मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीका विप्लव कार्यकर्ता भन्छन्: ‘खुलेरै प्रतिवाद गर्छौ’

मङ्गलबार, ०५ चैत २०७५, १३ : ४५
मङ्गलबार, ०५ चैत २०७५

बुटवल– नेत्रविक्रम चन्द (विप्लव) गुल्मी जिल्ला संगठनका कार्यकर्ताहरुले सरकारले आफ्नो पार्टीविरुद्ध सरकारले गर्ने दमनको खुलेरै प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।  सो पार्टीका गुल्मी जिल्ला जनसरकार प्रमुख प्रशान्त वरालले यस्तो चुनौती दिएका हुन् ।

तपाईहरु पहिला जस्तो सडकमा पनि देखिनुहुन्न्, सरकारले प्रतिबन्ध लगाएदेखि भूमिगत भएको हो र ? भन्ने प्रश्नमा बरालले  प्रतिप्रश्न गर्दै भने– ‘हामी किन भूमिगत हुने ? हामी सरकारले गर्ने जुनसुकै प्रकारको दमनविरुद्ध खुलेरै प्रतिवाद गर्न तयार छौं ।’

तीन स्थानीय तहमा जनसरकार गठन

गुल्मीका १२ वटा स्थानीय तहहरुमध्ये सो पार्टीले तीनवटा तहलाई आधार ईलाका बनाउँदै जनसरकार गठन गरेको जनाएको छ । बरालका अनुसार सो पार्टीले मालिका गाउँपालिका, धुर्कोट र सत्यवती गाउँपालिकालाई आधार ईलाका बनाउँदै ती स्थानीय तहमा जनसरकार गठन गरेको हो । ९/९ सदस्यीय जनसरकार गठन गरि समानान्तर सरकारको भूमिकामा हामी छौं, जिल्ला जनसरकार प्रमुख बरालले भने– ‘ जुन–जुन कुरामा स्थानीय सरकारले कर उठाउँछ, हामी पनि तिनै निकायमा त्यतिनै कर उठाउँदै छौं ।’ 

चन्दा उठाए पक्राउ गरिन्छ : सिडियो

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीहरुलाई करका नाममा धम्क्याउँदै चन्दा असुल्ने गरेको गुनासो आएको छ नि ? भन्ने प्रश्नमा गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले चन्दा उठाउने र हिंसात्मक गतिविधि गर्नेलाई जहाँ देखिन्छ, त्यही पक्राउ गर्ने गृहप्रशासनबाट आदेश आएको बताए । ‘गृहप्रशासन गम्भीर रुपमा लागेको छ’ उनले भने, ‘चन्दा असुली र हिंसात्मक गतिविधिमा संलग्न जो कोहीलाई जहाँ देख्यो, त्यही पक्राउ गर्न हामीलाई निर्देशन आईसकेको छ ।’

 संगठन सुदृढीकरण र विस्तार अभियानका क्रममा केहि दिनअघि अर्घाखाँची प्रहरीद्वारा पक्राउ परि छाडिएका र पछि फेरि गुल्मी जिल्ला प्रहरीबाट पक्राउ भई हालसम्म हिरासत मै रहेका जिल्ला पार्टी सेक्रेटरी खिम खड्कालाई छाड्ने विषयमा के भइरहेको छ ? भन्ने जिज्ञासामा प्रजिअ पौड्यालले भने सरकारी वकिलले कस्तो फाईल तयार पारेर आफु कहाँ पेश गर्छन् । त्यही अनुसारको प्रशासनिक फैसला हुनेछ , अहिले नै छाड्ने नछाड्ने बिषयमा भन्न सकिन्न् ।

खुल्ला गतिविधि शून्य, भूमिगत शंकास्पद

जिल्ला सेक्रेटरी खड्कालाई गुल्मी प्रहरीले प्रतिबन्द लगाउनु अघिनै पक्राउ गरेपछि जिल्ला पार्टी इञ्चाज पूर्णबहादुर सिंह भूमिगत भएका छन् ।  सो जिल्लामा मात्रै होइन, प्रदेश ५ का अधिकांश जिल्लाकै विप्लव पार्टीका नेता कार्यकर्ताहरुका खुल्ला गतिविधि शून्य र भूमिगत क्रियाकलाप शंकास्पद रहेको बुझाई छ प्रदेश पाँचको प्रहरी कार्यालयको ।

प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारी भन्छन्, ‘प्रदेशका १२ वटै जिल्लामा विप्लव समूहको खुल्ला गतिविधि शून्य पाएका छौं, उनीहरु भूमिगत हुँदै कुनै पनि बेला ध्वंसको तयारीमा जुटेका छन भन्ने हाम्रो बुझाई छ । यसर्थ पनि उनीहरुविरुद्ध सर्च अभियान तिव्र पारेका छौं, लङ्गरुट पट्रोलिङ्ग (एलआरपी) का लागि  नियमित प्रहरी परिचालन गरिएको छ ।’

उनी थप्छन्– ‘हामी सर्वसाधरणलाई सास्ती नहुने गरि विशेषतः ‘इन्टलिजेन्ट सर्च’ लाई विशेष जोड दिइरहेका छौं । कपिलवस्तुमा केही दिनअघि पक्राउ परेका व्यक्ति र बरामद गरिएका हतियार पनि इन्टलिजेन्ट सर्चबाटै गरिएको हो । विप्लव समूहले पोजिशन चेञ्ज गर्ने, सप्राईजमा पारेर ध्वँस गर्नसक्ने  योजनाप्रति  प्रदेश प्रहरी चनाखो र सक्षम दुबै छ ।’

 विप्लव नेतृत्वका कार्यकर्तालाई विशेषगरि रुकुम रोल्पा र यता मिनी रोल्पा भनिएको कपिलवस्तु आसपासका जंगल, भारतीय सिमावारी र पारी बढी निगरानी बढाइएको प्रहरी अधिकारीहरुको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप