शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सीएमसी गएपछि यस्तो सुनसान छ मेलम्ची खानेपानी आयोजना स्थल (फोटो/भिडियो)

मङ्गलबार, २८ फागुन २०७५, १४ : १८
मङ्गलबार, २८ फागुन २०७५

 सिन्धुपाल्चोक– मेलम्ची खानेपानी आयोजनाको मुख्य स्थल, मेलम्ची अम्बाथान । मेलम्ची नदी निरन्तर बगिरहेको छ । इटालियन ठेकेदार कम्पनी सीएमसी दी रेभेनाले काम छोडेपछि आयोजनास्थल सुनसान छ । गर्दागर्दैको काम अलपत्र छोडिएको आयोजना स्थलमा निर्माण सामग्रीहरू यत्रतत्र छरपस्ट अवस्थामा छ, जहाँ एकजना निजी सुरक्षाकर्मी रेखदेखका लागि खटिएका देखिन्छन् । 

पटक–पटक यो दशैँमा काठमाडौँमा मेलम्ची पानी आउँछ भनेर मन्त्री र सचिवले झुक्याइए पनि अझै १० प्रतिशत आयोजनाको काम बाँकी रहेको बताइएको छ । 

आयोजनाको विषयमा मन्त्रालयभित्रै मन्त्री बिना मगर र सचिव गजेन्द्र ठाकुरबीच मनमुटाव भएको थियो भने झन्डै १ वर्षदेखि सरकार र ठेकेदार कम्पनीबीच खटपट चलेको थियो । १ महिनाअघि सरकारले सीएमसीसँग ठेक्का तोडेपछि काम प्रभावित भएको छ । मन्त्री मगरले पुनः सोही कम्पनीलाई आयोजना स्थलमा फर्काउन पहल गरे पनि त्यो सम्भव भएन । 

काठमाडौँमा खानेपानी व्यवस्थापनका लागि विश्व बैङ्कको सहयोगमा सञ्चालित यो आयोजनाका १९ वर्षअघि विस्तृत डिजाइन प्रतिवेदन तयार पारिएको थियो । सन् २००१ मा एसियाली विकास बैङ्कले १ सय २० मिलियन अमेरिकी डलर ऋण दिने भएपछि  आयोजना सुरु भएको थियो । त्यतिबेला आयोजनाको कुल लागत ४ सय ६४ मिलियन अमेरिकी डलर थियो । 

सन् २००८ पछि मात्र आयोजना निर्माणको काम सुरु भएको थियो । सन् २००९ मा चिनियाँ निर्माण व्यवसायीलाई सन् २०१३ सम्म काम सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो । तर समयमा काम गर्न नसकेपछि सन् २०१२ मा ठेक्का सम्झौता रद्द गरिएको थियो ।

सन् २०१३ मा इटालियन ठकेदार कम्पनी सीएमसी दी रेभेनासँग सन् २०१६ को सेप्टेम्बरसम्म काम सक्ने गरी भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । अघिल्लो वर्ष उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितमा सुरुङमार्ग खन्ने कामको पूरा गरिएको थियो । 

आयोजनाको काम अन्तिम चरणमा पुगेको बेला ठेकेदार कम्पनीले भूकम्पका कारण काम रोकिएको भन्दै थप समय र अतिरिक्त १ अर्ब ६५ करोड रुपैयाँ माग गरेको थियो । तर सरकारले आयोजना स्थलको अनुगमन गरी २८ करोड दिने निर्णय गरेको थियो त्यसमा कम्पनीले सहमति जनाएको थिएन । 

सीमएसीलाई सो रकमसमेत समयमा भुक्तानी नगरेपछि २७ किलोमिटरमध्ये २५ किलोमिटर मात्र सुरुङ ढलान गरिसकेको सीमएसीले काम रोकेको थियो । सीएमसीलाई राख्ने कि हटाउने भन्ने विषयमा मन्त्री मगर र ठाकुरबीच विवाद उत्पन्न भएको थियो । कम्पनीसँग ठेक्का तोडेको दुई सातापछि मन्त्रालयबाट सचिव ठाकुरको सरुवा गरियो ।

मन्त्री मगरले पुन सीएमसीलाई पुनः काममा फर्काउन पहल गरेकी थिइन् तर उनी सफल भइनन् । सचिव ठाकुरले पुनः सीएमसी बोलाएर मन्त्रीले देश डुबाउन लागेको आरोप लगाएका थिए भने मन्त्री मगरले सचिवले ठेकेदार कम्पनीसँग पैसा मागेको आरोप लगाएकी थिइन् । अहिले आयोजनाको काम कसरी अगाडि बढाउनेबारे अन्योलता छ । 

अहिलेसम्म हेडवक्र्स निर्माण क्षेत्रमा १ लाख घनमिटर ओपन कट तथा स्लोप स्टेबिलाइजेसनको काम सकिएको छ भने झन्डै १ किलोमिटर सुरुङको भुइँ ढलान गर्न बाँकी छ । सुरुङमार्गमा गेट निर्माणको काम पनि सकिएको छ भने तीनवटा भेन्टिलेसन साफ्ट निर्माण गर्नुपर्नेमा आम्बाथानको १०७ मिटर पाइलट ड्रिल गरिएको छ । यस्तै सुरुङ अनुगमन प्रणाली जडान, परीक्षण तथा सञ्चालन कार्यको स्टिमेट र डिजाइन तयार गरिएको जनाइएको छ । यस्तै सुन्दरीजलमा ८ करोड लिटर पानी प्रशोधन केन्द्र निर्माण गरिएको छ । 
हेर्नुहोस भिडियो : 

यो पनि पढ्नुहोस् :

मेलम्ची खानेपानीको काठमाडौंसम्मको सुरुङमार्ग पूरा, सुरुङभित्रैबाट यसरी गरियो सिन्धु–ग्याल्थुङ खण्डको ब्रेक थ्रु​

मेलम्चीको पानीमा रोयल्टी विवाद​

मेलम्ची खानेपानी लफडा : आगामी दशैंमा पनि मेलम्चीको पाइपबाट हावामात्र आउने

मेलम्ची सुरुङको ‘ब्रेक थ्रु’ भएकै दिन दुबैतर्फको सुरुङ बन्द गर्ने चेतावनी (भिडियो)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप