शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हार्डवेयर फुटाएर लाखौंको सामान चोरी, चोरेरै काठमाडौंमा घर–घडेरी !

शुक्रबार, ०१ चैत २०७५, १८ : ५६
शुक्रबार, ०१ चैत २०७५

काठमाडौं । प्रहरीले मध्यरातमा काठमाडौंका हार्डवेयर पसल फुटाएर चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको मोतिहारी स्थायी घर भई पुरानो बानेश्वर बस्दै आएका पारस प्रसाद, भारत समस्तिपुर घर भई तिलगंगा बस्दै आएका सन्तोष पोद्दार र रामेछाप खनियाँपानीका ओमराज श्रेष्ठ रहेका छन् । 

दिनभर मोटरसाइकलमा रेकी गरेर रातको समयमा प्राइभेट मारुती भ्यान तथा ट्याक्सीको प्रयोग गरी चोरी गर्ने उक्त समूहले चोरेरै काठमाडौंमा घडेरी खरिद गरेर घर समेत बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

पछिल्लो समय फागुन २१ गते राती काठमाडौं महानगरपालिका–४ धुम्बाराही पिपलबोट नजिक रहेको दिपक श्रेष्ठको घरमा कर्णप्रसाद चौलागाईंले सञ्चालन गरेको रिजन इन्टरप्राईजेज हार्डवयर पसलबाट ज्याकवेयर तथा धारालगायतका सामाग्री चोरेपछि उक्त गिरोहको ‘चोरी धन्दा’ पर्दाफास भएको थियो ।

‘हार्डवेयर चोरी गर्ने उक्त गिरोहले चोरी गरेको ७० हजार रुपैयाँ नगदसहितको सामग्री हामीले बरामद गरेका छौं,’ महानगरीय प्रहरी वृत महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईले भने, ‘उनीहरुले चोरी गरेर घर–घडेरी नै जोडेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।’

महाराजगञ्जका डीएसपी प्रसाईको नेतृत्वमा खटिएको प्रहरी टोलीले मध्येबानेश्वरस्थित प्रतिवादी पारस प्रसादले भाडामा लिएको डेरा कोठाबाट नगद, हर्डवेयर तथा चाँदीका गर–गहनाहरु बरामद गरेको थियो ।

बरामद समानको मुल्य १५ लाखभन्दा बढी रहेको पाइएको छ ।

चोरीमा संलग्न गिरोहले काठमाडौं उपत्यकाभित्र रहेका हार्डवेयर, फेन्सी तथा ज्वेलर्स पसलमा ग्राहक बनेर समेत रेकी गर्ने र मध्यरातमा चोरी गर्ने गरेको पाइएको छ ।

दिनभर रेकी गरेको पसलको ताला तथा सटर काटी, फुटाई धनमाल चोरी गरी बा.१ ज ११९२ नम्बरको ट्याक्सी बोलाएर लोड गरेर उक्त सामान पुरानो बानेश्वरस्थित गोदाममा राख्ने गरेको शुक्रबार महाराजगञ्जमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौंका एसपी अशोक सिंहले जानकारी दिए । 

‘सोही गोदामबाट बा.१४ च ७२६९ नम्बरको मारुती भ्यानमा चोरीका सामान राखेर उक्त गिरोहले निर्माणाधिन घरहरुमा बिक्री गर्ने गरेको खुल्न आएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सिंहले भने, ‘हामी थप अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीका अनुसार चोरीमा संलग्न गिरोहका सदस्यहरु चार जना अझैं फरार छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप