शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद सरिता प्रसाईंको जीवन : अहिलेसम्म अविवाहित, राजनीतिसँग प्रेम बस्यो

शनिबार, ०२ चैत २०७५, ११ : ०१
शनिबार, ०२ चैत २०७५

सरिता प्रसाईंको पारिवारिक वातावरण राजनीतिसँग नजिक थियो । नेपाली काँग्रेससँग नजिक रहेको प्रसाईं परिवारबाटै उनले आफ्नो राजनीति सुरु गरिन् । झापाका प्रसाईं परिवारलाई काँग्रेसमा मात्र नभई देशभरि नै सम्मानका साथ हेरिन्छ ।

नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल हुँदै काँग्रेसको राजनीतिमा उनले प्रवेश पाइन् । संविधानसभामा सभासद्, राष्ट्रिय सभामा मुख्य सचेतकसम्म आइपुगेकी उनी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य पनि हुन् । उनले केही समय राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी थिइन् । 

व्यक्तिलाई छिटो विश्वास गर्ने, नेता कार्यकर्तालाई संरक्षण गर्ने, मन खुलाएर बोल्ने उनका विशेषता पनि हुन् । व्यक्तिलाई छिटो विश्वास गर्दा कतिपय ठाउँमा सरितालाई समस्या पनि भएको छ । कोइराला परिवारबाट प्रभावित उनी युवापुस्तालाई ठाउँ दिनुपर्ने पक्षमा छिन् । महिलाका अधिकार मात्रै उनको उद्देश्य होइन । नेपाली काँग्रेसको प्रजातन्त्र र समाजवादलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यता उनी जहिले पनि अगाडि सार्ने गर्छिन् । सरितासँग रातोपाटीको ‘मेरो जीवन’ स्तम्भका लागि गरिएको कुराकानी

मेरो खाना
पहिल्यैदेखि गुन्द्रुक र दालभात खाँदै आएकी म । अहिले पनि यही मनपर्छ । मन नपर्ने त्यस्तो केही छैन । भटमास साँदेको र आलु भुटेको विशेष लाग्छ । साथी, आमालगायत परिवारका सदस्यसँग रेस्टुरेन्ट जान्छु । मेरो विचारमा रमाइलो गर्न रेस्टुरेन्ट जाने हो । पकाउन सबैथोक आउँछ । मीठो पकाउने भनेको माछा हो । साथीभाइ, परिवारका सदस्यलाई पकाएर खुवाउन  रुचाउँछु । 

मेरो पोसाक
विशेष गरी नेपाली सारी लगाउने गर्छु । मनपर्ने कलर क्रिम र सेतो नै हो । बच्चामा पाइन्ट पनि लगाउँथे । अहिले सारी बढी प्रयोग गर्छु । कुर्था सुरुवाल पनि लगाउँछु । ब्रान्ड कन्सेस छुइनँ । सारी अधिकांश कटन र सिल्कको मनपर्छ । कुर्था सुरुवालमा ब्रान्डभन्दा पनि मनपर्ने हेर्छु । सारी नेपालमा कमै बन्ने भएकाले इन्डियन प्रयोग गर्छु । नेपालमा बनेको ढाकाको सारी पनि लगाउँछु । रेगुलर सारी किन्ने भन्ने हुँदैन । त्यसैले परिरनमा वार्षिक कति भनेर भन्न सकिन्न । आफू विदेश जाँदा एकसाथ दुई तीनवटा पनि ल्याउँछु । 

मेरो फिट्नेस
पहिला म खेलाडी थिएँ । धेरै फिट्नेस गर्थें, अहिले गर्दिनँ । खेलाडी भएपछि सधैँ ट्रेनिङ गर्नुपथ्र्यो । आफै पिट्नेस हुन्थ्यो । अहिले छुटेको छ । फिट्नेस गर्नुपर्छ भन्ने त लागेको छ । फिट्नेस नभए मानिस रोगी हुन्छ भन्ने पनि बुझेकी छु । फिट्नेसका लागि के–के गर्नुपर्छ भन्ने जानकारी पनि छ । त्यसैले अब सुरु गर्छु होला ।

मेरो अध्ययन
धेरै अध्ययन गर्छु । अहिले पढिरहेको पुस्तक बीपीको विद्रोह हो । यस अगाडि सुशीला कार्कीले लेखेको किताब पढेको थिए । उपन्यास धेरै पढ्दिनँ । मैले धेरै पढ्ने भनेको नेताहरुको बायोग्राफी, उनीहरुले गरेका काम, उनीहरूको सिद्धान्तले भरिएका किताब हुन् । यसले ज्ञान पनि बढ्छ । बीपीले लेखको आत्मवृत्तान्त, जेलजर्नल राम्रो लाग्यो हो ।

त्यतिबेला बीपीले लेखेको विचार अहिले आएर मिल्न गएको छ । ‘तराई र पहाड छुट्याउने खेल हुन्छ । त्यसैले गर्दा मैले तराईमा पहाडिया र पहाडमा तराईका उम्मेदवार उठाएको छु’, सो समय बीपीले भन्ने गर्नुहुथ्यो । अहिले त्यो विचार सत्य प्रमाणित भएको छ । 
  
मेरो घुमफिर
घुमफिर एकदमै रमाइलो लाग्छ । स्वदेश, विदेश सबैतिर घुम्न मन लाग्छ । स्वदेशका सबै ठाउँ पुग्न मन लागेको छ । स्वदेशका मनाङ, मुस्ताङदेखि कालीकोटसम्म प्राय सबै ठाउँ पुगेकी छु । घुमेर देशको बारेर जानकार लिन राम्रो लाग्छ । राजनीति गरेर नेपाल परिवर्तन गर्छु भन्नेले देशको सबै कुनमा पुगेर जानकारी राख्नुपर्छ ।
कुन ठाउँको भौगोलिक स्थिति के छ ? जनताको अवस्था के छ ? विकासका पूर्वाधार पुगे पुगेनन् ? सबैको चासो राख्नुपर्छ । देशका ५, ६ वटा जिल्ला बाहेक सबै ठाउँमा पुगेकी छु । विदेशका पनि धेरै ठाउँ घुमे ।     

मेरो फुर्सद
फुर्सद कमै हुन्छ । फुर्सदको समय घरमा काम गर्ने, फिल्म हेर्न जाने, आफन्त भेट्ने गर्छु ।

मेरो खेलकुद
खेलकुदतिर रुचि छ । म पहिले सितोरियो मार्सल आर्ट खेलाडी थिए । ब्ल्याकबेल्टसम्म लिएर छोडेको हो । दुईवटा अन्तर्राष्ट्रिय खेलबाट देशलाई मेडल पनि दिलाएकी छु । २०४६ साल अगाडि धेरै खेल खेल्थँे ।
त्यतिबेला काँगे्रसीका लागि खेल खेल्न निकै अप्ठ्यारो अवस्था थियो । अन्तर्राष्ट्रिय खेलबाट मैले रजत र काँस्य पदक जितेकी थिएँ । अहिले पनि खेलप्रति इन्ट्रेस्ट छ । तर खेल्न भ्याइँदैन । त्यसैले फुर्सद भयो भने हेर्छु । फुटबल, भलिबल र सितोरियो कराँते पनि हेर्छु । 

मेरो मोबाइल
अहिले मसँग दुईटा मोबाइल छन् । एउटा सिम्पल खालको छ । यो ब्याट्री धेरै टिक्ने भएकाले बोकेकी हुँ । अर्काे सामसुमको राम्रो खालको बोकेकी छु, जुन इन्टरनेट चलाउन सजिलो हुन्छ । छिटोछिटो मोबाइल फेर्ने बानी छैन । किनभने म प्रायः गिफ्ट लिदिनँ । आफैले किनेर चलाउने हो । मोबाइलमा इमो, फेसबुक, इमेल र अनलाइन न्युज बढी हेर्छु ।

मेरो टीभी
बिहान र बेलुका ८ बजेपछि टीभी हेर्छु । टीभीमा हेर्ने भनेको समाचार, इन्टरभ्यु, विदेशी खबर नै हो । योबाहेक नेसनल जोग्राफी पनि हेर्छु । धेरै पहिले घरमा ब्ल्याक एन्ड ह्वाइट टीभी थियो । अहिले सामसुम ब्रान्डको ४२ इन्चको कलर छ । अहिले टीभीमा नियमित हेर्ने सिरियल भनेको भारतीय सिरियल चन्द्रगुप्त मौर्य र कुल्फी हो ।

मेरो चलचित्र
चलचित्र धेरै हेर्छु । बजारमा आएका प्रायः चलचित्र हलमै गएर हेरेकी छु । चलचित्र हेर्न मनपर्छ । पछिल्लो समय हेरेको चलचित्र बलिउडको ‘बदला’ र नेपाली ‘छक्का पन्जा–३’ हो । अहिले नेपाली चलचित्र राम्रो बन्न थालेका रहेछन् ।

केही अगाडि तराईको विषयमा बनेको चलचित्र ‘भोर’ पनि हेरेकी थिएँ । यसले मेरो मन छोयो । झोला चलचित्र हेर्दै रोएँ । अहिले आएका फिल्मको सुटिङ पनि राम्रो ठाउँमा हुने गरेका रहेछन् । कलाकारसँग उठबस कमै हुन्छ । केही चिन्छु । 

मेरो खुसी 
जनताले सुख पाए, देश समृद्धिको बाटोमा हिँडे खुसी भइन्थ्यो होला । जुन कामका लागि राजनीतिमा लागियो । त्यो काम पूरा अहिलेसम्म हुन सकेको छैन । व्यक्तिगत रूपमा भने खुसी नै छु । केही कुराको अब्ठ्यारो छैन । परिवारबाट पनि राम्रो सपोर्ट छ । 

राजनीतिमा पनि पोजिसन राम्रै छ । अहिलेसम्म सबैभन्दा धेरै खुसी भएको क्षण २०४६ को बहुदल घोषणा हुँदा हो । सो समय म मेरा सम्पूर्ण परिवारको साथमा जेलमा थिएँ । प्रजातन्त्र ल्याउनुपर्छ । देशका सबैले सुख पाउनुपर्छ भनेर आन्दोल गर्दा परिवारका ५ सदस्य जेल परेका थियौँ । यो समय बहुदल घोषणा हुँदा जेलको छतमा चढेर उफ्रिएर खुसी व्यक्त गरेँ । त्यति मात्र कहाँ हो र संसार जितिए जस्तो भयो । 
  
मेरो रोग
भगवानको कृपाले अहिलेसम्म रोग केही देखिएको छैन । कहिले एक वर्ष, कहिले ६ महिनामा होल बडी चेकअप गर्ने गरेको छु । बढ्दो उमेरका कारणले चिल्लो खान भने अहिले केही कन्ट्रोल गरेकी छु ।

मेरो भाषणशैली
स्पष्ट क्लियर भाषण मनपर्छ । झुट धेरै बोल्नु हुँदैन । मास तान्न भन्दैमा भाषणमा झुटको खेती गर्नुहुँदैन भन्ने मेरो लाइन हो । सत्य कुरो बोल्नु पर्छ । सत्यको सधैँ जित हुन्छ । जिम्मेवार मानिसले कहिल्यै हावाको भाषण ठोक्नु हुँदैन । ताली पड्काउने भाषण जसले पनि गर्नसक्छ । तर त्यसले मुलुक चल्दैन । एग्रेसिफ भाषण युवाले गरेको सुहाउँछ ।

मेरो मापसे
कहिलेकाहीँ अलिअलि परिवारसँग बसेर खान्छु । घरमा सजाएर राखेको छैन, मन पर्दैन । कहिलेकाहीँ कार्यक्रम हुँदा ल्याउनुपर्छ । त्यो समयको माग हो । 

मेरो सङ्गीत
गीत–सङ्गीत धेरै सुन्छु । नेपाली र हिन्दी सबै प्रकारका गीत सुन्छु । हिन्दीमा पुराना खालका गीत मनपर्छ । अहिलको लोक गीत पनि राम्रो लाग्छ । नारयण गोपाल, भक्तराज आचार्य लगायत गायकका गीत मनपर्छ । बलिउडमा सोनु निगम, अनु मल्लिक, लता, आसा भोसले लगायतका गीत राम्रो लाग्छ । गीत गाउन मनपर्छ  । तर मेरो गाउने स्वर छैन । 

मेरो भूल
जान–अञ्जानमा गल्ती भए होलान् । भूल नगरी मानिस कहाँ सफल हुन्छ र ? सम्झना लायक भूल केही छैन । भूल नगरी पाएको सजाय भनेको प्रजातन्त्र ल्याउन गरेको आन्दोलमा सरकाले दिएको जेल सजाय नै हो । 

मेरो सौन्दर्यचेत
सौन्दर्यमा धेरै ध्यान दिन्न । तर हल्का फुल्का गर्छु । अनुहारमा क्रिम, कपालमा हस्तामा एक पटक तेल लगाउँछु ।

मेरो प्रेम
प्रेमविनाको जीवन असम्भव छ । मैले अहिलेसम्म विवाह गरेकी छैन । धेरै मानिससँग प्रेम छ । विवाह गर्ने प्रेम भएन । मेरो प्रेम राजनीतिसँग बस्यो ।

मेरो राजनीति 
सानैदेखि मेरो राजनीति सुरु भयो । आफूले बुझ्ने हुँदा २०३६ सालमा अरूको काँधमा बसेर गीत गाएर भाषण गरेर हिँड्थेँ । हरेक कुराको परिवर्तन राजनीतिले गर्छ । पहिले र अहिलेको राजनीतिमा आकाश जमिनको फरक भएको छ ।
अहिले राजनीति पैसाका लागि हुन थाल्यो । भ्यालुको राजनीति छैन । यसको अब मूल्य मान्यता नै नरहने भयो । सोही कारणले दिक्क लाग्छ । अहिले मुलुकमा लिडर नभएको जस्तो परिस्थति देखिएको छ । 
 
मेरो सपना
त्यस्तो ठूलो सपना केही छैन । संसार घुम्दा हामीभन्दा कमजोर मुलुकले अहिले ठूलो फड्को मारेको देख्न सकिन्छ । हाम्रो देश भने पछिपरेको छ । देश समृद्ध, जनता सुखी भएको हेर्ने सपना छ । 

एक पटक म मुगु गएको थिए । त्यहाँ आमसभा आयोजना भएको थियो । त्यो आमसभामा महिलाहरु बच्चा बोकेर आएका थिए । हेर्दा ७० वर्षका देखिने उनीहरु ३५ पनि नलागेका रहेन छन् । सोद्धा थाहा भयो ।

अर्काे कुरो आमसभा हेर्न उनीहरु ३ दिन हिँडेर आएका रहेछन् । आउनुको कारण काँग्रेसी भएर होइन रहेछ । खान पाइन्छ भनेर आएका रहेछन् । सो समय लाग्यो, जसको निम्ति हामीले राजनीति गर्यौँ, त्यो ठाउँमा हामी पुग्न सकेका रहेनछाँै । त्यसपछि म रुँदै रुँदै फर्किएँ ।

मेरो मृत्यु
मृत्यु अवश्यम्भावी हो । जन्मेपछि मर्नुपर्छ । मृत्युदेखि डर लाग्दैन । बिरामी नभई मर्न पाऊँ । मृत्यु सहज होस् । सजिलो होस् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप