शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धुर्मुस-सुन्तलीको नेतृत्वमा मातृभूमि कप क्रिकेट प्रतियोगिता हुने

मङ्गलबार, ०५ चैत २०७५, १६ : २३
मङ्गलबार, ०५ चैत २०७५

काठमाडौं–धुर्मुस–सुन्तली फाउन्डेशनले यही चैत्र २३ गते काठमाडौंमा ‘मातृभूमि कप मैंत्रीपूर्ण क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको छ । 

चर्चित हास्यकलाद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ संस्थापक रहेको धुर्मुस–सुन्तली फाउन्डेशनले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने कार्यमा थप आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ यही चैत्र २३ गते सो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

फाउन्डेशनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा सो खेल प्रतियोगिता आयोजना गर्न लागिएको पनि जानकारी गराएको छ । मुलुकको गौरव हुने गरी बनाउन लागिएको सो रंशशालामा थप आर्थिक सहयोग जुटाउने उद्देश्यका काठमाडौंमा क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको फाउनडेशनकी संस्थापक कुुञ्जना घिमिरे ‘सुन्तली’ले जानकारी दिइन् । 

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गर्न सबैलाई अपिल गरे । उनले सो क्रिकेट मैदान निर्माण गर्न लागेकोमा सम्पूर्ण क्रिकेट खेलाडीहरुले गौरवको महशुस गरेको उल्लेख गर्दै त्यसमा सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रतियोगितामा कलाकार र राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । क्रिकेट खेलाडीहरुको टिमको नेतृत्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले गर्नेछन् भने कलाकारहरुको टिमको नेतृत्व वरिष्ठ हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गर्नेछन् । फाउन्डेशनले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सो खेल हेर्न ३ सय र १ हजार दरको टिकटको पनि व्यवस्था गरेको छ ।

करिव ३ अर्ब लागत अनुमान गरिएको सो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहायता आउने क्रम जारी रहेको पनि फाउन्डेशनले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ कलाकारद्धय श्रेष्ठ र आचार्यले पनि निर्माणाधीन सो रंगशाला निर्माणमा सहयोग गर्न सबैलाई अपिल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप