शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओली महोदय ! यी सवालको जवाफ पाऊँ

सोमबार, २७ फागुन २०७५, १६ : ४४
सोमबार, २७ फागुन २०७५

-रजमान तामाङ 
 

हाम्रो पार्टी र नेतृत्वको बारेमा प्रधानमन्त्री केपी ओली स्वयं गोयबल्स शैलीको दुस्प्रचार अभियानमा लाग्नुभएको छ  ।  देशको विखण्डनकारी तत्वसँग अँगालो हाल्दै हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (विप्लवले नेतृत्व गर्नु भएको) विरुद्ध तुच्छ प्रकारको अभिव्यक्ति दिएर यो मोर्चाको कमान्ड सम्हाल्न आइपुग्नुभएका प्रधानमन्त्रीको स्वयं  आफ्नै बारे, हाम्रो दृष्टिकोण, दुस्प्रचार, वर्तमान राज्य र स्वयं उहाँसँग सम्बन्धित केही सवालमा यो लेखमा छलफल गरिने छ  । 

स्वयम् ओलीको बारे
झापा आन्दोलनको आधार भूमि ओली उदयको राज हो । ती ओली २०४६ को जनआन्दोलनसँगै बहुदलीय राजनीतिको केन्द्र भागमा चक्कर मारिरहे । मदन भन्डारीको दासढुङ्गा हत्याकाण्डसँगै नेकपा (एमाले) मा उदय भए माधव नेपाल र ओली । ओलीको विजय यात्रा र सत्ताको सिँढी चढ्ने सफलताको पछाडि थुप्रै कारण छन् । उनको चौध वर्ष लामो जेलजीवन र झापा विद्रोहको विरासत आफैमा गौरवमय इतिहास हो । तर बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछिको उनको सन्दिग्ध गतिविधि असमान्य लाग्नु इतिहासको यथार्थता हो । दोस्रो जनआन्दोलन र गणतान्त्रिक अभीष्टलाई ठेलागाडा चढेर अमेरिका पुगिन्न भन्दै दुत्कारेका ओलीको सन्दिग्धताको कारण बुझ्न कठिन थिएन  र छैन । 

माओवादी आन्दोलन नेपालको प्रगतिशील र क्रान्तिकारी आन्दोलन कायम रहेसम्म त्यसविरुद्ध घृणा फैलाउनु ओलीको एक मात्र दैनिक कर्म थियो । तिनका अभिव्यक्तिहरू ज्ञानेन्द्र शाहका चाटुकारहरूको भन्दा तुच्छ थियो । सडकमा निरङ्कुश राजाको विरुद्ध टाउकोमा कात्रो बाँधेर निस्केका जनताको तिरष्कार गरेका ओलीलाई भूकम्पको पीडाले चिथोरिएका नेपालीलाई नाकाबन्दी लगाउने मोदी अपराधसँगै एकाएक राष्ट्रवादको मुकुण्डोले सिँगार्ने सुनौलो अवसर प्राप्त भयो ।  अमेरिकामा डोनाल्ड ट्रम्प जो महिला आप्रवासी र अस्वेतहरू विरुद्ध घृणाको राजनीति गर्छन्  । दक्षिण एसियामा नरेन्द्र मोदी जो मुस्लिम समुदायविरुद्ध घृणा र पाकिस्तान विरोधी घृणाको राजनीतिको जगमा आफ्नो भविष्य देख्छन् । यस्तो बिगबिगी भएको युगमा नेपालमा भने ओली कम्युनिस्ट क्रान्तिकारीहरू र उत्पीडित जाति क्षेत्रविरुद्ध घृणाको राजनीतिमा छन् । 

त्यसै गरी विगतदेखि नै अति दक्षिण पन्थी घृणा र तुच्छ बोलीहरूद्वारा विभूषित ओलीको नेपालमा उदय संयोग मात्रा होइन । अहिलेको विश्व राजनीतिको दक्षिण पन्थी अभ्यास र पुँजीवादको अर्काे नयाँ संस्करण हो । त्यसैले उनका अभिव्यक्तिहरू स्वाभाविक छन् । किनभने नेपालमा आजको समयको सबैभन्दा प्रगतिशील र क्रान्तिकारी नेतृत्व कमरेड विप्लव हुन् । तिनीविरुद्ध ओलीको अभिव्यक्ति क्रान्ति र परिवर्तनको विरुद्ध विगतमा झैँ प्रतिगमनको सेवामा समर्पित उनको धर्म हो । 

हाम्रो बाटोको बारे
भनिरहनु परेन कि हाम्रो घोषित नीतिअनुसार नै हामी एकीकृत जनक्रान्तिको कार्यदशा कार्यान्वयनको बाटोमा छौँ  । एकीकृत जनक्रान्ति भनेको एकाइसौँ शताब्दीमा सर्वहारावर्गले विकास गरेको फौजी कार्यदशा हो । हाम्रो राजनीतिक कार्यक्रम वैज्ञानिक समाजवाद हो । वैज्ञानिक समाजवाद प्राप्तिका लागि हामीले एकीकृत जनक्रान्ति आफ्नो बाटो हुने प्रष्ट पारेका छौँ  । हिजो आज जे जति काम कारबाही हाम्रो पार्टीको तर्फबाट भइरहेको छ, त्यो त्यही कार्यदिशा कार्यान्वयनको क्रममा भएको हो । त्यो सबै कामकारवाहीको नैतिक जिम्मेवारी हाम्रो पार्टीको सर्वाेच्च नेतृत्वबाट लिइसकेको छ । हामी इमानदारिपूर्वक र गर्वका साथ फेरि भन्छौँ जे जति कारवाही हाम्रोतर्फबाट भएका छन ती नेपाली जनताको वर्गवैरीविरुद्ध गरिएको र दलाल पुँजीवादी राज्यको लुटविरुद्ध गरिएको प्रतिरोध हो । प्रतिरोधको क्रममा सानातिना दुर्घटना भएका छन्, त्यो हाम्रा निम्ति दुःखको कुरा हो । 

वर्तमान राज्यबारे
वर्तमान राज्यप्रति हाम्रो प्रष्ट दृष्टिकोण छ । यो राज्य दलाल पुँजीवादी अधिनायकत्व कायम भएको सामाजिक दलाल पुँजीवादी राज्यसत्ता हो । नेपाली जनता र सामाजिक दलाल पुँजीवाद  बीचको अन्तरविरोध नेपाली समाजको आजको प्रधान अन्तरविरोध हो । बदलिएको नेपाली समाज वर्गीय अन्तरविरोध र यहाँको वर्गसङ्घर्षको रूपअनुसार हामीले दलाल पुँजीवादमाथि कारवाही गर्नेक्रममा एनसेलमाथि कारबाही गरेको कुरा प्रष्ट छ । आम नेपाली जनतालाई थाहा भएको कुरा के हो भने एनसेलले नेपालमा बसेर गरिने सबै प्रकारको कारोबार गर्दा नेपाल सरकारलाई बुझाउनुपर्ने सबै प्रकारको कर उसले राज्यलाई तिर्नुपर्छ । तर एनसेलले कम्पनीको किनबेचमा राज्यलाई बुझाउनुपर्ने लाभकर बुझाएको छैन । अहिलेको हिसाबमा उसले नेपाललाई ७२ अर्ब बराबर लाभकर बुझाउनुपर्छ । सर्वाेच्च अदालतले समेत नेपाल सरकारलाई उक्त लाभकार दाखिला गर्न आदेस गरिसकेको परिप्रेक्ष्यमा संसदवादी दलका मूल नेतृत्वलाई दिएको कमिसनको आडमा नतिर्ने प्रपञ्च गरिरहेको दिनको घामझैँ छर्लङ्ग छ । 

यही कारण उसमाथि हाम्रो पार्टीले कारबाही गरेपछि प्रधानमन्त्री खड्गप्रसाद ओली बर्बराउन पुगेको कुरा पनि अर्काे सच्चाइ हो । राज्यको वर्गीय चरित्रअनुसार देश र जनताको पक्षमा चलिरहेको आन्दोलनमाथि राज्य आतङ्कको साहरामा दमन अभियान चलाउँदै सयौँ नेता कार्यकर्तालाई झुटा मुद्दामा गिरफ्तार गर्ने र सङ्कटकालको झलको दिने गरी गिरफ्तार गरी निःशस्त्र कार्यकर्तामाथि गोली हान्ने काम भइरहेको छ । कपिलवस्तु घटना यसको ज्वालन्त उदाहरण हो । राज्यले देशव्यापी फौजी अप्रेसन सुरु गरिरहँदा प्रतिरोधात्मक सङ्घर्स अघि बढाउनु इतिहासको अपरिहार्य आवश्यकता बन्दै गएको छ । यसो हुँदा देशले सम्भावित गृहयुद्धको रूप नलेला भन्न सकिन्न । 

नवउदारवादी बजार अर्थतन्त्रको ज्यानमारा करणी विरुद्धको कारबाहीबाट सबैभन्दा बढी क्षुब्ध प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल हुनुको कारण छ । वर्गसङ्घर्षमा झापा आन्दोलन ताका जमिनदार वर्ग नै वर्ग सत्रु थियो र कारबाही गरिएको थियो । धर्म ढकाल नाम गरेको जमिनदारको टाउको गिँड्ने काम प्रधानमन्त्री ओलीले नै गरेको कुरा मेरो पुस्ताले नपढेको होइन । आर्थिक र राजनीतिक सत्ताको मालिक र त्यसका आधारहरू भत्काउनु त्यो बेलाको क्रान्तिको निशाना थियो । जनयुद्ध कालमा स्थानीय जमिनदार र दलाल भ्रष्ट नोकरशाह पुँजीपति वर्गमाथि कारवाही गर्ने प्रचण्डको नीति थियो । कथनीमा कम्युनिस्ट र समाजवादी करणीमा नवउदारवादी चरित्रका कारण पनि सबैभन्दा बढी तनाव ओली महोदयलाई भएको हो । 

तर आज प्रचण्ड र ओलीको हिजोको जमिनदारको छोराभन्दा अलिशान जिन्दगी बनेको छ र उनीहरूको वर्ग एक नोकरशाही राजनीतिक पुँजीपति बनेको छ । सामन्य परिवारबाट अकल्पनीय सफलता हासिल गरेको यी दुई पात्रको बर्बराहट एक सामन्य गाउँ स्तरको राजनीतिक कार्यकर्ताको स्तरको नहुनु दुःखद् कुरा हो । उनीहरू आफ्नो कालमा जे गरे त्यो ठिकै गरे  । तर त्यसो गर्नुको उद्देश्य उनीहरूको वर्ग उत्थानको निम्ति थिएन । त्यसता कारबाहीको बलमा प्राप्त शक्ति र सम्पत्ति आफ्नो व्यक्तिगत हितमा प्रयोग गरेर  केपी र प्रचण्डले नै सबैभन्दा ठुलो डकैती गरेका छन् । हामी त्यस्तो डकैतीबाट आर्जन गरेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ भन्छौँ । उनीहरू नै आजको दलाल पुँजीवादको असली नोकर बनेका छन् । त्यसकारण ओलीको बर्बराहट अचम्म लाग्दो छैन । 

हाम्रोविरुद्ध दुस्प्रचारबारे
जहाँसम्म ओलीको हामीमाथि चलेको जिब्रो छ, त्यो पातलो जिब्रो निकै हाँसोयुक्त त हो नै । लुटेरा समूहको रूपमा  गरेको त्यो टिप्पणीप्रति हाम्रो आफ्नो कुनै त्यस्तो घटीया र सडक छाप आवारा टिप्पणी हुँदैन  । गाँजा तानेर बर्बराउने आबराको जस्तो टिप्पणी गर्नु सभ्य राजनीति र समाजको निम्ति हितकर छैन र त्यो हाम्रो नैतिकता पनि होइन । त्यसैले म सम्मानीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहान्छु कि तपाईं गँजडी हो कि देशको प्रधानमन्त्री ? र भन्न चाहन्छु कि देशको कार्यकारीको मर्यादा ख्याल राख्नुस् । 
हो, हाम्रो प्रष्ट कुरा छ, हामी क्रान्ति चाहन्छौँ । क्रान्ति इतिहासको ऐतिहासिक आवश्यकता हो । क्रान्ति हाम्रो मात्र रहरले हुने रोमाञ्चक खेल होइन । दमन शासक वर्गको अन्तिम अस्त्र हो । त्यो थाहा नहुने कुरा भएन । 

अहिलेको व्यवस्था र ओलीसँग जोडिएका सवाल बारे

हामीमाथि जस्तो आरोप लगाउन खोज्नुभएको छ, प्रधानमन्त्रीज्यू ! तपाईं र वर्तमान राज्यसँग जोडिएका केही सवाल छन् । ती सवालबारे हामी तपाईंसँग जवाफ चाहछौँ । 

१. एनसेलले तिर्नुपर्ने लाभकर नतिर्ने शर्तमा कमिसन लिनु लुटपाट हो कि तिर्नुपर्छ भन्नु लुटपाट ?
२.    वाइडबडी कान्डको झन्डै साँढे चार अर्ब घोटाला कुन पवित्र धर्म कर्म हो ?
३. नक्कली भ्याट बिल प्रकरण कुन दुनियाँको सुशासन हो ?
४.    बिनाप्रतिस्पर्धा प्रधानमन्त्री कार्यलय मातहतको ठेक्का दिनु राजस्व र राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यलय माताहत राख्नु र ५० अर्बमाथिको ठेक्का सोझै सम्झौता गर्न पाउनुपर्छ भने तपाईंको सल्लाहकार टिमको नियत के हो ?
५.    राष्ट्रिय गौरवको परियोजना सीधै प्रधानमन्त्री कार्यालयले हेर्दा काममा तीव्रता खोजेको कि मोटो कमिसन देखेको ?
६.    भन्सार अड्डाहरूमा आफू निकट कर्मचारी पठाएर ब्यापारी र कर्मचारीसँग न्यून बिजकीकरणमार्फत राज्य लुट्नु र जनता ठग्नु कुन साधुको कर्म हो ?
७. नेपाल टेलिकमको फोरजी ठेक्का प्रकरणमा भएको १२ अर्ब कमिसनको खेल कुन पवित्र कर्म हो ? जबकि त्यही स्तरको काम जम्मा ६ अर्ब रूपैयाँमा एनसेलले सम्पन्न गरेको छ । 
८.    करपछ्र्याैट आयोगको नाममा चूडामणि खड्कामार्फत गरिएको २१ अर्ब घोटालाप्रति तपाईंको दृष्टिकोण के हो ?
९. डाफर घोटाला काण्डामा लुटिएको देशको अस्मिता र अर्बाैं रूपैयाँ घोटालाको केसमा तपाईंको धारणा के ?
१०.        चरी र रमेश बाहुन तपाईंको काखमा बसेर के के गरे ?
११.    लडाकु घोटाला प्रकरणमा प्रचण्डलाई अख्तियारमा मुद्दा  हाल्न महेश बस्नेतलाई निर्देशन दिने समयको प्रचण्ड कुन पार्टीको सहअध्यक्ष छन् ?
१२.    राष्ट्रवाद तपाईंको मुकुन्डो हो । सीके राउत प्रकरणमा त्यो देखियो नै । इतिहासमा महाकाली सन्धि गर्दा नेपाललाई एक खर्ब बीस अर्ब वार्षिक आम्दानी हुन्छ भन्ने तपाईंले त्यो आम्दानी कहाँ कहाँ लगानी गर्नुभयो ?
१३.    मदन भण्डारी फाउन्डेसनको नाममा भारतीय दूतावासबाट लिएको रकम कुन राष्ट्रवादी प्रयोजनका  निम्ति  थियो ?
१४.    बूढीगण्डकी प्रोजेक्ट गेजुवालाई दिन कम्मर कसेर तपाईं आफै लाग्नुको कारण कमिसन लुट्नु हो कि होइन ?
१५.    नेपाललाई दक्षिण एसियाको तेस्रो भ्रष्ट मुलुकमा पदोन्नति गर्ने काम कस्ले गरेको ?
१६. शिक्षा र स्वास्थ जस्तो संवेदनशील विषयलाई निजीकरण र व्यापारीकरण गरेर लुट मच्चाउने कर्म कुन कम्युनिस्ट पार्टीको घोषणा पत्रमा उल्लेख छ ? यी कुकर्म गर्नेले कम्युनिस्ट पार्टीको बदनाम गरेको कि हामीले ?
१७. उपचारका नाममा राज्यबाट तपाईंले लिएको १८. करोड रूपैयाँको लुटपाट चाहिँ जनताले माफ गर्नुपर्ने हो ?

अन्त्यमा, हो हामी यो अपराधको विरुद्धमा छौँ  । जो राष्ट्र र जनताको विरुद्ध गम्भीर अपराध हो । तपाईंको यो सुकर्म र वर्गीय धर्म होला । हामी यी अपराध कर्मको विरुद्ध बमबाड गरिरहन्छौँ । प्रतिरोध गरिरहनछौँ । राष्ट्राघात, भ्रष्टाचार र राज्यनिर्देशित लुटपाट विरुद्धको विद्रोहलाई अपराध मानिन्छ भने प्रधानमन्त्री महोदय ! हामी यस्ता हजारौँ अपराध गर्छाैं र गरिरहछौँ । तपाईंका हरेक दमन हामीलाई स्वीकार्य छ । तिमी तिम्रो तरिकाले लड हामी हाम्रो तरिकाले लड्छौँ । वैज्ञानिक समाजवाद प्राप्त नहुन्जेल हाम्रो अभियान रोकिन्न । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप