शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हेलम्बु बनाउँदै हुम्ली र बर्दियाका थारु : कमाएको पैसा दारुमा ठिक्क ! (भिडियो रिपोर्ट)

आइतबार, २६ फागुन २०७५, १० : १२
आइतबार, २६ फागुन २०७५

सिन्धुपाल्चोक

यो खोलमा न्याउली थियो, किन कराउँदैन

घर त टाढा भएपनि, माया हराउँदैन

गाई चर्ने रंगबन, भैसीलाई बन छैन

उडुँ भने पंख छैन, बसने मन छैन.....

कल्लु चौधरीले सिन्धुपाल्चोकको मेलम्चीघ्याङ, हेलम्बुमा घर बनाउँदै गर्दा गाएको गीतको एक टुक्रा । घर बनाउने सीप भएका चौधरीको स्थायी ठेगाना बरहैया ताल, बर्दिया हो । सिन्धुपाल्चोकको अन्तिम गाँउ मध्येको एक मेलम्चीघ्याङमा उनी २ वर्षदेखि भूकम्पले भत्काएका घर बनाउने काम गरिरहेका छन् । गत वर्ष भने चौधरी यहाँको स्कूल निर्माणमा खटिएका थिए ।

घरको गारो लगाउने, मसला दिने, घर बनाउँदा जे–जे काम आइपर्छ त्यही गर्न सक्छन् उनी ।

भूकम्पले भत्काएका घर बनाउन मजदुरका रुपमा बर्दियाबाट उनीजस्तै १७ जना हेलम्बुमा काम गरिरहेका छन् । बिहान बेलुका खाना खाएर सहयोगी मजदुरले दिनको ८ सय र गारो लगाउनेले १ हजार ज्याला पाउने गरेका छन् ।

कल्लु चौधरीले घर बनाउने काम थालेको झन्डै ७ वर्ष भयो । उनले यसअघि ढुङ्गाको गारो लगाएर घर बनाउने काम गरेका थिएनन् । धेरैजसो इटाको गारो लगाउने उनलाई हेलम्बुमा ढुङ्गाको गारो लगाउने काम अलि अप्ठेरो पनि लागेको छ । घर बनाउन उनी इलामदेखि ताप्लेजुङसम्म पुगेका छन् ।

हेलम्बुको हावापानी उनलाई राम्रो लागेको छ । ‘यहाँ चिसो छ, मच्छर लाग्दैन । तर बर्दियामा जन्मेहुर्केको मान्छेलाई हिमालको छेउमा चिसो चाँही लाग्ने गरेको छ,’ उनी भन्छन् ।

४५ वर्षका चौधरीले घर बनाउने काम गर्न आफ्ना २२ वर्षका छोरालाई पनि सँगै ल्याएका छन् । घरमा उनका बा, श्रीमती, बुहारी, २ छोरी र नातिनी छन् । आफू पथ्थरीको बिरामी भएको र साथी पनि हुने भएकोले छोरालाई साथमै राखेको उनले बताए ।

कमाएको पैसा रक्सी चुरोटमा : पक्की घर बनाउनेको कच्ची घर

चौधरीले घरमा अहिलेसम्म जम्मा १० हजार मात्र पठाएका बताए । अघिपछि उनले घरमा पैसा पठाउने गरेका छैनन् । परिवारले आफैले कमाएर घरखर्च धान्ने गरेको उनले सुनाए । उनले कमाएकोे पैसा रोगका उपचार गर्न, रक्सी र चुरोटमा खर्च हुने गरेको छ । ७ वर्षदेखि विभिन्न ठाउँमा पुगेर घर बनाउदै हिँडेका उनको आफ्नै घर भने छैन । अहिले उनी घरका लागि १ कठ्ठा जग्गा किन्ने सुरमा छन् । उनको गाँउमा भने माटोको घर छ ।

जातीय आधारमा पनि जाड रक्सी खानु आफ्नो परम्परा रहेको उनले सुनाए । उनले भने–‘घरमा हुदा आफैले जाँडरक्सी बनाइन्छ, बाहिर गएरपछि त्यसकै लागि खर्च हुन्छ ।’ सानोमा स्कूल जान नपाएका कल्लुले प्रौढ शिक्षा पढेर आफ्नो नाम र ठेगाना लेख्न सक्छन् । धेरै समय सडक निर्माणका लागि डोटी अच्छाम पुगेर पनि काम गरेको पनि उनले सुनाए ।

पथ्थरीका रोगी कल्लुलाई उनका छोराले ‘म काम गर्छु तपाईं घरमा बसेर घर व्यवहार हेर्नुस’ भनिरहेका छन् । उनी घर बनाउने काम छोडेपछि अगामी दिन कसरी बिताउने भन्ने बारेमा सोचिरहेका छन् ।

कल्लु चौधरी जस्तै रामलाल थारुको घर पनि बर्दिया, बरैयाताल हो । 

उनी हेलम्बु आएको १ महिना भयो । उनले घर बनाउने ठेक्का लिएका छन् । उनको समुहले मेलम्ची घ्याङमा ४ वटा घर बनाइरहेको छ ।

तराईको मान्छेलाई पहाडमा आएर काम गर्न गाह्रो हुने उनले सुनाए । इटाबाट घर बनाउने काम गरिरहेका उनहरुलाई ढुङ्गा र सिमेन्टको गारो लगाउन भने गाह्रो भएको अनुभव छ । अर्कोतिर चिसोले पनि सताउने गरेको छ ।

कसरी आइपुगेतराई देखि हेलम्बु ? उनले भने–‘साथीहरु पहिले यहाँ काम गर्न आएका थिए, उनीहरुले काम गर्ने भए जाउँ भने । पैसा पनि राम्रो काम पनि राम्रो हुन्छ भनेर आइयो ।’ 

हुम्लादेखि हेलम्बुसम्म

बर्दियाबाट मात्र हैन हुम्लाका मजदुर पनि हेलम्बु पुगेका छन् । हुम्ला गोठीका ३५ बर्षका  विकास बिसी घरको गारो लगाउने लगायत आइपरेको काम गर्छन् ।

भूकम्प गएपछि घर बनाउनका लागि उनी बेला–बेला हेलम्बु पुग्ने गरेका छन् । उनले हेलम्बु मात्र हैन रसुवाको धुन्चे, टिमुरेसम्म पुगेर पनि घर बनाए । लगभग ३ वर्षदेखि उनी यसरी घर बनाउने काममा खटिएका हुन् । कामका सिलसिलामा विभिन्न ठाउँमा उनले स्कूलदेखि साना साना घर बनाउने काम गरेका छन् ।

हुम्लामा जन्मेहुर्केको भएर रसुवा तथा हेलम्बु आफ्नै गाउँठाउँ जस्तो लाग्ने विकासले बताए उनले भने–‘हुम्ला र यहाँको हावापानी उस्तै भएकोले काम गर्न सजिलो छ । हुम्ला र यहाँ केही पनि फरक छैन, डाडाकाडा, बाटो, हावापानी सबै मिल्छ ।’

भूकम्प अगाडि भने उनी बिक्रीका सामानहरु बोकेर ब्यापारका लागि हिड्ने गर्थे । परिवारमा २ छोरा र श्रीमती छन् उनीहरु गाउँमै छन् । घरमा उनी वर्षको एक–दुई पटक मात्र पुग्ने गरेका छन् ।

सिन्धुपाल्चोकका उत्तरी क्षेत्रहरुमा घर बनाउनका लागि मजदुर नपाइने भएपछि विभिन्न जिल्लाबाट घर बनाउने कामदार पुगेका छन् । उनीहरुले गरेको काम आफूहरुलाई चित्त बुझ्दो भएको स्थानीय बताउँछन् । स्थानीय नोर्बु शेपाले नुवाकोट, बर्दिया, हुम्ला देखिका कामदारहरुले धमाधम घर बनाइरहेको बताए । भूकम्पपछि हेलम्बु गाउँपालिका वडा नं. ४ मेलम्ची घ्याङमा अझै १० प्रतिशत घर बनाउन बाँकी छ । घर बनाउन ढुवानी लागत बढी पर्ने, आर्थिक अभाव तथा काम गर्ने मजदुर लगायतका समस्याका कारण पूर्ण रुपमा घर निर्माणको काम नसकिएको स्थानीयहरुको भनाई छ । अबको १ वर्षभित्रमा घर बनिसक्ने उनीहरुको अपेक्षा छ ।

हेर्नुहोस भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप