जावलाखेलमा कार्यरत प्रहरी नायब निरीक्षक घिमिरेविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरेका प्रहरी नायब निरीक्षक (सई) प्रकाशचन्द्र घिमिरेविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
महानगरीय प्रहरी परिसर जावलाखेलमा कार्यरत घिमिरेले माध्यामिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय बाराणसी, भारतबाट प्राप्त इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी लाभ लिनु भ्रष्टाचार निवारण ऐनविपरीत भएको अख्तियारले जनाएको छ ।
घिमिरेको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिन आएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
घिमिरेलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन माग दाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको प्रवक्ता दंगालको भनाई छ ।