मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मधेशलाई तराई भन्न पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह

शुक्रबार, ०१ चैत २०७५, १८ : ३२
शुक्रबार, ०१ चैत २०७५

जनकपुर । दुई दिनदेखि मधेस भ्रमणको क्रममा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुर हुँदै सर्लाहीको मलंगवास्थित दूर्गा मन्दिर र जानकी मन्दिरमा पुजापाठ गरिसके पछि आज बल्ल बोलेका छन् ।

शुक्रबार जानकी मन्दिरमा पूजापाठ गरिसकेपछि पूर्व राजा शाहले मधेशलाई तराई भन्न आग्रह गरेका छन् ।  मधेशको अवस्था कस्तो लाग्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा पूर्वराजा शाहले भने– ‘मधेश होइन तराई भन्नुस् ।’

सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानी गर्दै उनले जनता वर्तमान सरकारको नेतृत्वप्रति असन्तुष्ट रहेको सहजै बुझ्न सकिने बताए । जानकी मन्दिरमा पूजा अर्चनापश्चात पूर्वराजा शाहले देशमा शान्ति र जनताको भलो चाहेको प्रतिक्रिया दिए । 

जानकी मन्दिरमा पुगेपछि राप्रपा नेपाल, राप्रपा संयूक्त, शिव सेना, राजपा लोकतान्त्रिकलगायतका नेता÷ कार्यकर्ता तथा समर्थकहरुले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाएका थिए । 

उनलाई स्वागत गर्न सहभागिहरु फुलमाला र राजारानीको फोटो समेत लिएर स्वागत गरेका थिए । 

आफ्नो पक्षमा माहोल बनाउन बुधबार जनकपुर आएका पूर्वराजा शाहले बिहीबार धनुषाको महेन्द्रनगर, महोत्तरीको बर्दिबास, सर्लाहीको नवलपुर, गम्हरिया, कविलासी, मलंगवालगायतको स्थानमा आफ्ना समर्थकहरुलाई भेटघाट गरेका थिए । 

पूर्वराजा शाहको स्वागतका लागि मन्दिरको उत्तरी मुलद्वार हुँदै जानकी मन्दिरसम्म रातो कार्पेट बिछ्याइएको थियो ।

जानकी मन्दिरका महन्थ राम तपेश्वरदास वैष्णवले चाँदीले बनेको जानकी मन्दिरको प्रतिमा हस्तान्तरण गरी पूर्वराजा शाहलाई स्वागत गरे । 

उनी शनिवार उदयपुर पुगेर पुनः जनकपुर फर्केपछि आइतबार काठमाडौं जाने कार्यक्रम रहेको उनका नीति सचिव फणि पाठकले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप