शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घटना साम्य पार्न किन हदैसम्म लचिलो हुन्छन् निजी अस्पताल ?

सोमबार, २७ फागुन २०७५, ०९ : ५९
सोमबार, २७ फागुन २०७५

काठमाडौँ । नेपालमा अहिले साढे ३ सय ६४ को हाराहारीमा निजी अस्पताल छन । सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको अस्पताल नेपालमै सञ्चालन भएपछि   वरिष्ठ व्यक्तिहरू उपचारका लागि विदेश कम जान थालेका छन् ।

पछिल्लो समय धेरै नागरिक निजी अस्पतालबाट सेवा लिँदै आएका छन् । स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा सरकारी र निजी दुवै स्वास्थ्य संस्थाबाट गल्ती भएको पाइन्छ । तर निजी अस्पतालको घटना भने मोटो रकम दिएर भित्रभित्रै लुकाइन्छ । यसरी मोटो रकम लिएर घटनालाई आन्तरिक रूपमा साम्य पार्दा उपचारको क्रममा चिकित्सक, अस्पताल या बिरामी कसको गल्ती हो भन्ने कुरा ओझेलमा परेको देखिन्छ । तर निजी अस्पतालहरूको संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्ट्च्यिुसन नेपाल (अफिन) का वरिष्ठ उपाध्यक्ष कुमार थापा भने पछिल्लो समय निजी अस्पतालमा पैसामा मिलाउने घटना भने निकै कम भएको बताउँछन् । यो तथ्याङ्क एक वर्ष पहिलाको हो । तीमध्ये अहिले कति सञ्चालमा छन् र कति बन्द भयो भन्ने अफिनलाई जानकारी छैन । 

६ वर्ष पहिले र अहिले निजी अस्पतालले सेवा दिँदा  हुने अप्रिय घटना निकै कम भएको वरिष्ठ उपाध्यक्ष थापाले दाबी गरे । उपचारको क्रममा सरकारी निजी दुवै स्वास्थ्य क्षेत्रमा घटना घटे पनि तेस्रो व्यक्तिको कारणले गर्दा निजी अस्पतालका घटना चर्चामा आउने गरेका छन् ।

उदाहरण दिँदै वरिष्ठ उपाध्यक्ष थापा भन्छन, ‘एउटा निजी अस्पतालमा घटना घट्यो । बिरामी र बिरामीका आफन्तलाई सम्झाइसक्यौँ तर पछि तेस्रो व्यक्ति आउने रकम माग्ने, तोडफोड गर्ने जस्ता कुरामा निजी अस्पतालमा हुने घट्ना एउटा भए पनि अर्काे कुरा बाहिर आउँने गरेको छ ।’

केही वर्ष पहिलासम्म मोटो रकम दिएर घटनालाई साम्य पार्ने चलन थियो तर पछिल्लो समय निजी अस्पतालले घटना पनि छलफल गर्ने स्पष्ट जानकारी गराउने प्रक्रिया पनि थालेका छन् । यसले गर्दा घटना भएपछि छलफल हुने गरेको छ । यसले घटनालाई लेनदेनको विषयमा प्रवेश गर्नै नमिल्ने गरेको थापा बताउँछन् ।

अप्रेसनको क्रममा उपकरण नै छाडिने, एक ठाउँको अप्रेसन अर्कै ठाउँमा गरिने जस्ता घटनालाई भने निजी अस्पतालमा लाहपरबाहीका रूपमा मानिन्छ ।

यस्तैगरी जोखिमपूर्ण उपचार गर्नुभन्दा पहिला बिरामीको रोग, उपचार प्रक्रिया र पछि हुन सक्ने जोखिमका बारेमा सम्बन्धित चिकित्सकले बिरामीलाई राम्रोसँग बुझाउनुपर्ने हुन्छ । तर निजी अस्पतालमा भएका धेरै घटनामा अस्पताल र सम्बन्धित चिकित्सकले स्पष्ट जानकारी नगराउँदा बिरामीका आफन्त आक्रोसमा आउने गरेको वरिष्ठ उपाध्यक्ष थापाको भनाइ छ  ।

जोखिमपूर्ण उपचार गर्नुपर्ने अवस्थामा बिरामी र तिनका आफन्तलाई यति प्रतिशत उपचार सफल हुन्छ र यति प्रतिशत असफल हुने सम्भावनाबारे बताउनुपर्छ । साथै के कारणले असफल हुनसक्छ त्यसबारे पहिला बुझाउनुपर्छ । तर डाक्टरले त्यो कुरालाई ओभरट्याग गरेर चिन्ता नगर्नुस्, सबै ठीक हुन्छ भन्न थाल्यो भने घटना घटे पनि समस्या आउने थापा बताउँछन् ।

अरू डाक्टरको सहयोग लिन नमान्दा समस्या

निजी स्वास्थ्य संस्थामा यस्ता घटना हुने धेरै कारण रहेका छन । उपचारमा सम्बन्धित चिकित्सक या स्वास्थ्यकर्मीमा प्रर्याप्त अनुभव नहुनु,  जोखिमपूर्ण उपचारमा अन्य चिकित्सकको सहयोग लिन नखोज्दा पनि घटना हुने गरेका पाइन्छ । जस्तै; उपचार गर्न खोजेको एउटा तर अर्कै समस्या देखियो भने यो अवस्थामा अरू चिकित्सकको सहयोग चाहिन्छ ।

निजी अस्पताल घटनालाई मिलाउन किन मोटो रकम दिन तयार हुन्छन् ? भन्ने प्रश्नमा वरिष्ठ उपाध्यक्ष कुमार थापाले ‘लामो समयको संवादपछि बिरामीका आफन्तको मन जित्न सफल भएको अवस्थामा एउटा घटनाले अस्पतालको छवी गुमाउन कुनै पनि अस्पताल सञ्चालक चहाँदैनन् । अस्पतालको गल्ती होस् या नहोस्, आन्दोलनमा उत्रेको हुलले गल्ती नै गरेको हो कि भन्ने महशुस गराइदिन्छ ।

डाक्टरले सबै कुरा ठीक हुन्छ भनेर बिरामीका आफन्तलाई सम्झाउने तर बिरामी पनि निको नहुने अवस्थामा भने बिरामीका आफन्तहरू आक्रोशित भएका घटना धेरै देखिएका छन् ।

प्रतिष्ठा जोगाउन हदैसम्मको लचकता 

उपचारका क्रममा नेपालमा निजी र सरकारी दुवै अस्पतालमा अप्रिय घटना हुँदै आएका छन् । तर निजी अस्पतालका घटना बढी मात्रामा बाहिर आउने गरेका पाइन्छ । बिरामीका आफन्तले गर्ने आन्दोलन, तोडफोड र विभिन्न समस्या झेल्नुभन्दा बिरामी पक्षका माग पूरा गर्नेतर्फ निजी अस्पताल लागेको देखिन्छन् ।

निजी अस्पताल घटनालाई मिलाउन किन मोटो रकम दिन तयार हुन्छन् ? भन्ने प्रश्नमा वरिष्ठ उपाध्यक्ष कुमार थापाले ‘लामो समयको संवादपछि  बिरामीका आफन्तको मन जित्न सफल भएको अवस्थामा एउटा घटनाले अस्पतालको छवी गुमाउन कुनै पनि अस्पताल सञ्चालक चहाँदैनन् । अस्पतालको गल्ती होस् या नहोस्, आन्दोलनमा उत्रेको हुलले गल्ती नै गरेको हो कि भन्ने महशुस गराइदिन्छ । त्यसैले निजी अस्पतालहरू रकम दिएर मिलाउन तयार भएका हुन् । तर यो क्रम पछिल्लो समय एकदमै कम भएको छ निजी अस्पताल पनि  गल्ती छैन भने किन पैसामा मिलाउने भन्ने कुरामा जान थालेका छन् ।’

उपचारका क्रममा पैसा सकिन्छ । बिरामी पनि निको नहुँदा मान्छेलाई दुःख लाग्छ । तर बिरामीको मृत्यु हुँदा अस्पताल र चिकित्सकलाई आरोप लगाउनु पनि स्वाभाविक नै हो भन्छन् थापा । तर बिरामीको आफन्तले पनि आफ्नो बिरामीको बारेमा राम्रोसँग बुझ्ने प्रयास गर्ने र चिकित्सकले पनि बुझाउनुपर्ने देखिन्छ ।

 उपचारको क्रममा नर्सले राम्रो बोलेन जस्ता सामान्य कुरालाई पनि घटनामा जोड्न नहुने अस्पताल सञ्चालकहरू बताउँछन् । यस्ता सबै घटनामा रकम दिएर मिलाउने कुरा एकदमै कम भए पनि केही अस्पतालले यस्तो गर्नेगरेको हुँदा त्यसले रकम माग्न अग्रसर हुने गरेको देखिन्छ ।

अस्पतालको नाम बाहिर आउने डर र बिरामीले विश्वास नगर्ने भएको हुँदा सकेसम्म निजी अस्पतालहरू घटना बाहिर नल्याइने गरेको थापा बताउँछन् ।

निजी अस्पतालको आम्दानी बढ्ने प्रमुख आधार भनेको उपचारमा प्रभावकारी सेवा नै दिनु हो । तर त्यस क्रममा घटना भएमा अस्पतालमा समस्या हुन्छ । त्यसैले पनि घटना बाहिर ल्याउँदैनन् ।

पैसा दिएर घटना मिलाउनु गलत हो

नागरिकमा आफ्नो अस्पतालबारे नराम्रो सन्देश जाला भनेर पैसा दिएर घटनालाई आन्तरिक रूपमा साम्य पार्न खोज्नु गलत हो । यो निजी अस्पतालमा हुने समस्याको दीर्घकालीन समाधान भने होइन । निजी अस्पतालले यस्तो गर्न नहुँने अफिनको पनि भनाइ छ । निजी अस्पतालले सेवा दिने क्रममा हुने घटनालाई कसरी साम्य पार्ने भन्ने स्पष्ट धारणा आफैले बनाउनुपर्ने भन्दै वरिष्ठ उपाध्यक्ष थापा भन्छन्, ‘हदैसम्म लचिलो हुनु गलत हो । रकम दिने, आजीवन उपचार गर्ने, परिवारका सदस्यलाई रोगजारीको आश्वासन दिनुहुँदैन । अस्पतालका गल्ती कमजोरी छ भने नियमअनुसार अघि बढ्नुपर्छ तर गल्ती नै छैन भने विभिन्न प्रलोभन देखाउनु हुदैन । यो कार्य गलत हो । 

विपन्नको कार्ड भए उपचारमा सहज

सरकारले अब विपन्न नागरिकको उपचारको बारेमा गम्भीर भएर सोच्नुपर्छ भन्ने निजी अस्पताल सञ्चालनहरूको भनाइ पाइन्छ । उपचारको क्रममा विपन्न नागरिकको परिचयपत्र लिएर आउँने हो भने निजी अस्पतालले विपन्न नागरिलाई स्वास्थ्य सेवा प्रदान गर्दा छुट अथवा निःशुल्क गर्न सहज हुने अफिनको भनाइ छ । अहिले को विपन्न को सम्पन्न कुनै पनि व्यक्ति छुट्याउन गाह्रो अवस्था छ । विपन्न नागरिकले निजी अस्पतालबाट सहुलियत सोचेजति पाउन सकेको देखिँदैन । सरकारले परिचयपत्र नै दिने हो भने साँच्चै विपन्न परिवार नै रैछ भन्ने आधारमा निजी अस्पतालले सेवा दिने कुरामा सोच्न बाध्य हुनेछ ।

अस्पताल सञ्चालनको लागि स्पष्ट धारणा

अस्पताल सञ्चालन गर्नुभन्दा पहिला सरकारले स्पष्ट नियम बनाउनुपर्ने धारणा बनाउनुपर्ने हो । अस्पताल सञ्चालनका लागि केके कुरा आवश्यक छ भन्ने स्पष्ट धारणा सरकारसँग हुनुपर्छ । यो कुरा नहुँदा करोडौँ खर्च गरेर अस्पताल सञ्चालन गरे पनि यो पुगेन, त्यो पुगेन भन्नु गलत भएको वरिष्ठ उपाध्यक्ष थापा बताउँछ । 

निजी अस्पतालको सेवालाई कसैले व्यापार भन्छन् त कसैले सेवामूलक व्यापार । तर अल्का अस्पताल सञ्चालन तथा निजी अस्पतालहरूको संस्था अफिनका वरिष्ठ उपाध्यक्ष भने निजी अस्पताल सेवामूलक व्यापार भएको बताउँछन् ।

 निजी अस्पताललाई सरकारले लिजमा जग्गा दिनुपर्ने अफिनको माग छ । भारतमा निजी अस्पताललाई सरकारले लिजमा जग्गा उपलब्ध गराउँदै आएको छ । स्वास्थ्य व्यापारभन्दा पनि पहिला सेवा नै हुँदा सरकारले पनि निजी अस्पतालको सवालमा केही हकसम्म सोच्नु पर्ने अस्पताल सञ्चालकहरूको माग छ । सरकारले निजी अस्पताललाई केही हदसम्म सहयोग गरेको खण्डमा निजी अस्पतालको सेवा अझै प्रभावकारी हुने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप