शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१२ वर्ष नपुग्दै आमा बनेकी बालिकाको अवस्था नाजुक

मङ्गलबार, २८ फागुन २०७५, ०९ : ४९
मङ्गलबार, २८ फागुन २०७५

‘म सुत्केरी भएको थाहा पाउनसाथ बाबाले रिसाएर घर छाड्नुभयो । जम्मा डेढ गठ्ठा जमिन छ । खान पुग्दैन, सधैँ किनेर खाने हो । आमासँग पैसा छैन । म पनि ज्वरो आउने, रिङ्गाटा लाग्ने र जिउ सुनिने रोगले थला परेकी छु,’ बर्दियामा १२ वर्ष उमेर नपुग्दै  र विवाहअघि माइतीमै सुत्केरी भएकी सविता (नाम परिवर्तन) भनिन्छन्–‘मैले स्याहार सुसार नै पाइनँ ।’  
 
फागुन–७ गते बर्दिया गेरुव गाउँपालिका –४ खनकपुरकी सविताले ११ वर्ष १० महिना उमेर छँदा छोरी जन्माएकी थिइन् । अहिले आफ्नो स्वास्थ्य अवस्था बिग्रदै गएको उनको भनाई छ ।

१० वर्षको उमेर हुँदा जुम्लाको मालिकाफाँट गाउँपालिका घर भएकी सविता बर्दियास्थित दिदीको घरमा आएर अध्ययन गर्दै आएकी थिइन् ।

सोही क्रममा स्थानीय सरस्वती आधारभुत बिद्यालयमा आफूसँगै पढ्ने  १४ वर्षीय श्याम (नाम परिवर्तन ) सँग प्रेमसम्बन्ध बसेको थियो । प्रेम सम्बन्धसँगै शारीरिक सम्पर्कपछि गर्भ रहन गएको थियो ।  
 
‘सुत्केरी भएदेखि पौष्टिक आहार पाएकी छैन । आमाले गाली गरिरहनु हुन्छ । श्याम पनि सानै छ । काम गरेर मलाई पाल्न सक्दैन,’ उनी भन्छिन् ।

श्यामको आमाको सानैमा मृत्यु भएपछि उनको बाबुले दोस्रो विवाह गरेका थिए । त्यसपछि उनी पनि यहाँ दिदीको घरमा आएका थिए ।

‘मैले बच्चा जन्मिाए पछि उसलाई पनि दिदीले गाली गरेर घरमा खान बस्न दिन छाड्नुभयो । कहिले हाम्रोमा आउँछ, कहिले अरु कसैकोमा गएर खान्छ,’ सविताले दुवै जनाको पिडा यसरी सुनाइन् ।
 
उनले थप पिडा सुनाउँदै थपिन्, ‘धेरै पढ्ने मन थियो । हामी दुवै जनालाई यस्तो हुन्छ भन्ने थाह थिएन । सानैमा बच्चा जन्मिदा सबैको हेला पाएँ । हामी कहाँ जाउँ केही अत्तोपत्तो छैन ? सहयोग गर्ने पनि कोही भएनन् ।’

सविताको पीडा सुनेपछि वडाअध्यक्ष बलबहादुर चलाउनेले यस विषयमा आवश्यक कदम चाल्ने आश्वासन दिएका छन् । उनले भने, ‘म आज गाउँपालिकामा जान्छु र यो कुरा राख्ने छु ।’

बर्दिया र बाँके जिल्लामा  वालविवाह चुनौतिपूर्ण बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्क अनुसार गत ३ वर्षको अन्तरालमा  जिल्लामा २५ जोडीले बालविवाह गरेका छन् ।

यस चालु आर्थिक वर्षमा मात्रै १६ जोडीले बालविवाह गरेको त्यहाँका प्रहरी प्रमुख एसपी अरुण पौड्यालले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप