बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विप्लवका नेता भन्छन्, ‘सरकारले युद्धको बिगुल फुके पनि हामी युद्ध चाहँदैनौँ’

हामी शान्तिपूर्ण सङ्घर्षमा पनि आउँछौँ, हामी सहरमा आउँछौँ
बुधबार, २९ फागुन २०७५, १४ : ४६
बुधबार, २९ फागुन २०७५

ओम पुन, पोलिटब्युरो सदस्य, नेपाल कम्युनिस्ट पार्टी

सरकारले मङ्गलबार मात्रै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउँदै उसका कार्यक्रम र नीति तथा कार्यकर्तामाथि धरपकड गर्ने नीति लियो । केही दिनअघिदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बम पड्काउने र चन्दा असुल्नेसँग वार्ता हुँदैन’ भन्दै विप्लवमाथि धरपकड गर्ने सङ्केत गरेका थिए ।

मङ्गलबार विप्लवका गतिविधिमाथि प्रतिबन्धको घोषणा गरेलगत्तै अब फेरि युद्धको त्रास बढ्न थालेको छ । राजनीतिक वृत्त र आम जनमानसमा विप्लव पार्टी अब कसरी अगाडि बढ्छ भनेर चिन्ता जनाइरहेका छन् । यसै सम्बन्धमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य ओम पुनसँग रातोपाटीका मदन ढुङ्गानाले सङ्क्षिप्त कुराकानी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी अब कसरी अगाडि बढ्छ र विप्लव नेतृत्वको नेकपाले के गर्छ भन्ने सम्बन्धमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।  

हिजो मात्रै सरकारले तपाईंको पार्टीमाथि पार्टीमाथि प्रतिबन्धको घोषणा गर्यो, अब के हुन्छ ?

हामी यसलाई सम्पूर्णरूपले खारेज गर्छौं र जनतालाई पनि अस्वीकार गर्न अपिल गर्छौं ।  अब राज्यले युद्धको घोषणा गरेको छ । हामी यसको प्रतिवाद गर्छौं ।

प्रतिवाद कसरी हुन्छ अब ?

प्रतिवाद कसरी गर्ने भन्ने विषय राज्यको चरित्र र व्यवहारमा भर पर्छ । हाम्रा कार्याकर्ता धरपकड गर्ने, हामीमाथि दमन गर्न जसरी सरकार अगाडि आएको छ र हामी पनि त्यही रूपले नै प्रतिवाद गर्छौं ।

पहिलो कुरा त हामी राजनीतिक प्रतिवाद नै गर्छौं, राजनीतिक ढङ्गले नै हामी अगाडि बढ्छौँ । तर राज्यले यसको राजनीतिक समाधान खोज्न चाहेन र हामीमाथि राजनीतिक व्यवहार गरेन भने र फौजी व्यवहार गर्यो भने हामी फौजीरूपले प्रतिवाद गर्न तयारी अवस्थामा छौँ ।

अब तपाईंहरु फेरि हतियार उठाउनुहुन्छ ?

राज्य हामीविरुद्ध हतियार बोकेर आयो र आइलाग्यो भने त हामी पनि हात बाँधेर बस्ने कुरा हुँदैन । त्यसको जवाफ हामी त्यही ढङ्गले दिन्छौँ ।

प्रहरीले पनि विप्लवका कार्याकर्ताहरुलाई जहाँ भेट्छौँ समात्छौँ भनेको छ, तपाइँहरु कसरी अगाडि बढ्नुहुन्छ त ?

२०५२ साल अगाडि नेपाली काँग्रेसले नेपालका प्रहरीलाई कार्यकर्ताका रूपमा प्रयोग गर्यो । उनीहरुले दमन गरे र त्यसले जनयुद्ध जन्मायो र विद्रोह ल्यायो । अब अहिले नेपाल प्रहरीले पनि हामीमाथि धरपकडको सुरुवात गरेको छ र यसले एकीकृत जनक्रान्तिको जन्म दिन्छ ।

हाम्रो लडाइँ प्रहरी भाइहरुसँग होइन, उनीहरुसँग नलडौँ र लड्नु नपरोस् नै भन्ने हो । तर उनीहरु आइलागे भने जाइलाग्ने कुरा र उनीहरु जसरी आउँछन्, हामी त्यसरी नै जवाफ दिन तयार नै छौँ ।

तपाईंका पूर्वसहकर्मी गोपाल किराँतीले विप्लव वार्तामा नआउनु गलत भो भन्नुभयो । वार्तामा चाहिँ किन नआउनुभएको ?

बाहिर मान्छेमा भ्रम के पर्यो भने सरकारले विप्लव माओवादीलाई वार्तामा बोलायो तर हामी गएनौँ भन्ने भयो । तर त्यो पूर्णतः भ्रामक कुरा हो । म तपाईंको मिडियामार्फत् के भन्न चाहन्छु भने पहिलो कुरा सरकारले बनाएको वार्ता समिति त्यो वैधानिक तवरले बनाएकै थिएन । त्यो न राजनीतिक चरित्रको थियो, न त हैसियत भएको वार्ता समिति नै थियो । यो कुरा हामीले मात्रै भनेको कुरा होइन । त्यही पार्टीका नेता भीम रावलले पनि भन्नुभएको कुरा हो । त्यसकारण त्यो वार्ता समिति कस्तो हैसियतको वा कस्तो चरित्रको हो भन्ने कुरा स्पष्ट छ ।

दोस्रो कुरा, न त सरकारले हामीलाई वार्ताका लागि औपचारिक पत्र पठायो, न त औपचारिक आह्वान नै गर्यो ।

तेस्रो कुरा, वार्ताका सम्बन्धमा हामी वार्ताविरोधी होइनौँ । हामी न विगतमा वार्ता विरोधी थियौँ, न अहिले छौँ र न भोलि हुनेछौँ । हामी बुलेट, ब्यालेट र नेगोसिएसनको बाटोबाट हामी अगाड बढेको शक्ति भएको हुनाले हामी अहिले पनि सबै प्रकारका छलफलहरुमा, आन्दोलनका स्वरूपहरु अपनाउनमा निपुण नै छौँ हामी । त्यसकारणले हामी वार्ताविरोधी होइनौँ । तर न सरकारले हामीलाई वार्तामा बोलायो, न वार्ता गर्ने चेष्टा देखायो । मात्र कथित वार्ता समिति बनाएर वार्ताको हौवा फिँजाएर हामीमाथि दमन गर्ने नियत र योजना थियो । त्यो कुरा अहिले प्रमाणित भयो ।

सरकारले वैधानिक ढङ्गबाट वार्तामा फेरि बोलायो भनेचाहिँ वार्तामा जाने हो तपाईंहरु ?

मैले अघि नै भने, हामी वार्ताका विरोधी होइनौँ र छैनौँ । सरकारले राजनीतिक तवरबाट यस मुद्दालाई सल्ट्याउन चाहेमा हामी तयार छौँ । हामी वार्ताका लागि तयार छौँ । तर समिति वैधानिक र अधिकारसम्पन्न हुनुपर्यो । नौटङ्की वार्ताको कुनै अर्थ छैन ।

त्यसैको बदलामा आज बिहानै भरतपुरमा बम पड्काएर प्रतिरोधको घोषणा गर्नुभयो होइन ?

अब हेर्दै जानुस् न । जब यिनले दमन गर्दै जान्छन्, त्यसपछि थाहा हुन्छ । हामीले त भनेका छौँ कि प्रतिबन्ध उसले लगायो । अब हाम्रो सत्ताले पनि केपी र प्रचण्डका नीति र कार्यक्रम र संयन्त्रहरुमाथि प्रतिबन्ध र निषेध सुरु गर्छौं ।

अहिले धेरैलाई चासो र चिन्ता बढेको विषय चाहिँ विप्लव माओवादी फेरि पनि बन्दुक बोकेर युद्धमै जाने हो कि भन्ने छ । तपाईंहरु युद्धमै जाने तयारी गर्नुभएको हो र ?

नेपालमा जनयुद्ध सकिएकै थिएन, जनयुद्धको विश्राम मात्रै भएको थियो र त्यो निरन्तरतामै थियो । जनयुद्धमा भएको विश्राम अथवा युद्धविरामलाई सरकारले हिँजोदेखि भङ्ग गर्यो र युद्धको घोषणा गर्यो । त्यसकारण हाम्रो पार्टीप्रतिको चिन्ता होइन कि जनताले भन्नुपर्यो यो राज्यले युद्धको घोषणा गर्यो । अनौठो त के भयो भने संसारमा यस्तो कहीँ पनि हुँदैन कि राज्यले युद्धको घोषणा गर्छ । विश्वभर नै बरु विद्रोहीले युद्धको घोषणा गर्छ, सङ्घर्षको घोषणा गर्छ । तर यहाँ त देश र जनताका विरुद्ध राज्यले नै युद्धको घोषणा गर्यो, जुन उल्टो र विडम्बनापूर्ण भयो । त्यसकारण जनसमुदायको बीचमा हामीले भन्ने कुरा के छ भने हामीले युद्ध चाहेका थिएनौँ र युद्ध गर्ने चहना पनि थिएन । हामी शान्ति र परिवर्तन चाहन्थ्यौँ । तर सरकारले हाम्रो शान्ति र परिवर्तनको चाहनालाई कुण्ठित गरेर जसरी राज्यले युद्धको भाषा बोल्यो, युद्धको घोषणा गर्यो । यसको जवाफदेहिता, परिणाम र असर र यसको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ ।

तर कतिले त भनिरहेका छन् कि दुई चारवटा पटाका पड्काउँदैमा युद्ध हुँदैन भनेर !

त्यो त २०५२ सालमै भनेका थिएँ नि । गुलेलीले युद्ध हुँदैन, भरुवा बन्दुकले हुँदैन पनि भने । त्यसकारण भन्नेहरुले जेजे भने पनि कुरा बन्दुकको होइन, कुरा शक्तिको होइन, कुरा बमको होइन, विचारको हो ।

त्यतिबेला हामीले दीर्घकालीन जनयुद्धको महान् विचार अगाडि सारेका थियौँ, दश वर्षमा संसार हल्लायौँ ।

यतिबेला एकीकृत जनक्रान्तिमार्फत् समाजवादी सत्ता स्थापना गर्ने विचार अगाडि सारेका छौँ । त्यसकारण हाम्रो विचार सही र जनपक्षीय भएको कारणले हामी यो लडाइँ जित्छौँ भन्नेमा हामी निश्चित छौँ र ढुक्क छौँ ।

तपाईंले सुरुवातमा भन्नुभयो कि हामी पहिले राजनीतिक प्रतिवाद गर्छौँ । राजनीतिक प्रतिवाद भनेको चाहिँ कस्तो प्रकृतिको प्रतिवाद हो ?

हामी शान्तिपूर्ण सङ्घर्षमा पनि आउँछौँ, हामी सहरमा आउँछौँ । हाम्रा नारा, जुलुस कार्यक्रमहरु र हाम्रा अभियानहरुलाई हामी निरन्तररूपमा अगाडि बढाउँछौँ । त्यसो गर्दा राज्यले हामीलाई जेलमा कोच्न पनि सक्छ । हामी जेलबाट पनि आन्दोलन अगाडि बढाउन पनि सक्छौँ । यदि सरकारले हाम्रा कार्यक्रमहरुमाथि बन्दुक चलायो, गोली चलायो, बारुद उडायो भने हामी त्यसको जवाफ चाहिँ हामी पनि गोली र बारुदमार्फत् नै दिन तयार छौँ ।

मतलब युद्ध गर्न पनि तयारी अवस्थामै हुनुहुन्छ ?

हामी कम्युनिस्टहरु युद्ध चाहँदैनौँ र हामी युद्धको घोषणा गर्न पनि चाहँदैनौँ । तर पुँजीवादी, प्रतिक्रियावादी र सामाजिक फाँसीवादीहरुले युद्धको घोषणा गरेर बन्दुकमार्फत् दमन गर्न थाले भने त्यसको प्रतिवाद त्यही स्वरूपमा हुनेछ र हामी तयार छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप