शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्रिविलाई विद्यार्थी संगठनको ७२ घण्टे अल्टिमेटम, डिन कार्यालयमा तालाबन्दी

मङ्गलबार, ०५ चैत २०७५, १४ : १७
मङ्गलबार, ०५ चैत २०७५

काठमाडौँ– पोखराको गण्डकी मेडिकल कलेजको विषयमा तत्काल छानविन गर्नुपर्ने भन्दै विभिन्न विद्यार्थी संगठनहरुलेले त्रिविलाई ७२ घण्टे अल्टीमेटमसहित आज डिन कार्यालयमा ताला लगाएका छन् । 

अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूकी अध्यक्ष नविना लामाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा ७२ घण्टाभित्र माग सम्बोधन गर्नुपर्ने भन्दै अल्टिमेटम बुझाउँदै तालाबन्दी गरिएको हो ।  
त्रिभुवन विश्वविद्यालयअन्तर्गत पोखरा गण्डकी मेडिकल कलेजमा विद्यार्थीमाथि गरिएको चरम लुट र शोषणका विरुद्ध विद्यार्थीहरुले आन्दोलन गरेको ढेड महिना वितिसक्दा पनि त्रिवि डिन कार्यालयले कुनै पनि चासो नदिएको भन्दै आज विभिन्न विद्यार्थी संगठनले ताला लगाएको विज्ञप्तिमा उल्लेख छ ।  

सरकार र त्रिवि चिकित्साशास्त्र शिक्षा अध्ययन संस्थानको शुल्क मापदण्डको अवज्ञा गरी तोकिएको भन्दा लाखौँ रकम बढी लिने कजेल प्रशासनविरुद्ध अहिले सो कलेजका विद्यार्थीहरु आन्दोलनमा रहेका छन् । उक्त कलेजमा हाल पठनपाठन सबै ठप्प रहेको छ भने अस्पताल अस्तव्यस्त अवस्थामा रहेको छ । सो कलेजका विद्यार्थीहरु परीक्षाबाट समेट वञ्चित भएका छन् । त्रिविले प्रशासनसँगको छलफलबाट समस्या समाधान गर्नुको सट्टा उल्टै विद्यार्थीसँग मुद्धामामिला गर्ने र सम्बन्धित कलेज सञ्चालक समेत फरार हुनुले थप जटिलता थपिदै गएको छ ।  

डेढ महिनादेखि कलेज र अस्पताल ठप्प हुँदा पनि त्रिविको डिन कार्यालयले खासै चासो नदिएकोले ७२ घण्टाभित्र समस्या समाधानतिर  जानुपर्ने विद्यार्थी संगठनको माग छ । तोकिएको समयमा पनि माग सम्बोधन नगरेको खण्डमा त्रिविको उपकुलपति कार्यालय र चिकित्साशास्त्र अध्ययन संस्थानको डिन कार्यालयमा डिनलाई प्रवेश निषेध गर्ने, विश्वविद्यालय पदाधिकारी र डिनको राजीनामा माग गर्ने विद्यार्थी संगठनहरुले जनाएका छन् । 

सम्बन्धित मेडिकल कलेजमा देखिएको समस्याको समाधान नभएको खण्डमा शिक्षा मन्त्रालयविरुद्ध समेत संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

विद्यार्थी संगठनको माग 
विद्यार्थीको भविष्य चौपट पारेर फरार भएका गण्डकी मेडिकल कलेजका सञ्चालक खुमाप्रसाद अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने, विद्यार्थीसँग तोकिएको मापदण्ड भन्दा बढी लिएको सम्पूर्ण शुल्क तत्काल फिर्ता गर्नुपर्ने, नेपाल सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिएको–नलिएको बारेमा छानविन गर्न त्रिवि र नेपाल मेडिलक काउन्सिलद्धारा छानविन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीउपर हदैसम्मको कारवाही गर्नुपर्ने लगायतको माग राखेका छन् ।

यस्तै, स्वतन्त्र विद्यार्थी यूनियनले पनि विद्यार्थी संगठनको मागसँग सहमति जनाउँदै तत्काल छानविन हुनुपर्ने माग राखेको छ । स्वतन्त्र विद्यार्थी यूनियनका अध्यक्ष डा.मिलन गैरेद्धारा हस्ताक्षरित विज्ञप्तिमा पनि आफ्नो ६ बुँदे मागलाई अघि सार्दै डिन कार्यालयमा तालाबन्दी गरेको जनाइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप