बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूजिल्याण्ड हमलाः जसले ज्यान बाजी राखेर बन्दुकधारीसँग लडे

सोमबार, ०४ चैत २०७५, ०८ : २९
सोमबार, ०४ चैत २०७५

बीबीसी

गत शुक्रबार न्यूजिल्याण्डको क्राइस्टचर्चमा दुई मस्जिदमाथि रक्तपातपूर्ण हमलामा जुन व्यक्तिलाई अभियुक्त बनाइएको छ, घटनामा उनी एक्लो हमलाकर्ता भएको पुलिसले अनुमान गरेको छ ।

 २८ वर्षका अष्ट्रेलियाली नागरिक ब्रेन्टेन ट्रारेन्ट यो हमलाका मुख्य संदिग्ध हुन्  उनी आफूलाई जातीय रुपमा सर्वश्रेष्ठ ठान्छन् । ब्रेन्टेनले उक्त हमलाको फेसबुकमा लाइभ स्ट्रिम पनि गरेका थिए ।

यो मामलामा अन्य तीनलाई पनि पक्राउ गरिएको छ तर उनीहरुमा यो घटनामा सलंग्नता नभएको बताइएको छ । यद्यपी, पुलिस अधिकारी माइक बुशले अहिले अनुसन्धान चलिरहेको जानकारी दिए ।

न्यूजिल्याण्डको इतिहासमा यो सबैभन्दा भयानक हमला हो जसमा ५० जनाको हत्या भएको छ भने ५० बढी घाइते भएका छन् । घाइतेमध्ये दुईको स्थिती गम्भीर छ ।

पुलिस अधिकारी माइकका अनुसार प्रशासन अल–नू र लिनवुड मस्जिदमा भएको हमलामा मारिएकाहरुको पहिचान गर्नका लागि तीब्र रुपमा काम अघि बढाइरहेको छ । प्रशासन सांस्कृतिक र धार्मिक मान्यताको विषयमा सतर्क भएकाले उनले यसलाई संवेदनशील प्रक्रिया बताए ।

हमलामा को–को संलग्न ?

शनिबार मुख्य संदिग्धलाई हत्कडी लगाएर कैदीले लगाउने सेतो सर्टमा अदालतमा पेश गरियो । उनी क्यामराको अगाडि मुस्कुराइरहेका थिए ।

उनीमाथि विभिन्न व्यक्तिको हत्याको आरोप लगाइएको छ । अन्य आरोप पनि लगाइने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा कुरा गर्दै पुलिस अधिकारी माइकले उक्त गोलीबारीमा २८ वर्षमा उनी एक्ला अभियुक्त भएको जानकारी दिए ।

माइकले भने, ‘सुरक्षा बलले उनलाई बहादुरीसँग रोके । उनले थप हमला गर्न सक्थे तर हाम्रा साथीहरुले यस्तो हुन दिएनन् । हामीले थप हमलाको खतरा रोक्यौं । जुन दुई व्यक्तिलाई पक्राउ गरिएको छ, उनीहरु यसमा संलग्न छैनन् भन्ने हामीलाई लाग्छ । एक महिलालाई छोडिएको छ र अर्का एक व्यक्तिमाथि अवैध तरिकाले हतियार राखेको आरोप लगाइएको छ ।’

पुलिसले १८ वर्षका एक युवकलाई पनि पक्राउ गरेको छ तर उनको संलग्नताबारे भने आशंका जताउँदै उनलाई सोमबार अदालतमा पेश गरिनेछ ।

माइकले थपे, ‘हाम्रो अनुसन्धान समाप्त भइसकेको छैन र अन्तिम निष्कर्ष पनि निस्किएको छैन । पक्राउ परेका कसैको पनि आपराधिक अतित छैनन् ।’

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा अर्डर्नले ट्यारेन्टसँग एक लाइसेन्स भएको बन्दुक थियो र उनी आफूसँग अन्य पाँच बन्दुक पनि राख्दथे ।

बहादुरीको पहलः

यो हमलासँग जोडिएका केही साहसिक घटना पनि सार्वजनिक भएका छन् । यो हमलामा ६ मध्ये दुई पाकिस्तानी मारिएका छन् – नईम राशिद (५०) र उनका २१ वर्षका छोरा तल्का सन् २०१० देखि न्यूजिल्याण्डमा बस्दै आएका थिए ।

सोसल मिडियामा राशिदलाई हिरोको रुपमा हेरिएको छ । हमलाको एउटा भिडियो पनि सार्वजनिक भएको छ जसमा राशिदले गोली खानु अघि अल नूर मस्जिदमा हमलाकर्तालाई समात्न कोसिस गरिरहेका छन् ।

राशिदका दाइ खुर्शीद आलम उत्तरी पाकिस्तानको एबोटाबादमा बस्छन् । उनले बीबीसीसँगको कुराकानीमा आफूलाई भाइको बहादुरीमा गर्व भएको बताए ।

आलमले भने, ‘उनी बहादुर थिए, मैले उनीबारे सुनेँ । उनले हमलाकर्तालाई रोक्ने कोसिस गरेर धेरैको ज्यान बचाएको भन्ने प्रत्यक्षदर्शीको बयान पनि सुनेँ ।’

यद्यपी, खुर्शिद आफ्नो भाइ जिउँदो नभएकोमा दुःखी छन् । उनले भने, ‘मलाई उनीमाथि गर्व छ तर यो हाम्रो लागि ठूलो क्षती हो । आतंकवादीहरुको कुनै धर्म हुँदैन । यस्ता सनकीहरुलाई रोक्न आवश्यक छ ।’

लिनवुड मस्जिदमा पनि केही यस्ता घटना भएको बताइएको छ । अब्दुल अजिजका अनुसार उनले मस्जिद बाहिर बन्दुकधारीको पिछा गरेका थिए । उनले हमलाकर्तामाथि एक क्रेडिट कार्ड मेसिन फ्याँकेको बताए ।

जसका कारण बन्दुकधारीको हतियार खसेको र उनले आफ्नो कारबाट अर्को बन्दुक निकालेका थिए । त्यसपछि अजिजले बन्दुक उनीतर्फ उठाए र कारको सिसा तोडिदिए । त्यसपछि बन्दुकधारी त्यहाँबाट भागे र पक्राउमा परे ।

न्यूजिल्याण्ड अधिकारीका लागि शवको पहिचान गर्नु अब सबैभन्दा ठूलो चुनौतीको हो । अधिकारीले परिवारसँग पीडितको सूची साझा गरेको छ तर यसलाई सार्वजनिक गरेका ेछैन ।

सबैभन्दा पहिले मध्य क्राइस्टचर्चको अल–नूर मस्जिदबाट शुक्रबार नमाजका बेला हमलाको खबर आएको थियो । एक बन्दुकधारी कारबाट मस्जिदसम्म आउँछन् र कार पार्क गरेपछि मस्जिदभित्र गोलीबारी सुरु गर्छन् ।

नईम रशिद र उनका छोरा तल्का 

मस्जिदमा बच्चा, महिला र पुरुषमाथि पाँच मिनेटसम्म गोली हान्छन् । उनले टाउकोमा लगाइएको क्यामराबाट फेसबुकमा लाइभ–स्ट्रिम सुरु गरेका थिए र यसै फुटेजबाट उनको पहिचान भयो ।

यसपछि संदिग्ध कारबाट पाँच किलोमिटर टाढा लिनवुड मस्जिद पुगे र त्यहाँ पनि मानिसहरुमाथि गोलीबारी सुरु गरे । न्यूजिल्याण्डकी प्रधानमन्त्रीले हमलाकर्ताले जुन बन्दुक प्रयोग गरेका थिए त्यो निकै आधुनिक भएको र उनको कार हतियारले भरिएको थियो भन्ने जानकारी दिइन् ।

जसिन्दा अर्डर्ननका अनुसार उनको उद्देश्य थप हमलाको थियो । सन् २०१७ नोभेम्बरमा उनले एक बन्दुकको लाइसेन्स पनि लिएका थिए । त्यसपछि उनले थप बन्दुक खरिद गरे । न्यूजिल्याण्ड र अष्ट्रेलियामा सुरक्षाको विषयमा उनी कुनै पनि प्रकारको निशानामा थिएनन् ।

संदिग्धको सन्देशः

हमलाअघि ब्रेन्टन ट्यारेन्ट नामको सोसल मिडिया अकाउन्टमा एउटा लामो पोष्ट लेखिएको थियो । यसमा विभिन्न जातीय टिप्पणी थिए । त्यो पोष्टपछि मस्जिदमा हमला गरियो । यो पोष्टलाई ‘द ग्रेट रिप्लेसमेन्ट’ को रुपमा हेरिएको छ ।

‘द ग्रेट रिप्लेसमेन्ट’ भन्ने वाक्य फ्रान्सबाट आएको हो यसको प्रयोग युरोप प्रवासीविरुद्ध नाराको रुपमा अतिवादी मानिसहरुले गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप