केन्द्रीय संस्करण

त्यो अनाम प्रेमपत्र !

person explore access_timeचैत २, २०७५ chat_bubble_outline0

एक दिन कलेजबाट घर फर्किने बेला, पोस्टम्यान अङ्कल सायकलको घन्टी बजाउँदै मनेर आएर रोकिए । हाम्रो टोलमा कसैको चिठी वा पार्सल होला, मैले सोचेँ । हामी बस्ने ठाउँ अलि कुनातिर भएकाले त्यहाँको चिठीपत्र उनले चिनेकाहरुलाई भिराउँथे ।

उमेरले सायद ६० पुग्न लागेका, मोटो चस्मा लगाउने ती होचा पोस्टम्यान अङ्कलले विश्वासका साथ जिम्मा लगाउने गर्थे । मैले उनलाई बाल्यकालदेखि नै खाकीको ड्रेस, खाकीकै टोपीमा देखेकी थिएँ । हामी सानोमा उनको सायकल पछिपछि कुद्ने गथ्र्यौं । उनले रमाइलो मान्दै घन्टी बजाउँथे, ट्रिङ ट्रिङ । गोवामा त्यो बेला कसैले कुनै काम पर्दा वा बजारमा माछा किन्न जाँदा ढोकामा ताल्चा लगाउने चलन थिएन । एकअर्काको बारीका फलफूल सोधेर टिपेर खान पाइन्थ्यो ।

“बाय तुझे चिटठी,” पोस्टम्यानले भन्दा म झसङ्ग भएँ । उनको हातमा एउटा रातो खाम भएको चिठी थियो । कोंकनी भाषामा बाय भनेको नानी हो । चिठी हेरेर एक छिन त अकमक्केँ पनि । मलाई चिठी पठाउने को होला ? बुवाको त आउँथ्यो ।

कहिलेकाहीँ दार्जलिङबाट हाम्रो विद्यार्थी सङ्घठनको दिदी सरस्वती महराले मलाई निकै प्रेरणादायक पत्र पठाउनु हुन्थ्यो । तर घरमा माओवादी भन्ने शब्द प्रतिबन्धित भएकाले दिदीका स्नेहीपत्र दार्जिलिङबाट आउने साथीहरुमार्फत आउने गर्थे । मैले पढेपछि लुकाउने गर्थें । त्यतिखेर दिदी अखिल भारत नेपाली एकता समाज अन्तर्गतको विद्यार्थी सङ्घठनको केन्द्रीय महासचिव हुनुहुन्थ्यो । म गोवा राज्यको विद्यार्थी सङ्घठनको उपाध्यक्ष थिएँ । दिदीसँग पत्रमार्फत मात्र भेट हुन्थ्यो ।

कुनै दिन कुनै कार्यक्रममा भेट हुने आस भने थियो । कोलेजमा मैले जितेका पुरस्कार भने हुलाकमार्फत आए पनि कोलेजमै बुझ्थेँ । अँ, खाममा सुन्दर अङ्ग्रेजी अक्षरमा मेरो नाम र ठेगाना लेखिएको थियो । ओल्टाइ पल्टाइ हेरेँ, पठाउने व्यक्तिको नाम थिएन । खाम खोलेँ । भित्र एउटा कार्ड र लामो चिठी थियो । ए हे मेरो जन्मदिन पो थियो अर्को दिन ! तर कसैले आजसम्म यसरी मगमग बासना आउने बर्थ डे कार्ड हुलाकबाट पठाएको थिएन । त्यस्तो ठट्ठा गरिहाल्ने साथी पनि कोही थिएनन् ।

क्याटीलाई पितृशोक परेको धेरै भएको थिएन । सुवर्णालाई क्लास न सिद्धिँदै ताई (दिदी)का नानीहरुको धरालो गर्न हतार हुन्थ्यो । उसकी ताई माइतमै केही समयदेखि सुत्केरी बस्न आएकी थिइन् । साथीहरुले ठट्ठा गर्थे, कुन दिन यसले कोलेजमै नानीहरु लिएर आउँछे । उसलाई साध्नेहरुले त्यो डल्ली साथी तिम्रो भन्थे । ठूला ठूला भारतीय आँखा थिए उसका । लामो कपाल थियो, अलि कर्ली परेको । फेरि मलाई चिन्नेहरुले भेटेरै उपहार दिन्थे । मिल्ने साथीहरुसँग कोलेजमै भेट भइहाल्थ्यो । कार्डभन्दा पहिले चिठी खोलेँ । त्यही खाम बाहिर भएको सुन्दर अक्षर भित्र पनि थिए । माथि सम्बोधन थियो ‘डियरेस्ट लक्ष्मी’ । तल मेरो बारेमा बखान थियो । तर गधाले कहीँ कतै आफ्नो बारेमा खुलाएको थिएन ।

कुनै सङ्केत थिएन, कहाँ भेटेको भनेर । मेरो टाउको दुख्न थाल्यो । माथिदेखि तलसम्म मेरो बारे उसलाई लागेका कुरा र सुन्दर वर्णन मात्र थियो । अन्त्यमा तिम्रो डट डट डट मात्र लेखिएको थियो । अनि आई लभ यू लेखेर बिट मारेको थियो । परिचित अक्षर होइन । अब ओठबाट मुस्कान हराउँदै गयो । म गम्भीर भएँ । हल्का ज्वरो आउला जस्तो भएको थियो । दाजुले के सोच्ला ? घर पुगेँ । खुट्टा धोएर भित्र पसेँ । दाजुले मेरो अनुहारमा बाह्र बजेको देखेर आँखी भौँ खुम्चायो ।

आफूलाई सहज बनाउँदै मैले चिठी कपडा सिलाउने मेसिनको खोलमुनि लुकाएँ । उसले देखिहाल्यो । तुरुन्तै तान्यो । मैले जनादेश पत्रिका यसरी नै लुकाउँदा उसले मेरो हात भाँचिने गरी हानेको थियो । आतङ्कारी हुन थाली, उसको घोर गुनासो थियो । उसका लागि ठूलो चिन्ताको विषय पनि थियो । अब के भन्ने होला । म निकै डराए । उसले सरसर्ती पढयो । “अब यस्तो पनि हुन थाल्या !” उसले आमातिर हेर्दै भन्यो । आमा केही बोल्नुभएन । उसले ढाडमा एक पटक बेस्सरी हिर्कायो । मैले केही भन्न सकिन । थचक्क बसेर रोए मात्र । “कसको हो भन ?” चिच्याउँदै फेरि सोध्यो । मैले आँसु पुछ्दै थाहा छैन भने । “थाहा छैन भन्से त, कार्ड त हो,” आमाले मेरो सर्मथनमा भन्नु भयो । अलिकति मन ठूलो भयो । “आइ लभ यू लेखेको छ,” उसले मतिर औँला उठाउँदै आमालाई भन्यो । आमाले चकित नजरले मतिर हेर्नुभयो ।

पोस्टम्यान अङ्कलले दिएको हो, के थाहा कसको हो ? आफूलाई निर्दोष सावित गर्न पूर्ण प्रयास गरेँ । त्यसो भए भन्दै उसले त्यो कार्ड र त्यो चिठी चर चर पारी टुक्रा टुक्रा पारिदियो । मैले नगरेको गल्तीको सजाय पाएको थियो । दाजुलाई सम्झाउन गाह्रो थियो, म निर्दोष भएको । छिमेकी धोबिनी आन्टी ढोकामा उभिएकी थिइन । “लक्ष्मी एसा नही करेगा रे, किसिने मजाक किया होगा,” उनले दाजुलाई सम्झाउन खोजिन ।

मेरो लामो कुर्ता आखाबाट बर्सी रहेका साउने झरीबाट भिजेको थियो । सानी बहिनी पनि आएर टुलुटुलु ती टुक्राहरु हेर्न थाली । “अब यसले पनि सिक्ने भई,” दाजुले बहिनीतिर देखाउँदै भन्यो । त्यसपछि ऊ कराँते क्लासका लागि निस्कियो । त्यो दिन मैले खाना खाइनँ । तलाई थाहा छैन, भने किन रुन्छेस, आमाले सम्झाउनुभयो । ट्युसन पढने नानीहरु आए । आमाले दिदीलाई सञ्चो छैन भन्दै जान भन्नुभयो । उनीहरु अबोध नजरले मलाई हेरिरहेको थिए । बाहिर रूखमुनि चट्टाई ओछ्याएर एउटा कुर्सी राखेर उनीहरुलाई अबेर रातिसम्म पढाउँथे ।  

अर्को दिन पनि कपालमा नरिवलको तेल लगाएर बीचमा सिउँधो पारेर चुल्ठो बाटेँ । टीका लगाउन जाँगर लागेन । लामो आँचल ओडेर कोलेज लागेँ । सदाझैँ क्याटी डिसुजा झ्यालनेर क्लासमा एक्लै बसेकी थिई । कम्मरसम्म लामो उसको कपाल थियो । सधैँ चुल्ठो बाट्थी । क्रिस्टियन भए पनि उसलाई सबैले हिन्दू भन्थे । उसका पुर्खाहरु सावन्तवाडीका हिन्दू थिए । प्रायः कुर्ता लाउँथी । मलाई हेर्ने बित्तिकै उसलाई गडबडी भएको भान भई हाल्यो । 

“फेरि पत्रिका भट्टायो दाजुले ?”, उसले पनि दाजु नै भन्थी । 

“नाई !”

“के भयो त ?”

मैले सबै कुरा सुनाएँ ।

“को होला ?” उसले पनि सोच्न थाली । उसको भन्दा आश्चर्य मलाई बढी थियो । “त्यो जहाजको इन्जिनियर त होइन ?” उसले अड्कल काटी । 

“कहाँ हुन्छ, मलाई त्यो मान्छे मनै पर्दैन । अर्को रक्षा बन्धनमा राखी बाँध्छु ।”

 “तर माया मारेको छैन कि ?,” क्याटीको प्रतिकृया आयो । होइन होइन, बम्बई पढ्न गएको छ, कहाँ एउटा मात्र टिकटले चिठी गोवा पुग्छ, मेरो तर्क थियो । फेरि मैले सम्झँे एनसीसीको तालिममा त्यो बौला जस्तो गोन्सालवीसलाई । हा हा, पागल जस्तो । मेडिकल तालिममा ऊ हामीलाई पढाउन आउँदा सबै हाँस्थे । उसको क्लास नहुँदा पनि टुप्लुक्कै आइपुग्थ्यो । कहिले मेरो छेउमा आएर बस्थ्यो । कहिले कतै ।

होइन होला, त्यो बहुला डाक्टरको कहाँ त्यस्तो राम्रो अक्षर हुन्छ । तर अङ्गे्रजी भने त्यसको राम्रो थियो । अग्लो, दुब्लो आर्मी डाक्टरको फ्रेस ब्याच थियो । तर दुई दिन भेट्दैमा त्यस्तो हुन्छ र ? नेभर ! कलेजमा धेरै केटाहरु आउँदैनन्, सीधा जाँचमा अनुहार देखाउँछन् । दुई चार पढन्तेहरु छन्, विचाराहरु यताउति हेर्ने फुर्सद छैन । एउटा लोफरलाई त मैले नै क्लासबाट बाहिर निकाल्न लगाएको थिएँ । त्यसले त बदला लिएन ? तर मेरो ठेगाना कहाँबाट थाहा पाओस् । अँ, त्यो अस्ट्रिच त होइन ? मितिनीको जन्मदिनमा सर्वत लिएर जाँदा कुनामा अस्ट्रिच जस्तै डल्लो परेर बसेको थियो । 

“त्यसैका आफन्तले त लक्ष्मीसँग कुरा चलाउन भनिरहेका छन्,” पछाडिबाट तोला दिदीको निःशुल्क अल इन्डिया रेडियो भन्दै थियो । कार्टुन जस्तो स्वर थियो उसको । “उसलाई त नेपाली पनि बोल्न आउँदैन,” 
“त्यस्तो पनि नेपाली, आफ्नो भाषा न आउने”, मैले मुख बिगारेँ ।

“केटो आईटी पढेको छ ।”

“कहाँ मेरो बिहे गर्ने बेला भएको छ,” म झर्कें । त्यसपछि हामी निस्कियौँ ।  

इन्टर्भलमा हामी क्यान्टिन गयौँ । क्याटीले तातातो समोसा ल्याई । चौरमा बसेर समोसा खाएपछि सबै कुरा निलो आकासमा उडायौँ । मिस जोयस आउनुभएको थिएन, हामी नोट बनाउन लाइब्रेरीतिर लाग्यौँ । बिस्तारै दाजुको पिटाइ बिर्सें । मैले देशभित्र चलिरहेको जनयुद्धसँग प्रेम गर्न थालेकी थिएँ । दिन प्रतिदिन गम्भीर भएको आफैलाई आभास हुन्थ्यो ।             

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...