निकाल्नुभयो, त्यो अर्को भयो । जसलाई उल्ट्याइयो नि त्यो । काँकडभित्ता सम्मेलन अर्को भयो । त्यसरी नै नयाँ व्याकरण स्थापित भइसकेको थियो । 

त्यो सबै कुरा बल्लभमणि दाहालले सम्पूर्ण कलेजहरूमा अनिवार्य नेपाली गोष्ठी गराएर सम्पूर्ण आगन्तुक शब्दमा ह्रस्व लेख्ने, आगन्तुक शब्दमा दन्त्य स लेख्ने, क्रमशः नेपालीमा दन्त्य स लेख्दै जाने व्यवस्था भयो । खगेन्द्रप्रसाद लुइँटेल जस्ता केही व्यक्तिहरूले विरोध गरे र त्यसखालका केही विद्वान भएर त्यसलाई उल्ट्याए । त्यो उल्ट्याएपछि नेपाली भाषाको चीरहरण भयो । त्यसपछि बालकृष्ण पोखरेल र तारानाथ शर्माको पनि सहमती भयो । 

–बालकृष्ण पोखरेलको त्यसमा सहमती थियो र ?
थियो, भयो । त्यो ललीतपुर घोषणापत्र, त्यो दुर्भाग्यपूर्ण छ त । अनि उहाँलाई अलमल्याए । उहाँ बुढो मान्छे, भुल्याए । त्यसैले बालकृष्ण पोखरेल र तारानाथ शर्मा भुलिए । त्यो चाहिँ अब उल्टिएर गयो । उल्टिएर मुद्दा परेपछि सर्वोच्चमा सुशीला कार्कीले पनि केही गर्नुभएन, अहिलेको न्यायाधीशले पनि रोकेर उल्ट्याइएको छ । अहिलेका नेताले त सुल्ट्याएर काम गर्ने सक्दैनन् । नेपालमा कुनै कुरा पनि गर्न सक्दैनन् अब । नेपाल अहिले अराजक जस्तो भएको छ । म चाहिँ अहिले अलि सुस्ताएको छु, तर पनि काम गरिरहेको छु । 

बालकृष्ण पोखरेल नेपाली भाषाको विशिष्ट व्यक्तित्व हुनुहुन्छ । झर्रो नेपालीको नायक हुनुहुन्छ  । झर्रोवादको जन्मदाता हुनुहुन्छ ।  उहाँका धेरै शिष्यहरू छन् । उहाँले लामो समयसम्म नेपाली भाषा साहित्यको क्षेत्रमा काम गर्नुभयो । उहाँ अत्यन्त सहनशील व्यक्ति हुनुहुन्थ्यो ।  दिलो ज्यान दिएर काम गर्नुहुन्थ्यो । सबैले उहाँलाई भीष्मपितामहका रूपमा मान्थे । सबैका गुरुणां गुरु पनि भन्नुभएको छ माधवप्रसाद पोखरेलले । सही कुरा हो, हामी सबैको गुरु नै हो उहाँ । 

तर नेपाली भाषाको दुर्भाग्य छ अहिले । उहाँबाट पनि केही नलागेर अलि बिस्राउनु भयो होला । धेरै लामो समयसम्म धेरै लेख्नु भयो ।  धेरै कुरा लेख्नुभएको छ । सयभन्दा बढी किताब लेख्नुभएको छ उहाँले विभिन्न उपनाममा । वास्तवमा उहाँ वित्दामा एउटा नेपाली भाषाको ठूलै व्यक्तित्व वित्नुभएको मान्नुपर्छ हामीले । यसले मलाई व्यक्तिगत रूपमा पनि ठूलो चोट परेको छ । किनभने म त केही जानेको होइन, संस्कृतमा आचार्य हुँ ।

बनारसमा मलाई नेपाली व्याकरण सिकाउने मान्छे पनि पहिले उहाँ नै हो । मलाई अहिलेसम्म पनि उहाँले तँ पाँचौँ होस भनेर भन्नुभयो, पाँचौँ भन्नुभएको थियो उहाँहरूले । हिरक जयन्ती मनाउँदा, एउटा साइनबोर्ड हुन्छ नि त्यो साइनबोर्डमा पाँचौँमा मेरो नाम छ । मलाई शास्त्रीय पुरस्कार दिएर उहाँ वित्नुभयो । किनभने उहाँ केही उपकार गर्नुभएको छैन अहिलेसम्म, ज्ञान दिनुभयो । म झर्रो नेपालीको एकलव्य हुँ । गुरुहरूले मलाई केही नदिए पनि मभन्दा योग्यलाई प्रोमोसन दिनुभयो । उनी आचार्य पनि थिए, एमए पनि थिए  कृष्णप्रसाद वस्ती । तर उहाँले मैले अन्याय गरेँ भन्नुभएको थियो । त्यस्तो अन्याय चाहिँ होइन त्यो ।


 
– अहिले झर्रो आन्दोलन अगाडि बढाउने तपाईं मात्र हो ?
झर्रो आन्दोलनलाई नछोडेको मान्छे चाहिँ म मात्र हुँ । झर्रो नेपालीको म हुँ भन्नुहुन्छ तारानाथ शर्मा पनि । हो पनि तर उहाँ नायक हुनुभएन, त्यो चाहिँ हो । किनभने नायकले आफ्नो धर्म छोडेर । आफ्नो धर्म छोडेर हिँडेपछि त्यसको नायक त्यो हुँदैन । झर्रो नेपालीको उन्नयन गर्नु, त्यसैको । अहिले केही गर्न सक्दिनँ र पनि झर्रो नयाँ नीति निकालेको छु । त्यो नीति के हो भने तारानाथ शर्माहरूको पुरानो मान्यता मात्र झर्रो भनेर एक ठाउँमा थुन्न पाइँदैन । अब उदार चरित्रको झर्रो चाहियो । वर्णविन्यासको कुरा बेग्लै हो, झर्रो शैलीको कुरा बेग्लै हो । 

झर्रो शैली सबैको आआफ्नै हुन्छ । ज्ञानेन्द्रको पनि छ झर्रो शैली । अहिलेका उखान टुक्के र उखाने भनेर किन गाली गर्नुहुन्छ प्रधानमन्त्रीलाई ? उनी त नेपाली भाषाका भक्त हुन्, उनले राम्रोसँग शुद्ध नेपाली भाषा बोलेको छन् । अङ्ग्रेजी, हिन्दी भाषा हालेर नेपाली भाषा बोलेका छैनन नि । हाम्रा निम्ति त महान् व्यक्ति हुन् खड्गप्रसाद ओली । 

झर्रो शैलीमा अहिले पनि मान सम्मान गर्न खोज्दैछु, पुरस्कार राशि राख्न खोज्दै छु । नयाँ ढङ्गले केही गर्न खोज्दै छु । बालकृष्ण पोखरेललाई पनि  पुरस्कारका नाममा राख्न खोज्दैछु ।  

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...