बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शुक्रबारदेखि २२ औं पुष्प मेला हुने

मङ्गलबार, ०५ चैत २०७५, १६ : ०८
मङ्गलबार, ०५ चैत २०७५

काठमाडौं– फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) ले ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ २२ औं फ्लोरा एक्स्पो (पुष्प मेला) २०७५ आयोजना गर्ने भएको छ ।  भकृटीमण्डपमा चैत ८ गतेदेखि १० गतेसम्म आयोजना हुने सो एक्स्पोबाट ६० लाख रुपियाँ बराबराको व्यवसायी गर्ने योजना रहेको फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । 

एक्स्पोमा जम्मा ८४ वटा स्टल रहनेछन्, जसमा अफिसियल स्टलका लागि १०, प्रतियोगितात्मक प्रदर्शनीका लागि ४, ल्याण्डस्केपिङ्गका लागि ४, व्यवसायिक स्टलका लागि ६५ वटा स्टल राख्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।  

मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरुबीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधामा प्रथम हुने पुष्प व्यवसायीलाई नगद १० हजार र पाँच हजारसहित सिल्ड तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने समेत जानकारी गराए । 

फ्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले लामो समयदेखि निरन्तर रुपमा पुष्प व्यवसाय सञ्चालन गरिरहेको पुष्प व्यवसायीहरु मध्येबाट वरियातको आधारमा १ जना छनौट गरी सो नर्सरीलाई कदरपत्रद्वारा सम्मान समेत बताए । 

देशका विभिन्न उत्पादन भएको पुष्प तथा पुष्पजन्य वस्तुहरुको प्रबद्र्धन, विस्तार, नयाँ प्रविधि अनुसन्धानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार तथा जनचेतना जगाउनेको उद्देश्यले मेला आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।  

प्रदेश सरकार, प्रदेश नं. ३, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि ज्ञान केन्द्र ललितपुर र फ्यानको संयुक्त आयोजनामा हुने मेलाको संघीय सरकार कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरी र प्रदेश ३, भूमि व्यवस्था, कृषि तथा सहकारी माननीय मन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्ने जानकारी गराएको छ । 

अध्यक्ष श्रेष्ठले भने, ‘पुष्प व्यवसायको क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी मेला स्थलमा नै प्राप्त गर्नुको साथै अन्तर्राष्ट्रिय स्तरमा प्रयोग भइरहेको प्रविधिको विषयमा समेत मेला स्थलमा जानकारी प्राप्त हुनेछ ।’ कृषि क्षेत्रमा काम गर्ने व्यवसायी, अनुसन्धानकर्ता, विद्यार्थीका लागि मेला उपयोगी हुने विश्वास गरिएको छ ।

साथै मेलामा मौसमी फूल, आलंकारिक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार,उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिञ्चाई प्रविधि, आधुनिक खेती प्रविधि र जैविक विषादीका प्रदर्शनी तथा विक्री कक्षहरु पनि रहने आयोजकले जनाएको छ । 

देशका ४३ जिल्लामा लगभग ६९७ पुष्प व्यवसायी छन् । करिव १५३ हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा खेती भइरहेको फ्यानले जानकारी दिएको छ । यो व्यवसायीमा ४३ हजार भन्दा बढी व्यक्ति लागेका छन् । यस व्यवसायले आर्थिक वर्ष २०७४/७५ मा २ अर्बभन्दा बढीको कारोवार भएको छ ।

२०७४/७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ भने निर्याततर्फ २.३७ करोड बराबरको रहेको छ । समग्रमा पुष्प व्यवसाय वार्षिक १० देखि १५% को हाराहारीमा बार्षिक बृद्धिदर रहेको आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप