शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपप्रधानमन्त्री यादवद्वारा अङ्ग दानको घोषणा

बिहीबार, ३० फागुन २०७५, १९ : ०८
बिहीबार, ३० फागुन २०७५

भक्तपुर । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आज मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गरेका छन् । 

विश्व मिर्गौला दिवसका अवसरमा ‘मिर्गौला स्वास्थ्यः जहाँसुकै जोसुकैको लागि’ भन्ने नाराका साथ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठान पुुल्चोक ललितपुरको संयुक्त आयोजनामा भक्तपुरमा भएको दशौं नेपाल प्रत्यारोपण खेलकूद प्रतियोगितामा उपप्रधानमन्त्री यादवले अङ्ग दान गर्ने घोषणा गरेका हुन् । 

यस्तै सोही कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव र नेपालका लागि कोरियाली राजदूत पार्क योङले आज मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गरेका छन् । 

उनीहरुलाई मरणोपरान्त काम लाग्ने सबै अङ्ग दान गरेको कार्ड कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले प्रदान गरे । 

उपप्रधानमन्त्री यादवले सरकारले देशभरका विभिन्न भागमा जनशक्ति र प्रविधिसहितको मानव अङ्ग प्रत्यारोपण केन्द्रको पहुँच पु¥याउने तयारी गरेको बताए । 

मिर्गौला रोगीका लागि डायलायसिसभन्दा प्रत्यारोपण प्रभावकारी हुने उनको भनाइ थियो । वर्तमान विश्वमा नसर्ने रोग मृत्युको मुख्य कारण बनेकाले उनले नसर्ने रोग र अङ्ग फेल हुने रोगबाट बच्न बचाउन जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए । 

स्वास्थ्य राज्यमन्त्री डा. यादवले मिर्गौला प्रत्यारोपीहरु अरू स्वस्थ्य व्यक्तिसरह स्वस्थ्य र सक्षम जीवन बिताउन सकेको बताए । उनले दुर्घटनालगायत विभिन्न कारणले मृत्यु हुने बिरामीका अङ्ग दान गर्न सके धेरै बिरामीले नयाँ जीवन पाउन सक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । 

कलाकारद्वय श्रेष्ठ र आचार्य, नेपालका लागि कोरियाली राजदूत योङ, अष्ट्रेलियाका राजदूत पिटर वर्ड, केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ, डा. राकेशकुमार वर्मालगायतले मानव अङ्ग दान गर्नेबारे आम नागरिकलाई जानकारी दिनुपर्नेमा जोड दिएका थिए । ‘बाचुञ्जेल रक्तदान र मरेपछि अङ्ग दान’ गर्नेबारे जनचेतना फैलाउनुपर्ने उनीहरुले बताए ।  

विश्व मिर्गौला दिवसका अवसरमा साताव्यापी रुपमा आयोजना गरेको ब्याडमिन्टन, दौड, मिर्गौला दान गरेका र प्रत्यारोपण गरेका बिरामी तथा केन्द्रका चिकित्सकबीच मैत्रीपूर्ण फुटबल प्रतियोगितासमेत आयोजना गरिएको थियो । 

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । गायक दीपक बज्राचार्यले साङ्गीतिक प्रस्तुती प्रस्तुत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप