शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुन र चाँदीसहित २ जना भारतीय पक्राउ

सोमबार, २७ फागुन २०७५, १३ : ३८
सोमबार, २७ फागुन २०७५

जनकपुरधाम– मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र अवैध सुन र चाँदी लुकाइ नेपालबाट भारततर्फ लगिरहेका अवस्थामा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित कुवा गाउँबाट लोहनातर्फ जाने सडकमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

पक्राउ पर्नेमा भारत विहार मधुवनी जिल्ला बासोपट्टी–४ का सुरेन्द्र महतो सुडीका ३७ वर्षीय छोरा कृष्णकुमार महतो सुडी र सोही ठाउँका परमेश्वर महतो सुडीका ३० वर्षीय छोरा रूपेश महतो रहेका छन् ।

बीआर ३२ एस ४३५७ नम्बरको पल्सर मोटरसाइकलको ट्याङ्कीमुनिबाट प्वाल बनाई प्वालमा ढोका जस्तो नट कसेको देखिएपछि शंका लागेर प्रहरीले सो नट खोलेर हेर्दा ट्याङ्कीभित्रमा सेतो रङको प्लास्टिकमा बेरेको सुन र चाँदी बरामद भएको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । 

बरामद भएकामा सुनको बाला दुई थान र चाँदीको दाना नौ प्याकेट रहेका छन् । प्रहरी प्रधान कार्यालय तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले आइतबार बेलुका ५ः४५ बजे लोहना हुँदै भारततर्फ जान लागेका अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ 

प्रहरी उपरीक्षक खनालका अनुसार सुन चाँदी व्यवसायी सङ्घबाट बरामद भएका सुन र चाँदी परीक्षण गराउँदा सुनको टुक्रा १०० ग्राम र चाँदी २५ किलोग्राम तौल रहेको छ ।

पक्राउ गरिएकालाई हिरासतमा राखी आवश्यक कानुनी कारवाहीका लागि भन्सार कार्यालयमा बुझाउने कार्य भईरहेको जनाइएको छ । यस कारोवारमा अन्य को–को संलग्न छन् भन्ने कुराको पनि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालले जनाएका छन्। 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप