शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

४५ वर्षपछि नेपाललाई स्वर्ण, अजितले ताेडे रेकर्ड

सोमबार, ०४ चैत २०७५, ०८ : ३१
सोमबार, ०४ चैत २०७५

काठमाडौं - नेपालका अजितकुमार यादवले हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा आइतबार स्वर्ण पदक जितेका छन् । नेपाल एपीएफ क्लबका खेलाडी अजितले पुरुष ३ हजार मिटर दौडमा स्वर्ण जितेका हुन् । 

उनीसहित १२ राष्ट्रका १५ खेलाडीले स्पर्धामा भाग लिएका थिए । सप्तरीको राजविराज निवासी अजितले निर्धारित दूरी आठ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरे । यो समयसँगै अजितले आफ्नै नाममा रहेको जुनियर राष्ट्रिय कीर्तिमान पनि सुधार गरेका छन् ।

यसै वर्ष राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको केन्द्रीय विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा अजितले आठ मिनेट ४४.९ सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान बनाएका थिए । सिनियर भने यो कीर्तिमान ज्ञानबहादुर बोहराको नाममा छ । उनले सन् १९९९ मा भारतको नयाँ दिल्लीमा भएको एथलेटिक्स च्याम्पियनसिपमा आठ मिनेट २३.५९ सेकेन्डको कीर्तिमान रचेका थिए ।

युथ एथलेटिक्समा नेपालबाट अजित एक्लो सहभागी खेलाडी हुन् । अजितबाहेक उक्त स्पर्धामा भारत, यमन र आयोजक हङकङबाट दुई दुई तथा जापान, कोरिया, ओमन, इरान, काजकिस्तान, इन्डोनेसिया, जोर्डन र भुटानबाट एक एक जना खेलाडीले सहभागिता जनाएका थिए । आठ मिनेट ३६.३४ सेकेन्डमा भारतका अमित जान्गिर दोस्रो तथा आठ मिनेट ३८.६० सेकेन्डमा यमनका गमिल अल हमाटी तेस्रो स्थानमा रहे ।

अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आइएएएफ)द्वारा मान्यता प्राप्त र एसियाली एथलेटिक्स महासंघले आयोजना गर्ने अफिसियल एसियाली च्याम्पियनसिपमा नेपाली खेलाडीले जितेको यो पहिलो स्वर्ण भएको नेपाल एथलेटिक्स संघले जनाएको छ । समग्रमा भने यो दोस्रो पदक हो । ४५ वर्षअघि सन् १९७३ मा फिलिपिन्सको मनिलामा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा जितबहादुर केसीले म्याराथनमा कांस्य जितेका थिए । त्यो कांस्य अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले जितेको पहिलो पदक पनि हो ।

नेपालको प्रशिक्षकका रुपमा धनीराम चौधरी अजितसंगै हङकङ गएका थिए । चौधरीकै नाममा २३ वर्षसम्म आठ सय मिटर दौडमा एक मिनेट ५०.६० सेकेन्डको राष्ट्रिय कीर्तिमान स्थापित थियो । गत भदौमा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा सोमबहादुर कुमालले एक मिनेट ५०.२५ सेकेन्डमा ८ सय मिटर दौड पूरा गर्दै चौधरीको कीर्तिमान भंग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप