बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एसइई परीक्षाबाट ४८ परीक्षार्थी वञ्चित

मङ्गलबार, ०५ चैत २०७५, ०७ : ४२
मङ्गलबार, ०५ चैत २०७५

सिन्धुली - आगामी चैत १० गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा, २०७५ (एसइई)मा सिन्धुलीबाट पाँच हजार ६ सय २० परीक्षार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ पाँच हजार ४ सय ८४ जना,  विसं २०७४ को ग्रेड वृद्धितर्फ ८६ जना, २०७३ भन्दाअघिका ५० जनाले ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय एकाई सिन्धुलीका शाखा अधिकृत नेत्र गजुरेलले जानकारी दिए । 

प्राविधिकतर्फ इञ्जिनीयरिङमा ६८, कृषितर्फ १ सय १३ गरी १८१ ले परीक्षा दिने र प्राविधिकहरुका लागि एउटै परीक्षा केन्द्र तोकिएको उनले जानकारी दिए । प्राविधिकतर्फका छात्रछात्राले पानीट्याङ्की माध्यमिक विद्यालय पानीट्याङ्कीबाट परीक्षा दिनेछन् । 

यस वर्ष सिन्धुलीबाट ४८ परीक्षार्थी एसइईमा सामेल हुन नपाउने भएका छन् । दुई विद्यालयबाट चार÷चार विद्यार्थीसहित अन्य विद्यालयका विद्यार्थीहरु रहेका छन् । ७५ प्रतिशत हाजिरी नपुगेका, राजश्व नबुझाएका कारण उनीहरु परीक्षामा सहभागी हुन नपाउने भएका हुन् । 

यस्तै यस वर्ष सिन्धुली कारागार केन्द्रबाट एक छात्रले परीक्षामा सहभागिता जनाउने भएका छन् । कुण्डेश्वर माध्यमिक विद्यालय बेसारेबेँसीमा अध्ययनरत भरत आलेमगरले कारागारबाट परीक्षा दिने गजुरेलले जानकारी दिए । जबर्जस्ती करणीको अभियोगमा तीन वर्ष जेल सजाए पाएका भरतले सिद्धस्थली परीक्षा केन्द्रअन्तर्गत कारागारबाट परीक्षा दिने व्यवस्था मिलाइएको उनले बताए । 

सिन्धुलीमा गर्त वर्षको तुलनामा २ सय २१ विद्यार्थीको सङ्ख्या यस वर्ष कमी रहेको छ । सिन्धुलीमा गत वर्ष पाँच हजार ७ सय १५ परीक्षार्थी एसइई परीक्षा भाग लिएका थिए । सिन्धुलीमा २६ परीक्षा केन्द्र तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप