शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फास्ट ट्रयाकको ७० प्रतिशत कटिङ/फिलिङको काम सम्पन्न : विकास समितिमा सेनाको प्रशंसा

६ प्रतिशत मुआब्जा दिन बाँकी : ९७ प्रतिशत रुख काटियो
शुक्रबार, ०१ चैत २०७५, १६ : २६
शुक्रबार, ०१ चैत २०७५

राष्ट्रिय गौरवको बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको काठमाडौ तराई जोड्ने द्रुतमार्ग सडकमा माटो काट्ने र भर्ने काम ७० प्रतिशत पूरा भएको छ । संसदको विकास तथा प्रविधी समितिको शुक्रबार बसेको बैठकमा द्रुतमार्गको अवलोकन भ्रमण प्रतिवेदन सार्वजनिक गर्दै नेपाली सेनाले जिम्मेवारी लिएको १८ महिनामा उल्लेख्य प्रगति भएको जानकारी गराइएको छ ।

गएको पुस ६ र १६ गते समितिका ९ जना सदस्य, सचिवालयका कर्मचारी, नेपाली सेनाका प्रतिनिधी  लगायतले आयोजनामा भइरहेको कामको प्रगतिबारे स्थलगत अवलोकन गरेका थिए । अवलोकनका क्रममा सेनाले जिम्मेवारी पाएको १८ महिनामा कूल ७६ दशमलव २ किमी मध्ये ५४ किमी खण्डमा कटिङ/फिलिङको काम करिब ७० प्रतिशत सम्पन्न भएको र निर्धारित समयमा सेनाले काम सक्ने प्रतिवेदनमा भनिएको छ । नेपाली सेनाले काठमाडौँदेखि निजगढसम्म १० वटा क्याम्प खडा गरेर द्रुतमार्ग निर्माणको काम अगाडि बढाइरहेको छ ।

यस्तो छ फास्ट ट्रयाकको प्रगति :

निजगढको जिरो कि.मि.मा निजगढको पूर्व–पश्चिम हाइवे तामागडीदेखि चुरेको फेदिसम्म समथर क्षेत्रमा करिव ८ कि.मि. माटो काट्ने र माटो भर्ने काम लगभग अन्तिम चरणमा पुगेको छ । सडकको चौडाई ४४ मि. सम्म रहेको र एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको सडक निर्माण कार्यदल वेसक्याम्प निजगढका प्रमुख प्राविधिक सेनानी राजेश कुमार देवले संसदीय समितिलाई बताएका छन् ।

यस्तै मकवानपुरको राजदमार ८ कि.मि. क्षेत्रभित्र कटिङ/फिलिङ काम भइरहेको र पुल बनाउने काम आगामी वर्षबाट थालिने भएको छ ।

यता द्रुतमार्गको पहिलो पटक २०६६ साल कात्र्तिक २३ मा शिलान्यास भएको बुदुनेमा लगभग ७९.१ प्रतिशत काम सकिएको छ । सो खण्डमा ११ वटा पुल बनाउनु पर्ने २२ वटा घरहरुको क्षतिपूर्ति दिन बाँकी रहेको छ ।

यस्तै कान्ति राजपथ र द्रुतमार्गको क्रसिङ विन्दु रहेको लेनडाँडा महादेवटारदेखि धेद्रे खोलासम्म ३.३ कि.मि., धेद्रेदेखि जितपुर खोलासम्म १.४ कि.मि. र शिवालिक रेन्जमा पर्ने जितपुर खोलादेखि वाँदरे खोलासम्म कान्तिलोकपथमा हुने क्षति कम गर्न १.३७ कि.मि. गरी ३ वटा सुरुङमार्ग निर्माण गरिने भएको छ ।

 ५ कि.मि. क्षेत्रमा काम भइरहेको यो ठाउँमा २.९ कि.मि. मा ८९ प्रतिशत काम सम्पन्न भएको जनाइएको छ ।

यस्तै काठमाडौँको दक्षिणकाली नगरपालिकाको वडा नं. ७ मख्खुबेसीमा ९ कि.मि. क्षेत्रमा ५ ठाउँमा अन्डरपास बन्ने, ११ ठाउँमा पुलहरू बनाउनुपर्ने, त्यहाँ लगभग ७४ प्रतिशत कटिङको कार्य पूरा भएको छ । यस खण्डमा २ वटा ९० मिटरको पुल बनाउनु पर्ने, जम्मा ८.५ कि.मि. हेर्ने सेनाको मख्खुबेसी क्याम्पले २ महिनाभित्र कटिङको काम सक्ने जनाएको छ ।

संसदमा प्रस्तुत प्रतिवेदनमा आयोजनको काम नेपाली सेनाले जिम्मा लिएको भएपनि कतिपय स्थानमा राष्ट्रिय स्तरका निर्माण व्यवसायीहरुले समेत काम गरिरहेको जनाइएको छ । 

खोकनामा अझै मुआब्जा विवाद

द्रुतमार्ग अन्र्तगत ललितपुरको खोकना खण्डको ६ कि.मि. खण्डमा अझै जग्गा मुआब्जा तथा रेखांकन विवाद रहेको छ । डुकुछाप वुङ्मति खण्डमा पर्ने द्रुतमागको २.९ कि.मि. खण्डमा कटिङ/फिलिङ गरी द्रुतमार्ग निर्माणको काम भइरहेपनि खोकनामा जग्गा अधिग्रहणको विवादका कारण निर्माण कार्य अगाडि बढाउन अझै समस्या रहेको जनाइएको छ ।

संसदीय समितिका प्रतिनिधीले स्थानीय बासी तथा सरोकारवालाहरूसँग कुरा गर्दा फर्सीडोललाई जिरो प्वाइन्ट कायम गर्नु पर्छ भन्ने माग समेत राखेको प्रतिवेदनमा उल्लेख छ ।

खोकनाबासीले अन्य स्थानमा गुठीको जग्गा अधिग्रहण गर्दा कायम गरिएको मूल्यको ३३ प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने नियम भएपनि उनीहरुले ५० प्रतिशत क्षतिपूर्तिको माग गरेका छन् । 

६ प्रतिशत मुआब्जा दिन बाँकी : ९७ प्रतिशत रुख काटियो

यस्तै आयोजनाको इञ्जिनियरिङ सर्भे तथा डिजनाइन अन्र्तगत पूर्व इन्जिनियरिङ सर्भे, एलाइन्मेन्ट डिजाइनको काम सकिएको, क्रस ड्रिनेज स्ट्रक्चर, रिटेइनिङ स्ट्रक्चर सम्पनन भएको र पुलहरूको स्थान तथा लम्बाई निर्धारण भई सकेको छ । २१ हजार २ सय ५८ रुख कटान गर्नुपर्नेमा २० हजार ६ सय ६६ अर्थात ९७ प्रतिशत रुख कटान गरिएको छ । यस्तै अधिग्रहण गर्नु पर्ने १५ हजार ६९ रोपनी मध्ये ८ सय ६३ रोपनी जग्गा अधिग्रहण गर्न बाँकी छ ।

यता पुल निर्माणका लागि ६ वटा विदेशी निर्माण कम्पनीहरूको पूर्व योग्यता निर्धारण अनुसार छनौट गरिएको छ भने साना पुलहरू निर्माणको लागि खरिद प्रकृया सुरु गर्न टेन्डर प्रक्रिया सुरु गरिदैछ । 

सुरुङ निर्माणका लागि पनि टेन्डर कागजात तयार पार्ने काम भइरहेको भने प्रस्तावित टनेलहरूको डिजाइनको काम भइरहेको छ ।

सरकारले २०७४ वैशाख २१ गते यो आयोजना निर्माणको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।  २०७४ साउन २७ गते सेनालाई भौतिक पूर्वाधार मन्त्रालयले आयोजना हस्तान्तरण गरेपछि  सेनाले काम थालेको थियो ।  काठमाडौँदेखि निजगढसम्मको दूरी ७६.२ कि.मि.मा प्रतिघण्टा १ सय २० कि.मि.को गतिमा सवारी साधनहरू गुड्ने योजना छ ।

विकास समितिको बैठकमा सेनाले प्रभावकारी ढंगले काम गरेको भन्दै प्रसंसा समेत भएको छ । पूर्व प्रधानमन्त्री एवं समितिका सदस्य झलनाथ खनालले सेनाले गरेको विकासको काम नेपालको मौलिक मोडेल भएको बताउदै फास्ट ट्रयाक निर्माणको काम अब सुनिश्चित भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप