केन्द्रीय संस्करण
फोटोफिचर

भूकम्पछिको विकास: यस्तो छ सिन्धुपाल्चोकको तेम्बाथानमा ४० घरको एकीकृत नमुना बस्ती (फोटो/भिडियो)

person explore access_timeचैत ५, २०७५ chat_bubble_outline0
शम्भु दंगाल

रातोपाटी

सिन्धुपाल्चोक– हरियो पहाडको काखमा लहरै हरियो जस्तापाताको ४० घरको नयाँ गाउँ । जहाँ पहिले खेतीपाती गर्ने जग्गा मात्र थियो । पहाडका विभिन्न ठाउँमा छरिएर छुट्टाछुट्टै बसेका परिवार अबको १ महिनापछि नयाँ गाउँमा बसाइँ सर्दैछन् । यो गाउँ रहरले स्थापना गरिएको भने हैन । २०७२ सालको विनासकारी भूकम्पले घर ध्वस्त बनाएपछि हेलम्बु गाउँपालिका १ तेम्बाथानमा सुरक्षित स्थान खोजेर ४० घरको नयाँ गाउँ निर्माण गरिएको हो । 

सिन्धुपाल्चोकको तत्कालीन हेलम्बु गाविस वडा नंं. ९ तेम्बाथानमा भूकम्पले सम्पूर्ण घर पूर्ण रूपमा ध्वस्त भएपछि नयाँ घर कसरी बनाउने भन्नेमा स्थानीय चिन्तामा थिए ।  विदेशी दातृनिकाय अक्सफाम र जनहित ग्रामीण सेवा समितिको नेतृत्वमा अहिले ४० घरको तेम्बाथान एकीकृत बस्तीको काम अन्तिम चरणमा पुगेको छ । 

अघिल्लो वर्ष माघ २५ गतेदेखि निर्माण थालिएको यो बस्ती छिट्टै यहाँका परिवारलाई हस्तान्तरण गरिँदैछ ।  भूकम्पमा मानवीय क्षति नभए पनि घर, गोठ केही बाँकी नरहेको स्थानीय हिस्सी शेर्पाले बताए । अहिले एकीकृत बस्ती बनेपछि स्थानीय खुसी भएको उनले भनाइ छ । 

एकीकृत बस्तीमा रहेका घरमा ३ कोठाको घर बनाइएको छ । एउटा पाहुनाका लागि र खाना पकाउने ठाउँसहित २ कोठा परिवारका लागि हुने हिस्सी शेर्पाले बताए । यद्यपि घर सानो हुने भए पनि आवश्यक पर्नेले बढाउन सक्ने ठाउँ राखिएको छ । 

जनहित ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले पहिले घर भएको ठाउँमा असुरक्षित भए पनि एकीकृत बस्ती निर्माण थालिएको जानकारी दिए ।  घर बनाउनुअघि नै व्यक्तिका लागि गोला प्रथाबाट घर रहने स्थान तोकिएका थियो । प्रत्येक घर ८ आना क्षेत्रफलमा बनेको छ । 

शर्माका अनुसार ४२ रोपनी क्षेत्रफलमा ४० घर निर्माण गरिएको हो । तरकारी खेतीका लागि पनि जग्गा छुट्याइएको छ । प्रत्येक घरमा खानेपानीको धारा र ट्वाइलेटको व्यवस्था गरिएको छ । एकीकृत बस्तीमा अझै ४ वटा घर थपिँदैछ । ४ घरले प्राधिकरणमा गुनासो दर्ता गरेको शर्माले बताए । गुनासोको सुनुवाइ अझै नभएकाले ती घर बन्न नसकेका हुन् ।

एकीकृत बस्तीमा आय आर्जनका लागि ५ वटा होमस्टे सञ्चालन गरिने योजना रहेको छ । साथै तरकारी खेतीका लागि जमिन पनि तयार गरिएको छ । यस्तै समुदायको भोज भत्तेर गर्नका लागि एउटा सामुदायिक भवन पनि बनाइएको छ । 

परम्परागत झ्याल : एउटैको मूल्य ८३ हजार 

एकीकृत बस्तीको एउटा महत्त्वपूर्ण विशेषता भनेको घरको झ्याल पनि हो । नाम्दार कुसुङ भनिने झ्याल लोप हुने अवस्थामा पुगेको थियो । एकीकृत बस्तीको प्रक्रिया सुरु गर्ने बेलामा स्थानीय संस्कृति झल्किने सामग्री राख्न गाउँपालिकाले भनेको थियो । 

स्थानीयको मागअनुसार पुनर्निर्माण प्राधिकरण र गाउँपालिकाले परम्परागत झ्यालको बुट्टा कुद्ने तालिम दिएको थियो । एउटा व्यक्तिलाई झ्याल पूर्ण गर्न नै २७ दिन लागेको शर्माले बताए ।  स्थानीय हिस्सी शेर्पाका अनुसार उनीहरुका पुस्ता तिब्बतबाट नेपाल आउँदा पुरानो डिजाइनको झ्याल ढोका पनि लिएर आएका थिए ।

त्यो पुरानो संस्कृति हराउँदै गएको थियो । कुनैकुनै पुराना घरमा मात्र सांस्कृतिक महत्त्व बोकेका झ्याल ढोका थिए । नयाँ घरमा परम्परागत ढोका नभएर झ्याल मात्र भए पनि बनाउने निर्णय भएको हो । झ्यालमा विभिन्न अर्थ लाग्ने आकृतिहरु कोरिएका छन । सो झ्याल घरमा राखे पनि समृद्धि आउने, भूतप्रेतबाट पनि सुरक्षा हुने स्थानीयको विश्वास छ । 

एक वर्षको अविधमा निर्माण सम्पन्न हुन लागेको यो बस्तीमा वर्षातका बेला र हिउँ परेका बेला काम रोकिएको थियो ।  निर्देशक शर्माले भने– ‘वर्षायाममा सवारी साधन नचल्ने र यस वर्षपछिसम्म पनि हिउँ परेकाले काममा ढिलाइ हुन पुग्यो । बस्ती निर्माणका लागि स्थानीयले १ सय ५० दिन श्रमदान गरेका छन् ।’

एकीकृत बस्तीमा खानेपानी, जीविकोपार्जन जोडेर एउटा घरका लागि ७ लाख रुपैयाँ खर्च  हुनेछ ।  कूल २ करोड ९० लाख बजेट भए पनि सिङ्गो बस्ती तयार भइसक्दा ३ करोड खर्च हुने अनुमान गरिएको छ । 
घर बनाउनका लागि २५ जना स्थानीयलाई तालिम लिएर ब्लक उत्पादन गरिएका थियो । ब्लकमा ५० प्रतिशत माटो ३० प्रतिशत सिमेन्ट र २० प्रतिशत बालुवा मिलाइएको छ । 

कुनै संस्थाले सहयोग गरेमा एकीकृत बस्तीमा विद्यालय, स्वास्थ्य चौकी स्थापना गर्न आवश्यक रहेको साङ्गे लामाले बताए ।  

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...